त्यसैले सोचेर मत दिनुहोस्। भविष्य सम्झेर मत दिनुहोस्। आफ्नो मत तारामा दिनुहोस्।
आज देश फेरि एकपटक चुनावी माहोलमा छ। चारैतिर समृद्धि र विकासका वाचा गुञ्जिरहेका छन्। बहुमतका दाबीहरू उडिरहेका छन्। भविष्यका सपनाहरू सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्। यही भीड र कोलाहलबीच एउटा असहज तर अनिवार्य प्रश्न उठ्छ- यदि यो देशमा गणतन्त्र स्थापित नै नभएको भए के हुन्थ्यो होला? यदि गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने जनयुद्ध र जनआन्दोलनका महान सहिदहरू, घाइते र बेपत्ता व्यक्तिहरूको बलिदान नभएको भए आज नेपालको राजनीतिक र सामाजिक दृश्य कस्तो हुन्थ्यो होला?
कल्पना गरौँ, यदि छबिलाल “प्रचण्ड” भएर होइन केवल शिक्षक पुष्पकमल दाहाल भएर सेवाबाट पेन्सनपट्टा थाम्दै कुनै गाउँको कुनामा अवकाशप्राप्त जीवन बिताइरहेका भए के हुन्थ्यो होला? आज सत्ताको भाषा, प्रतिपक्षको स्वर र राजनीतिमा देखिने साहस उस्तै रहन्थ्यो त? गगन थापाजस्ता नेताहरू आज संसदमा प्रश्न सोधिरहेका हुन्थे कि कुनै निजी विद्यालय वा संस्थाको सेमिनारमा “युवा नेतृत्व” बारे प्रवचन दिइरहेका हुन्थे? चित्रबहादुर केसीहरू आज संसदमा राष्ट्रवादको व्याख्या गरिरहेका हुन्थे कि कुनै कानुनी झमेलामा परेर फाइल बोकेर अदालतका भर्याङ चढिरहेका हुन्थे? बाबुराम भट्टराई कुन निर्माण कम्पनीमा जागिर खाँदै हुन्थे होला वा भारततिरै हराउँथे होला?
आज एमालेका कति नेताहरूले गोर्खा दक्षिण बाहुको तक्मा पाउँथे होला? कति जनाले “राजभक्त” को प्रमाणपत्र छातीमा टाँसेर गर्वका साथ हिँड्थे होला? कति जनाले आज जसरी क्रान्ति, जनवाद र राष्ट्रवादको भाषण दिइरहेका छन् त्यही मुखले “हजुर” उच्चारण गर्दै दरबारतर्फ शिर निहुराइरहेका हुन्थे होला?
रामबहादुर थापा ‘बादल’ आज कसको हुक्का बोकेर हिँडिरहेका हुन्थे होला ? नारायणहिटीको, सिंहदरबारको कि कुनै दरबारी गलैँचाको छेउमा उभिएर आदेश कुर्दै? नेपाली कम्युनिस्ट पार्टीका आजका हुक्के र धुपौरेहरू कसको पछि लागिरहेका हुन्थे होला? जनताको कि जन्मसिद्ध सत्ताको? झन्डा फेर्दै, नारा फेर्दै, निष्ठा बदल्दै आउने केन्द्रीय नेतृत्व कस्तो हुन्थ्यो होला?
रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङहरू आज के गर्दै हुन्थे होला? सायद कोही टेलिभिजनको पर्दामा सीमित हुन्थे। कोही सामाजिक सञ्जालको आक्रोशमा र कोही चिया पसलको बहसमा हराइरहेका हुन्थे। गणतन्त्रले ढोका नखुलेको भए उनीहरूको स्वर सत्तासम्म पुग्ने बाटो पाउँथ्यो त? जुरेलाजस्तो कपाल बनाएर, महाराजाजस्तो सानका साथ हिँड्ने परिस्थिति हुन्थ्यो होला?
अझ रोचक प्रश्न- आज एमालेका कति नेताहरूले गोर्खा दक्षिण बाहुको तक्मा पाउँथे होला? कति जनाले “राजभक्त” को प्रमाणपत्र छातीमा टाँसेर गर्वका साथ हिँड्थे होला? कति जनाले आज जसरी क्रान्ति, जनवाद र राष्ट्रवादको भाषण दिइरहेका छन् त्यही मुखले “हजुर” उच्चारण गर्दै दरबारतर्फ शिर निहुराइरहेका हुन्थे होला?
यी प्रश्नहरू केवल कल्पनाका खेल होइनन्। यी प्रश्नहरू गणतन्त्रको मूल्य सम्झाउने ऐना हुन्। आज जति सजिलै हामी चुनाव, मत, सरकार र सत्ताको कुरा गर्छौँ त्यति नै सजिलै ती सबै सम्भव बनाउने बलिदानलाई बिर्सिँदै गएका छौँ। गणतन्त्रले सबैलाई महान बनाएको छैन तर धेरैलाई सम्भावनाको ढोका भने खोलेको छ। यही ढोकाबाट भित्र छिरेर आज धेरैले ढोका नै अनावश्यक थियो भन्न थालेका छन्। यही नै हाम्रो समयको सबैभन्दा ठूलो व्यङ्ग्य हो।
सबै राजनीतिक दलहरू आफू नै अबको सरकार बन्ने दाबीमा छन्। कसैले साधारण बहुमतको सपना देखिरहेका छन् त कसैले दुई-तिहाईको फुई हाँक्दै संविधान नै फेरिदिने आत्मविश्वास पोखिरहेका छन्। चुनाव भएको छैन तर प्रधानमन्त्रीको कुर्सीमा भने सबैले आ-आफ्नो नाम पहिल्यै कोरेर बसेका छन्। मानौँ भारतको गाउँतिर चल्ने लोकल रेल हो-जसले पहिले गम्छा राख्यो त्यो सिट उसैको।
तत्कालीन नेकपा (माओवादी) र त्यसको नेतृत्वको हैसियतले प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए र त्यसको परिणामस्वरूप गणतन्त्र स्थापना नभएको भए कस्तो हुन्थ्यो होला? आज नेपालको राजनीतिको धेरै “मुख्यधार” अनुहारहरू कहाँ हुन्थे भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यही नै हो गणतन्त्रको सौन्दर्य। जनताबाट निर्वाचित व्यक्ति देशको कार्यकारी प्रमुख हुन पाउने व्यवस्था। राजा होइन, दरबार होइन, भाग्य होइन कम्तीमा कागजमा त जनता नै मालिक। त्यसैले हरेक चुनाव नेताहरूका लागि मात्र होइन जनताका लागि पनि एउटा उत्सवजस्तै बनाइन्छ। उत्सव, जहाँ आशा बेचिन्छ, डर बेचिन्छ र भविष्य त झन् थोकमै बेचिन्छ।
यथार्थ के हो भने कसैको बहुमत आए पनि नआए पनि चुनावले देशलाई एउटा निकास भने दिनेछ। सरकार बन्छ। चाहे जोडघटाउबाट होस् वा चाहे लेनदेनबाट। टाला-टुली बटुली भए पनि अन्ततः देशले एउटा निर्वाचित सरकार पाउँछ। नाम मात्र सही तर निर्वाचित। विचार मिले पनि नमिले पनि, सिद्धान्त मिले पनि नमिले पनि, स्वार्थ मिल्यो भने सरकार बन्छ। यही नै हाम्रो अभ्यास हो।
गुईठे आए पनि, तोर्मे आए पनि, गफाडी आए पनि अन्ततः शासन गर्न कोही न कोही आउने नै छ। कोही भाषणमा क्रान्तिकारी हुन्छ, व्यवहारमा कारोबारी। कोही संविधान बोकेर हिँड्छ, तर आत्मामा अवसरवाद। कोही जनताको नाम लिन्छ तर जनतासँग डराउँछ। चुनावपछि केही दर्जन मान्छेहरु “माननीय” बन्नेछन। सम्मानित, सुरक्षित र पाँच वर्षका लागि जवाफदेही देखिने तर व्यवहारमा अदृश्य। गणतन्त्रले बोल्ने अधिकार दियो तर सुन्ने बानी बसाल्न सकेन। जनताले भोट हाल्छन्, नेताले भाषण हाल्छन्। जनताले विश्वास दिन्छन्, नेताले आश्वासन। पाँच वर्षपछि फेरि उही चक्र उही गफ, उही दाबी, उही बहुमतको नारा।
यही व्यवस्थाभित्र देश अगाडि घिस्रिरहेको छ। किनकि विकल्पको नाममा अझै पनि अतीतको छाया देखाइन्छ र वर्तमानको कमजोरीलाई भविष्यको डरले छोपिन्छ। त्यसैले जनताले फेरि लाइन लाग्छन्, फेरि भोट हाल्छन् र फेरि आशा गर्छन्- सायद यसपटक गुईठे होइन, गफाडी होइन अलिकति जिम्मेवार मान्छे नै आउनेछ। चुनाव यही आशाको कारोबार हो।
फेरि, तत्कालीन नेकपा (माओवादी) र त्यसको नेतृत्वको हैसियतले प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए र त्यसको परिणामस्वरूप गणतन्त्र स्थापना नभएको भए कस्तो हुन्थ्यो होला? आज नेपालको राजनीतिको धेरै “मुख्यधार” अनुहारहरू कहाँ हुन्थे भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। सम्भवतः उनीहरू मन्त्री वा प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर, बिन्तीपत्र हातमा लिएर मालपोतमा तिरो तिर्न लाइन लागेझैँ नारायणहिटी दरबारको झ्यालमुनि पालो कुर्दै उभिएका देखिन्थे। दरबारको कृपाबाट राजनीतिक उचाइ नापिने त्यो समय अझै कायम रहेको भए आज स्वयंलाई कट्टर राष्ट्रवादी र लोकतन्त्रका रक्षक बताउनेहरू केशरजंगको आधुनिक अवतारका रूपमा दर्ता भइसकेका हुन्थे। जहाँ विचारधारा होइन निष्ठाको प्रमाणपत्र चल्थ्यो। मार्क्सवादी-लेनिनवादी चिन्तनलाई “अराष्ट्रिय तत्त्व” र “अतिवाद” को संज्ञा दिँदै चुड्किला सुनाउँदै जीविकोपार्जन गरिरहेका हुन्थे होला।
दरबारको आदेशलाई नै स्थिरता र राष्ट्रहितको पर्याय ठानिन्थ्यो। जनयुद्ध र गणतन्त्रले मात्र सम्भव बनाएको राजनीतिक खुलापन नभएको भए उनीहरूको भूमिका झापा वा कञ्चनपुरको कुनै गाउँको चौतारोमा सीमित हुन सक्थ्यो। जहाँ बिडीको धुवाँसँगै गुईठाको महत्व र परम्परागत स्थिरताको दर्शन बाँडिँदै हुन्थ्यो। विडम्बना के छ भने हिजो गणतन्त्रलाई असम्भव देख्नेहरू र गणतन्त्रको आलोचना गर्नेहरू स्वयं त्यही गणतन्त्रले खोलेको ढोकाबाट सत्ताको केन्द्रमा प्रवेश गरेका छन्। गणतन्त्रको सबैभन्दा ठूलो लाभ उठाउनेहरू तिनै भएका छन्। गणतन्त्रका सबैभन्दा ठूला आलोचकहरू नै आज त्यही गणतन्त्रका सबैभन्दा ठूला उपभोक्ता बनेका छन्। इतिहासले उनीहरूलाई नेता होइन केवल अनुकूलनशील पात्र मात्र बनाएको छ।
नेपालमा गणतन्त्रका पिता को हुन् भन्ने प्रश्न उठ्दा धेरैलाई असहज लाग्न सक्छ। तर इतिहाससँग इमानदार हुने हो भने उत्तरबाट भाग्न सकिँदैन। गणतन्त्रका मुख्य पिता प्रचण्ड नै हुन्। मृत्यु कि मुक्तिको सङ्घर्षमा अग्रपंक्तिमा उभिएर नेतृत्व गर्ने साहस देखाए। त्यो साहस कुनै सभा-मञ्चको भाषणबाट होइन, जीवनकै जोखिममा आधारित थियो। जनयुद्ध र जनआन्दोलनको कठोर यात्रामा उनले खेलेको भूमिका अस्वीकार गर्ने हो भने गणतन्त्र स्वयंलाई अस्वीकार गर्नुपर्ने हुन्छ।
हो, प्रचण्ड निर्दोष छैनन्। उनका कमी–कमजोरी छन्। उनी बेला–बेलामा चिप्लिएका छन्, परिस्थितिको गलत आँकलन गरेका छन् र गलत पात्रहरूको घेराबन्दीमा परेका छन्। धुपौरेहरूको भीडले उनलाई घेरेको छ। जादुई नम्बरको खेलले हौस्याएको छ। राजनीतिका सकुनीहरूलाई समय–समयमा अनावश्यक विश्वास गरेका छन्। यी सबै तथ्य हुन्। यसलाई नकारेर प्रचण्डको मूल्याङ्कन अधुरो हुन्छ।
तर प्रश्न हो-यी कमजोरीका बाबजुद उनी कोसँग तुलना गरिन्छ? घमण्डी, आडम्बरी, बकमफुसे र ढोगी राजनीतिक पात्रहरूसँग? स्टन्ट गरेर रातारात टुप्पाबाट पलाएका, इतिहासको मूल्य नबुझेका, सामाजिक सञ्जालको एल्गोरिदममा हुर्किएका आकस्मिक नेताहरूसँग? त्यहीँ तुलना असम्भव हुन्छ। प्रचण्डको राजनीतिक उचाइ कमजोरी नभएको कारणले होइन जोखिम उठाएर इतिहास मोडेको कारणले बनेको हो।
इतिहास निर्माण गर्ने र इतिहास पढेर पनि नबुझ्नेहरूबीच कुनै तुलना हुँदैन। पहिलोले समयलाई बदल्छ दोस्रोले समयसँग गुनासो मात्र गर्छ। पहिलोले आलोचना सहन्छ, गल्ती गर्छ र फेरि उठ्छ। दोस्रोले गल्ती खोज्छ तर जिम्मेवारीबाट भाग्छ। गणतन्त्र कसैले उपहारस्वरूप दिएको होइन। यो लडाइँ, बलिदान र निर्णयहरूको परिणाम हो। त्यस प्रक्रियाको केन्द्रमा प्रचण्ड थिए भन्ने सत्यलाई नकारेर कुनै वैकल्पिक सत्य निर्माण गर्न सकिँदैन।
प्रचण्डलाई देवता बनाउनु आवश्यक छैन तर उनलाई इतिहासबाट मेट्न खोज्नु अपराध हो। कमजोरीसहितको नेतृत्व र बिना जोखिमको लोकप्रियताबीच छान्नुपर्दा इतिहास सधैं पहिलोको पक्षमा उभिन्छ, किनकि राजनीति केवल सफा भाषणको खेल होइन—यो समयसँग जुध्ने साहसको परीक्षा हो।
भुईँमान्छेका मुद्दा, युवा पुस्ताका आवाजहरू, जनताका समृद्धिका सपना, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका जटिलता, समावेशीता र समानुपातिक प्रतिनिधित्वका चाहनाहरू- यी सबै विषयमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूको दृष्टिकोण र अन्य दलका उम्मेदवारहरूको दृष्टिकोणबीच कुनै तुलना नै हुँदैन। यो दाबी भावनात्मक नारा होइन इतिहास र व्यवहारले पुष्टि गरेको यथार्थ हो। हिजो सत्तामा रहँदा भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र राज्य संयन्त्रलाई जनमुखी बनाउने दिशामा चालिएका प्रयासहरूले नै यो भिन्नता प्रस्ट देखाउँछन्। कमजोरी र अपूर्णता हुँदाहुँदै पनि नीति, प्राथमिकता र दृष्टिकोणका हिसाबले नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवारहरू जनताको आधारभूत सवालसँग अझ नजिक देखिन्छन्।
भोट हाल्नु कुनै लहडको निर्णय होइन न त क्षणिक रोमान्चको खेल नै हो। भोट भनेको भविष्य रोज्ने प्रक्रिया हो। तपाईंको एउटा मतले केवल उम्मेदवार मात्र चयन गर्दैन; यसले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र (जनतन्त्र) र जनजीविकाको पक्षमा उभिने कि उरेन्ठेउला, कपटी र भ्रष्ट प्रवृत्तिको समर्थन गर्ने भन्ने स्पष्ट सन्देश दिन्छ। त्यसैले भोट हाल्दा अनुहार होइन नीति हेर्नुपर्छ; भाषण होइन, अतीत हेर्नुपर्छ; प्रचार होइन, प्रतिबद्धता बुझ्नुपर्छ।
निर्णय तपाईंको हातमा छ। ढुक्क भएर गणतन्त्रका नायक र जनताको पार्टीका उम्मेदवारलाई भोट दिने कि एकपटक फेरि अरूलाई मौका दिएर पाँच वर्ष पछुताउने? इतिहासले देखाइसकेको बाटो रोज्ने कि फेरि उही गल्ती दोहोर्याउने? यो छनोट कसैले जबर्जस्ती गरिदिने होइन; अन्तिम निर्णय तपाईंको विचार, विवेक र जिम्मेवारीमा निर्भर छ। त्यसैले सोचेर मत दिनुहोस्। भविष्य सम्झेर मत दिनुहोस्। आफ्नो मत तारामा दिनुहोस्।
Bottom of Form
Bottom of Form
वि.सं.२०८२ माघ २७ मंगलवार १९:०९ मा प्रकाशित




























