नवलपुर, देवचुली । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१५ स्थित क्याम्पस चोकमा स्कार्पियो गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । गम्भिर घाइते भएका रिप्सन सुनारको मृत्यु भएको छ भने अर्का विद्यार्थी रिजन धिताल सामान्य घाइते भएका छन् ।
देवचुली-१४ देवचुली चोक स्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट रजहरतर्फ आउँदै गरेको बा २१ च ५१६८ नम्बरको स्कार्पियोले आज करिब दिउँसो ३ बजेको समयमा साइकलमा सवार रहेका जनज्योति माध्यमिक विद्यालय, देवचुली–१५ मा अध्ययनरत दुई विद्यार्थीलाई ठक्कर दिएको हो ।
विद्यालय बिदा भएपछि घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका उनीहरूको लागि देवचुली अस्पताल दलदलेमा सामान्य उपचार पश्चात भरतपुरस्थित सिएमसी अस्पताल लगिएको थियो ।
स्थानीयका अनुसार ठक्कर दिने स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स क्षेत्रमा सवारी चाप उच्च हुने भएकाले सडक सुरक्षामा ध्यान दिन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।
वि.सं.२०८२ माघ २९ बिहीवार १८:५९ मा प्रकाशित






























