१७ मंसिर, काठमाण्डौं । सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले भ्रामक समाचार प्रकाशित भएको भन्दै समाचार तथ्य पुष्टि गर्न संचारमाध्यमलाई चुनौति दिएका छन् ।
मंगलबार नयाँपत्रिकामा प्रकाशित ‘खेलकुदको बजेटमा मन्त्रीहरुलाई दौरा–सुरुवाल’ शिर्षकको समाचारमा आफ्नो पनि नाम लेखिएकोमा आपत्ति जनाउँदै मन्त्री बास्कोटाले समाचारको तथ्यपरकता पुष्टि गर्न चुनौति दिएका छन् ।
सामाजिक संजालमा ट्विट गर्दै मन्त्री बास्कोटाले भनेका छन्, ‘आज नयाँ पत्रिकामा प्रकाशित समाचारले नेपाली पत्रकारिताको विश्वनियतालाई लिएर पुनः चिन्ता उत्पन्न गराएको छ । समाचारको तथ्यपरकता पुष्टि गर्न म सम्बन्धित सञ्चार गृहलाई चुनौती दिन्छु । साथै फेकन्युजकारिता नगरी तथ्कारिता गर्न सुझाव पनि दिन्छु ।’
आज नयाँ पत्रिकामा प्रकाशित समाचारले नेपाली पत्रकारिताको विश्वनियतालाई लिएर पुनः चिन्ता उत्पन्न गराएको छ। समाचारको तथ्यपरकता पुष्टि गर्न म सम्बन्धित सञ्चार गृहलाई चुनौती दिन्छु । साथै फेकन्युजकारिता नगरी तथ्कारिता गर्न सुझाव पनि दिन्छु।
— Gokul Prasad Baskota (@GokulPBaskota) December 3, 2019
त्यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएकोमा आपत्ति जनाएका छन् । मन्त्री ज्ञवालीले पनि ट्विट गर्दै उक्त समाचारले आफूलाई अचम्भित बनाएको बताएका छन् ।
आफूले कुनै सुविधा नलिएको र लिनुपनि आवस्यक नरहेको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले यस्ता समाचार प्रकाशित नगर्न समेत अनुरोध गरेका छन् ।
मन्त्री ज्ञवालीले भनेका छन् ‘१३ औं SAG को सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्भित भएको छु । त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु ।’
१३औं SAGको सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्भित भएको छु।त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु।
— Pradeep Gyawali (@PradeepgyawaliK) December 3, 2019
मंगलबार प्रकाशित नयाँपत्रिका दैनिकमा लेखिएको थियो, ‘गृहमन्त्री राम बहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा सुरुवाल पाएका छन् ।’
वि.सं.२०७६ मंसिर १७ मंगलवार १२:३९ मा प्रकाशित






























