अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।
न्युर्योक सिटीको म्यानहटन क्षेत्रमा आयोजित उक्त कार्यक्रममा हजारौं नेपालीहरूको सहभागिता रहेको थियो ।
महावाणिज्यदूतावासका प्रमुख संरक्षकत्व तथा एनआरएनए न्युर्योक च्याप्टर, फिप्प्ना लगायत विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछाने र कन्भेनरका रूपमा एपि लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूको नेतृत्व, समन्वय र सक्रियताले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन रहेका थिए उनको उपस्थितिले कार्यक्रमलाई कूटनीतिक गरिमा प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई आफ्नो देशप्रति अझ नजिक हुन प्रेरित गरेको थियो।
त्यस्तै विशिष्ट अतिथिहरूमा महावाणिज्यदूत दधिराम भण्डारी, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, तथा वरिष्ठ कानून व्यवसायीहरू केशवराज सेढाई र खगेन्द्र जि.सी. लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले कार्यक्रमको महत्व र गरिमा अझ बढाएको थियो । न्यूयोर्क आसपास बसोबास गर्ने नेपाली समुदायको यस्तो उल्लेखनीय सहभागिताले एकता, सहकार्य र आपसी सद्भावको सन्देश प्रवाह गरेको देखिन्थ्यो ।

यस अवसरमा सहभागीहरूले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए । विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर झाँकी, गीत तथा नृत्यमार्फत नेपालको पहिचान र समृद्ध संस्कृतिलाई विश्वसामु प्रस्तुत गरिएको थियो, जसले सबैको मन जित्न सफल भएको थियो। समग्रमा नेपाल परेड डे २०२६ ले नेपाली समुदायबीच एकता, पहिचान र गौरवको भावना अझ सुदृढ बनाएको छ ।
यस्ता कार्यक्रमहरूले नेपालको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
वि.सं.२०८३ जेठ ८ शुक्रवार १७:०२ मा प्रकाशित






























