back
CTIZAN AD

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

1.2K 

shares

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा

पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे। कुनै राजनीतिक दर्शनलाई मार्ग निर्देशक सिद्धान्त मानेर राजनीतिक दलको स्थापना हुन्थ्यो। समाजवाद, पूँजीवाद, साम्यवाद वा मिश्रित अर्थनीति आदि। समाज रूपान्तरणको दृष्टिकोण दर्शनको राजनीतिले निर्देशित हुन्थ्यो। दलहरूको नीति, कार्यक्रम, नेतृत्वको आचरण सबै दर्शनसँग मेल खाने प्रयास हुन्थ्यो। आजको परिदृश्य फरक छ। अहिले राजनीति विचारभन्दा बढी “पपुलरिज्म” र “स्टन्ट” ले सर्लक्कै निलेको छ। आजको राजनीति हेर्दा यस्तो लाग्छ यो अब विचारहरूको द्वन्द्व होइन दृश्यहरूको प्रतिस्पर्धा हो। राजनीतिक दर्शनको ठाउ ‘ब्राण्ड’ ले लिएको छ। कार्यक्रमलाई ‘ईभेन्ट’ ले बिस्थापित गरेको छ। नेतृत्वलाई ‘हिरोईज्म’ ले छोपेको छ। तर्क र तथ्य होईन ‘साउन्ड बाईट’ को ध्वनीले ढाकेको छ। जनताहरु दर्शकमा रुपान्तरण भएका छन। नेपालदेखि अमेरिका, भारतदेखि युरोप सबै ठाउँमा राजनीति एक किसिमको नाटकीय प्रदर्शनमा रूपान्तरित भएको छ। प्रश्न उठ्छ के दर्शनको राजनीति साँच्चै मृत्यु भइसकेको हो ?

दर्शनको राजनीति मरेको छैन : बरु यो गम्भीर संक्रमण र संकटको चरणबाट गुज्रिरहेको छ। आजको राजनीति बढी “प्रस्तुति”, “छवि निर्माण” र तात्कालिक लोकप्रियतामा केन्द्रित भएको छ जसले सिद्धान्तको गहिराइलाई ओझेलमा पारेको छ। तर दीर्घकालीन रूपमा कुनै पनि राजनीतिक व्यवस्था स्पष्ट दर्शन र वैचारिक आधारबिना टिक्न सक्दैन।

विगतको राजनीति
विगतमा राजनीति दर्शन केन्द्रित थियो। २० औँ शताब्दीको राजनीति मुख्यतः विचारधारात्मक द्वन्द्वमा आधारित थियो। शीतयुद्धको समयमा विश्व साम्यवाद र पूँजीवाद गरी दुई ध्रुवमा विभाजित थियो। नेपालमा पनि वामपन्थी दलहरूले मार्क्सवाद–लेनिनवादलाई अंगिकार गर्दथे भने नेपाली कांग्रेसले गान्धिलाई आदर्श मानेर प्रजातान्त्रिक समाजवादलाई मार्गदर्शक बनाएको थियो। त्यतिबेला राजनीति केवल सत्ता प्राप्तिको खेल थिएन समाज रूपान्तरणको साधन थियो। नेता “दर्शनका प्रतिनिधि जस्तै देखिन्थे।

अहिले मार्क्सले व्याख्या गरेअनुसार आर्थिक संरचनामा(base) बदलावबाट राजनीति र विचारधारा (superstructure) बदलिनु पर्ने हो तर त्यो व्याख्याको उल्टो भएको छ। विश्वव्यापी पूँजीवादले सबै देशलाई एउटै आर्थिक ढाँचामा बाँधेको छ। विचारधारात्मक भिन्नतालाई कमजोर बनाएको छ। राजनीतिक दलहरू फरक देखिए पनि आर्थिक नीतिमा प्रायः समान छन्। यसरी हेर्दा यो पूँजीवादको विजय हो।

नेपालमा पपुलरिज्म : लोकतन्त्रको विकृति कि अनिवार्य परिणाम ?

पपुलिज्मलाई प्रायः सतही, भावनात्मक र अल्पकालीन लाभको राजनीति भनेर नकारात्मक रूपमा चित्रित गरिन्छ। पपुलिज्मलाई केवल दोषारोपण गरेर बुझ्न खोज्नु पर्याप्त हुँदैन। के पपुलिज्म लोकतन्त्रको विफलताको परिणाम होरु के पपुलरिज्म लोकतान्त्रिक प्रक्रियाभित्रैबाट निस्किने एक स्वाभाविक प्रतिक्रिया होरु परम्परागत राजनीतिक दलहरू जनताको वास्तविक अपेक्षा, पीडा र आकांक्षालाई सम्बोधन गर्न असफल भए। उनीहरूको नीतिहरू कागजमा सीमित रहे। भुईमान्छेको जनजीवनमा कुनै ठोस परिवर्तन ल्याउन सकेन्न। परिणाम स्वरुप नागरिकहरूमा निराशा, असन्तोष र वैकल्पिक खोजीको मनोविज्ञान विकसित भयो। दर्शनलाई अंगिकार गरेका दलहरुले विचारधाराहरू केवल भाषण र घोषणापत्रमा सीमित भई व्यवहारमा अनुवाद हुन सकेनन। जब दर्शनले दैनिक जीवनका समस्याहरू : रोजगारी, असमानता, महँगी, सेवाको पहुँच जस्ता सवालमा प्रत्यक्ष सुधारको असफलतालेनै जनताले जटिल सिद्धान्तभन्दा सरल, तात्कालिक र भावनात्मक समाधान प्रस्तुत गर्ने शक्तिहरूतर्फ आकर्षण भएका हुन। यही सामाजिक-राजनीतिक रिक्तता र निराशाको वातावरणमा पपुलिज्मको उदय भएको हो। यही मौकामा पपुलिज्मले आफूलाई “जनताको साँचो आवाज” का रूपमा प्रस्तुत गर्दै परम्परागत संरचनालाई चुनौती दियो। त्यसैले यस अर्थमा पपुलिज्मलाई केवल समस्या भनेर अस्वीकार गर्नु अपूर्ण विश्लेषण हुन्छ। यो गहिरो संरचनात्मक असफलता र लोकतान्त्रिक संस्थाहरूको कमजोर कार्यसम्पादनको लक्षण हो। यो हाम्रो प्रणाली र दलहरुको भित्र गम्भीर विचलन उत्पन्न भएको परिणाम हो।

वर्तमान अवस्था : पपुलरिज्म र छवि निर्माणको राजनीति

वर्तमान राजनीतिक परिदृश्यलाई हेर्दा पपुलरिज्म र छवि निर्माणको राजनीति हावी भएको स्पष्ट देखिन्छ। आजको राजनीति किन विगतभन्दा फरक भयो भन्ने प्रश्नलाई अनिवार्य बनाउँछ। यसको पहिलो कारण सञ्चार क्रान्ति र सामाजिक सञ्जालको तीव्र प्रभाव हो। राजनीतिलाई गहिरो विचार–विमर्शको क्षेत्रबाट तानेर “तत्काल प्रतिक्रिया” को खेलमा रूपान्तरण गरेको छ। अब दीर्घकालीन दृष्टि र सैद्धान्तिक बहसभन्दा “भाइरल हुने कुरा” महत्वपूर्ण भएको छ। जटिल तथा गहिरो दर्शनहरूभन्दा छोटा, आकर्षक र भावनात्मक नारा अधिक प्रभावकारी बन्न पुगेका छन्। दोस्रो : मतदाताको मनोविज्ञानमा आएको परिवर्तनले पनि यो रूपान्तरणलाई तीव्र बनाएको छ। आजका नागरिकहरू छिटो परिणाम चाहन्छन्। उनीहरू भावनात्मक अपिल र व्यक्तित्व–केन्द्रित सन्देशप्रति बढी आकर्षित हुन्छन्। जटिल वैचारिक बहसभन्दा सरल, प्रत्यक्ष र तत्काल समाधान दिने प्रस्तावहरू रोज्न इच्छुक देखिन्छन्। तेस्रो : राजनीतिक दलहरूको बढ्दो अवसरवादिताले यस अवस्थालाई अझ सुदृढ बनाएको छ। अब दलहरू कुनै स्थिर दर्शनमा अडिग रहनेभन्दा परिस्थितिअनुसार आफ्नो धारणा परिवर्तन गर्न तत्पर देखिन्छन्। गठबन्धन तथा शक्ति(सन्तुलनको राजनीति प्रायः वैचारिक आधारभन्दा स्वार्थ र सत्ता केन्द्रित समीकरणमा आधारित भए। यी सबै कारणहरूले आजको राजनीतिलाई विचार–केन्द्रित मार्गबाट हटाएर छवि, प्रस्तुति र तात्कालिक प्रभावमा केन्द्रित बनाएको छ- जहाँ दर्शनभन्दा “देखिने” कुरा नै निर्णायक बन्दै गएको छ।

नयाँ दलहरू “वैकल्पिक राजनीति” को नारा लिएर उभिए पनि उनीहरू प्रायः स्पष्ट दर्शन निर्माणभन्दा “गुड गभर्नेन्स” र “एन्टि–करप्सन” जस्ता व्यावहारिक मुद्दामा केन्द्रित देखिन्छन्। यी सबै अवस्थाहरूले देखाउँछन् कि वर्तमान राजनीतिमा दर्शनभन्दा “प्रभावकारी देखिनु” र तत्काल परिणाम दिन सक्ने छवि निर्माण नै प्राथमिकता बन्दै गएको छ जसका कारण विचारधारात्मक गहिराइ क्रमशः ओझेलमा पर्दै गएको छ।

नेपाल : विचारधाराबाट व्यवहारसम्मको विचलन
नेपालको समकालीन राजनीति विचारधाराबाट व्यवहारसम्मको स्पष्ट विचलन देखाउने एउटा रोचक “केस स्टडीका” रूपमा उभिएको छ। जहाँ सिद्धान्त र अभ्यासबीचको दूरी दिनानुदिन बढ्दै गएको छ। “क्रान्तिबाट सम्झौतासम्म” को यात्राले यस रूपान्तरण ९विचलन० लाई प्रष्ट पार्छ। माओवादी जनयुद्धले प्रारम्भमा वर्गसंघर्ष, संरचनात्मक परिवर्तन र वैकल्पिक राज्यव्यवस्थाको कुरा गर्दै व्यापक जनसमर्थन जुटायो। तर सत्ता संरचनाभित्र प्रवेश गरेपछि उसको व्यवहार क्रमशः मध्यमार्गी, समायोजनमुखी र यथास्थितिनजिक भयो। एमाले चुनावबाट सत्ता कप्जा गर्ने रणनिती अंगिकार गर्दा दलाल पूँजीवादलेनै एमालेलाई कप्जा गर्यो। काग्रेसले उदारवादको पैरवी गर्दा गर्दै दलाल, विचौलिया र भष्ट्रहरुले त्यही उदारवादको उपयोग र उपभोग गरे। विचारको धुंधलोपनले नेपाली राजनीतिको वैचारिक सीमारेखा नै धमिलो बनाइदियो। यी समग्र प्रवृत्तिहरूले दर्शनप्रति रहेको प्रतिबद्धता, अनुशासन र व्यवहारिक अनुवादको क्षय हो। यसरी राजनीति आफ्नो वैचारिक आधार गुमाउँदै क्रमशः अवसरवाद र तात्कालिकतामा केन्द्रित बन्दै गयो। जब विचारधाराले जीवनमा प्रत्यक्ष सुधार ल्याउन सकेन त्यसपछि पपुलिज्म जन्मिएको हो। यस अर्थमा : पपुलिज्म समस्या होइन लक्षण हो। यहाँ उल्लेख गर्नै पर्ने कुरा के हो भने दर्शनको राजनीतिको अवसानको बाटोतिर लैजाने पहिलो मलामीहरु हिजोका सत्ता राजनीतिका दलहरु र तिनका नेताहरु नै हुन।

दर्शन किन कमजोर भयो ?
दर्शन किन कमजोर भयो भन्ने प्रश्नको उत्तर खोज्दा आजको राजनीतिक संरचनाभित्र रहेका बहुआयामिक कारणहरू छन। विचारधारात्मक दृढतालाई क्रमशः क्षीण बनाउने कारण मध्य पहिलो वैचारिक स्पष्टताको अभाव हो। दलहरूले आफ्नै मूल विचारधारालाई समयानुसार परिमार्जन गर्ने नाममा आफ्नो पहिचान नै अस्पष्ट हुनेगरी दुषित गरे। वाम र लोकतान्त्रिक दलबीचको सैद्धान्तिक भिन्नता व्यवहारमा यति धमिलो भएको छ कि नीति र कार्यक्रमको स्तरमा फरक छुट्याउन गाह्रो पर्छ। दोस्रो : विश्वव्यापी आर्थिक प्रणालीको एकरूपताले पनि विचारधारात्मक विविधतालाई सीमित गरेको छ। आज अधिकांश देशहरूले मिश्रित अर्थतन्त्र अपनाएका छन् र पूँजीवादको प्रभाव विश्वव्यापी रूपमा फैलिएको छ। जसले राजनीतिक दलहरूलाई अन्ततः समान आर्थिक ढाँचाभित्र काम गर्न बाध्य बनाएको छ र वैचारिक भिन्नता घटाएको छ। तेस्रो : राजनीतिक पेशागतकरणले राजनीतिलाई सेवामूलक दायित्वभन्दा करियर(केन्द्रित पेशामा रूपान्तरण गरेको छ। सिद्धान्त र मूल्यभन्दा चुनाव जित्ने रणनीति, छवि व्यवस्थापन र शक्ति प्राप्ति नै प्राथमिकतामा पर्न थालेको छ। चौथो : भ्रष्टाचार र सत्ता(केन्द्रित प्रवृत्तिले दर्शनलाई झन् गौण बनाएको छ। जब राजनीति मूलतः सत्ता र सम्पत्ति प्राप्तिको माध्यममा सीमित हुन्छ तब नैतिकता व्यवहारबाट हराउँदै जान्छ र सिद्धान्त केवल औपचारिक घोषणामा सीमित रहन्छ। यी प्रवृत्तिहरू नेपालमा झन् स्पष्ट रूपमा देखिन्छन्। एक समय क्रान्तिकारी नारा बोकेको वाम आन्दोलन अहिले संसदीय व्यवस्थामा पूर्णरूपमा समाहित भई व्यवहारमा पूँजीवादी नीतिसँग नजिकिएको छ। नेपाली कांग्रेसले समाजवादको वकालत गरे पनि त्यसको नीतिगत र व्यवहारिक कार्यान्वयन स्पष्ट रूपमा देखिँदैन। नयाँ दलहरू “वैकल्पिक राजनीति” को नारा लिएर उभिए पनि उनीहरू प्रायः स्पष्ट दर्शन निर्माणभन्दा “गुड गभर्नेन्स” र “एन्टि–करप्सन” जस्ता व्यावहारिक मुद्दामा केन्द्रित देखिन्छन्। यी सबै अवस्थाहरूले देखाउँछन् कि वर्तमान राजनीतिमा दर्शनभन्दा “प्रभावकारी देखिनु” र तत्काल परिणाम दिन सक्ने छवि निर्माण नै प्राथमिकता बन्दै गएको छ जसका कारण विचारधारात्मक गहिराइ क्रमशः ओझेलमा पर्दै गएको छ।

निष्कर्ष : के दर्शनको राजनीति सकियो ? अवको विकल्प के हो?
के दर्शनको राजनीति सकिएको हो ? दर्शनको राजनीति मरेको छैन : बरु यो गम्भीर संक्रमण र संकटको चरणबाट गुज्रिरहेको छ। आजको राजनीति बढी “प्रस्तुति”, “छवि निर्माण” र तात्कालिक लोकप्रियतामा केन्द्रित भएको छ जसले सिद्धान्तको गहिराइलाई ओझेलमा पारेको छ। तर दीर्घकालीन रूपमा कुनै पनि राजनीतिक व्यवस्था स्पष्ट दर्शन र वैचारिक आधारबिना टिक्न सक्दैन।

नेपालको सन्दर्भमा समस्या दर्शनको अभावभन्दा पनि दर्शन र व्यवहारबीचको बढ्दो दूरी हो। राजनीतिक दलहरूले आफ्ना सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा जनतामा निराशा, अविश्वास र पपुलिज्मको प्रभाव विस्तार हुँदै गएको छ। राजनीति केवल सत्ता प्राप्तिको साधन होइन : यो समाज निर्माण, न्याय, समानता र जनकल्याणको मार्ग पनि हो। त्यसैले राजनीतिलाई पुनः जनउत्तरदायी, नैतिक र व्यवहारिक बनाउन आवश्यक छ।

बदलिँदो विश्वपरिस्थितिमा हिजोका दर्शनहरूलाई जस्ताको तस्तै लागू गर्न सकिँदैन। दर्शन आफैँ परिवर्तनशील हुन्छ। तर परिवर्तन केवल नेतृत्वको स्वार्थ, दलगत अनुकूलता वा अवसरवादका आधारमा गरिन्छ तब त्यो दर्शन विकृत र कुरूप बन्न पुग्छ। यही कारणले आजको युगमा कुनै पनि कट्टरवाद दीर्घकालीन समाधान बन्न सक्दैन। वर्तमान समयले पूँजीवाद र समाजवादका सकारात्मक पक्षहरूको समन्वय गर्दै “लोककल्याणकारी” दर्शनको आवश्यकता महसुस गरिरहेको छ। राज्यले जनताको आधारभूत अधिकार, सामाजिक सुरक्षा र सम्मानपूर्ण जीवन सुनिश्चित गर्न सकोस्। अतः, राजनीतिलाई पुनः अर्थपूर्ण बनाउन सिद्धान्त र व्यवहारबीचको दूरी घटाउँदै नीतिहरूलाई जीवन्त अभ्यासमा रूपान्तरण गर्नुपर्छ। अन्ततः भन्नुपर्दा, दर्शनको राजनीति समाप्त भएको होइनस यसको पुनर्जागरणको आवश्यकता अझ बढी महसुस भइरहेको छ।

 

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:१२ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...