back
CTIZAN AD

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

वि.सं.२०८३ वैशाख २० आइतवार

1K 

shares

अन्जनाको पुरिएको बालापन

डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी सानी बालिकाले पहिले कहिल्लै सुनेकी थिइनन। तीन वर्षकी अन्जना अझै राम्रोसँग “सरकार”, “सुकुमबासी”, “अवैध बस्ती” जस्ता शब्द बुझ्दिनथिइन्। उनले त केवल आफ्नो सानो संसार बुझ्थिन्- माटोको भाँडाकुँडा, टुटेको प्लास्टिकको गुडिया, एउटा चुङ्गी र छाप्रोको कुनामा राखिएको पुरानो साईकलको टायर। त्यही नै उनको संसार थियो। त्यही नै उनको खुशी थियो। त्यो दिन डोजरले केवल टिन र बाँसका छाप्रा मात्रै भत्काएन, एउटी बालिकाको बालापन पनि निर्मम र क्रुर बनेर कुल्चियो।

अन्जना बारम्बार भत्किएको घरतिर फर्किन्छिन्। धुलो, इट्टा र टिनका च्यातिएका टुक्रामाझ उनी आफ्ना साना हातले केही खोजिरहेकी हुन्छिन्। कहिले ढुङ्गा हटाउँछिन्, कहिले माटो खोतल्छिन्। उनलाई लाग्छ-सायद उनको गुडिया कतै अझै बाँचेकी छ। सायद त्यो चुङ्गी माटोभित्र अड्किएको छ। उनी बारम्बार आमालाई सोध्छिन्, “मेरो खेलौना कहाँ गयो?” तर आमासँग उत्तर छैन। आमाका आँखा आफैं आँसुले भरिएका छन्। गरिबीले थिचिएको जीवनमा उनले छोरीलाई दिन सकेको सबैभन्दा ठूलो खुशी ती साना खेलौनाहरू नै थिए। अहिले त्यो पनि डोजरले छिया पारेर फोहोरको थुप्रोमुनी पुरिएको छ।

बालबालिकाका लागि खेलौना केवल खेल्ने वस्तु होइनन्। ती उनीहरूको भावनात्मक साथी हुन्। बच्चाले आफ्नो डर, खुशी, एक्लोपन र सपना खेलौनासँग बाँड्छ। तीन वर्षको उमेरमा त बच्चाले आफ्नो खेलौनालाई जीवित साथीझैं ठान्छ। अन्जनाका लागि ती गुडिया केवल प्लास्टिक थिएन, त्यो उनको साथी थियो। त्यो   केवल प्लास्टिक थिएन, त्यो राति अंगालो हालेर सुत्ने सुरक्षित संसार थियो। तर राज्यका योजनामा बालापनको मूल्य हुँदैन। त्यहाँ नक्सा हुन्छ, कानुन हुन्छ, आदेश हुन्छ, डोजर हुन्छ तर साना बच्चाका आँसु नाप्ने कुनै मापन हुँदैन।

सायद सत्ता र सरकारको लागि त्यो केवल “अवैध संरचना” थियो। एउटी तीन वर्षकी बालिकाका लागि त्यो नै उनको संसार थियो। जहाँ उनले पहिलो पटक हाँस्न सिकेकी थिइन्। पहिलो चोटि “आमा” भनेर कराएकी थिइन्। पहिलो पाईला टेकेकी थिइन्। आफ्ना साना सपनाहरूको सबभन्दा सुन्दर संसार। अपसोच डोजरले विकासका नाममा छाप्रो  संगसगै  बालबालिकाको बालापन पनि भत्काईदियो।

युवराजको हराएको डोजर

चार वर्षको युवराजलाई संसारका ठूला राजनीतिक भाषण थाहा छैन। उसले “विकास”, “अतिक्रमण”, “सरकारी निर्णय” जस्ता शब्द बुझ्दैन।  उसलाई त केवल एउटा कुरा थाहा थियो-उसको सानो डोजर। त्यो डोजर पनि कुनै पसलबाट किनिएको चम्किलो खेलौना थिएन। एउटा पांग्रा हराएको, रङ उडेको, थोत्रो प्लास्टिकको डोजर थियो। उसका बाले बाटोछेउमा फालिएको अवस्थामा भेटेर ल्याइदिएका थिए। गरिब घरका बच्चाहरूका लागि फालिएका वस्तु पनि कहिलेकाहीँ संसारकै सबैभन्दा ठूलो उपहार बन्छन्। युवराजका लागि त्यो डोजर त्यस्तै अमूल्य खजाना थियो।

बिहान आँखा खुलेदेखि बेलुका निदाउञ्जेलसम्म ऊ त्यही डोजरसँग खेल्थ्यो। कहिले माटो खन्थ्यो, कहिले बाटो बनाउँथ्यो, कहिले सानो ढिस्कोलाई पहाड ठानेर त्यसमा डोजर चढाउँथ्यो। त्यो खेलौना उसको साथी थियो, सपना थियो, भविष्य थियो। ऊ बारम्बार आमालाई भन्थ्यो, “म ठुलो भएपछि डोजर चलाउँछु।”

सायद गरिब बच्चाहरूका सपना पनि उनीहरूले देखेका वस्तुजस्तै साना हुन्छन्। कसैले जहाज देखेर पाइलट बन्ने सपना देख्छ । कसैले महल देखेर नेता बन्ने सपना देख्छ। तर युवराजले जीवनभर देखेको सबैभन्दा ठूलो मेसिन डोजर थियो। त्यसैले उसको सपनाको आकार पनि त्यही डोजरजस्तै थियो। राति सुत्दा पनि ऊ त्यो डोजर छातीमा च्यापेर सुत्थ्यो। निद्रामै कहिलेकाहीँ उसका साना हात हल्लिन्थे मानौँ सपनामा पनि ऊ डोजर चलाइरहेको होस्। शायद सपनाभित्र उसले ठूलो सडक बनाएको थियो। ठूलो घर बनाएको थियो- जहाँ कसैले उसको छाप्रो भत्काउन आउँदैनथ्यो।

भाग्यमती…
सायद अब केही खोज्दिनन्। किनकि उनले जिन्दगीभर खोजेको कुरा- सम्मान, न्याय, र एउटा सुरक्षित घर थियो। यो देशले उनलाई कहिल्यै दिएन। सबैले उनको गरिबीमाथि राजनीति गरे। सबैले उनका आँसुमा भाषण गरे। सबैले रैति र जनताबाट “नागरिक” भएको भनेर फुर्काए। तर जब उनको छाप्रो भत्कियो  उनको पक्षमा बोलिदिने एउटा आवाज पनि उठेन। किनकी त्यहा तत्काल सत्ता र शक्तिमा पुर्याउने भर्र्याङ्ग थिएन। आफ्नो अनुहार देखाउने नैतीकता र हिक्मत थिएन।

तर एक बिहान छाप्रोमै वास्तविक डोजर आयो। फलामको विशाल मुख लिएर आएको सरकारी डोजर। जसले माटो मात्र होइन गरिबका साना सपनाहरू पनि खन्न थाल्यो। चिच्याहट, रुवाबासी, धुलो र भागदौडबीच युवराजले केही सोचेन। ऊ आफ्ना थोत्रा जुत्तासमेत छोडेर केवल आफ्नो सानो डोजर बोकेर भाग्यो। त्यो क्षण उसलाई घरभन्दा प्यारो त्यही डोजर लागेको थियो। तर भागदौडको भीडमा, धुलो र आतंकबीच कतै उसको हातबाट त्यो डोजर छुट्यो। सायद बाटोमा खस्यो। सायद भग्नावशेषभित्र पुरियो। सायद कुनै डोजरको पांग्रामुनि च्यापियो।

उसले आफ्नो खेलौना मात्र हराएको होइन आफ्नो सपना हराएको छ। अब उसले डोजर देख्दा पहिलेझैँ रमाइलो मान्दैन होला। किनकि उसले पहिलो पटक बुझ्न थालेको छ- डोजरले बाटो मात्र बनाउँदैन, कसैको संसार पनि भत्काउँछ। यही नै सबैभन्दा ठूलो विडम्बना हो- एउटा गरीब बालक, जसले डोजरलाई आफ्नो भविष्य ठानेको थियो आज त्यही डोजरबाट आफ्नो सबै गुमायो।

भाग्यमतीको अन्तिम आश्रय

एकासी वर्षकी भाग्यमतीको अनुहारमा उमेरभन्दा धेरै दुःखका धर्काहरू कोरिएका थिए। उनका हातका नसाहरू निस्किएका थिए, ढाड निहुरिएको थियो, आँखा धमिला भइसकेका थिए। तर ती आँखाभित्र अझै पनि अधुरो जीवनको लामो कथा बाँकी थियो- संघर्षको कथा, अपमानको कथा र कहिल्यै नओभाउने पीडाको कथा।

कलिलो उमेरमै विवाह गरेर पहाडको एउटा गरिब गाउँमा पुगेकी थिइन् भाग्यमती। घरमा गरिबी बाहेक केही थिएन। बिहान बेलुकाको छाक टार्न श्रीमानले अरूको भारी बोक्थे। उनी खेतबारी र ज्याला मजदुरी गर्थिन्। जीवन कठिन थियो तर आशा बाँकी थियो। त्यसैबीच उनले एउटा छोरा जन्माइन्-धनबहादुर। तर त्यो खुशी धेरै दिन टिकेन। धनबहादुर जन्मेको एक महिनामै उनका श्रीमान् साहुको भारी बोकेर फर्कँदै गर्दा बाटोमा भिरबाट लडे। त्यो लडाइँ फेरि उठ्ने लडाइँ भएन। उनी कहिल्यै घर फर्केनन्। भाग्यमतीका लागि त्यो केवल श्रीमानको मृत्यु थिएन। त्यो त समाजको निर्दयी अदालत सुरु भएको दिन थियो।

गाउँलेहरूले मृत्युलाई दुर्घटना मानेनन्। दोष भाग्यमतीमाथि थोपरे। कसैले उनलाई “लोग्ने टोक्ने” भन्यो, कसैले “अलच्छिनी”। मानौँ एउटी नवजात बच्चा च्यापेकी युवती आफ्नो श्रीमानको मृत्युकी अपराधी हो। आफ्नो श्रीमानको मृत्‍युको दुःखभन्दा ठूलो पीडा त आफ्नै समाजको घृणा बन्यो। घर, परिवार, टोल कसैले उनलाई सहानुभुति दिएनन। पुरुष प्रधान रुढिवादी समाजमा के नै अपेक्षा हुन्थ्यो र!  उल्टै गाउँमै बस्न नदिने अवस्था आयो।

त्यो गाउँमा उनको सम्पत्तिको नाममा एउटा सानो छाप्रो थियो त्यो पनि एलानी जग्गामा। अन्ततः उनले त्यो छाप्रो, त्यो गाउँ, त्यो अपमान सबै छोडिन्। एक महिनाको छोरा काखीमा च्यापेर उनी काठमाडौं झरिन्- कुनै गन्तव्य बिना, कुनै सहारा बिना।

काठमाडौंले उनलाई फूलको माला लगाएर स्वागत गरेन। यहाँ पनि उनले धेरै रात खुला आकाशमुनि काटिन्। कहिले भोकै सुतिन्, कहिले अरूका भाँडा माझिन्, कहिले इट्टा बोकिन्, कहिले सडक किनारमा आँसु लुकाइन्। तर एउटी आमाको मन हार मानेन। उनले आफ्नो दुःखलाई चुपचाप निलेर धनबहादुरलाई हुर्काइन्। उनले आफ्नो जीवन कहिल्यै आफ्ना लागि बाँचिनन्। उनका सपनाहरू छोराको पेटसँग गाँसिएका थिए। उनले नयाँ कपडा लगाइनन्, तर छोरालाई लगाइन्। उनले भोक सहेकी थिइन् तर छोरालाई भोकै सुत्न दिइनन्।

समय बित्दै गयो। धनबहादुर ठूलो भए। विवाह भयो। नाति-नातिना जन्मिए- युवराज र अन्जना। भाग्यमतीलाई लाग्थ्यो अब जीवनका बाँकी दिनहरू केही शान्त हुनेछन्। सुकुमबासी बस्तीको सानो छाप्रो नै सही त्यो नै उनको संसार थियो। त्यही छाप्रोमा उनले दुःख बिर्सने प्रयास गरेकी थिइन्। त्यहीँ नातिनातिनाको हाँसो सुनेर बाँचिरहेकी थिइन्।तर नियतिले उनलाई फेरि पनि आराम गर्न दिएन। एक बिहान सरकारी डोजर आयो।

त्यो डोजरले टिन र बाँसका छाप्रा मात्र भत्काएन भाग्यमतीको चौसट्ठी वर्ष लामो संघर्षलाई पनि क्षणभरमै भग्नावशेष बनाइदियो। उनले जीवनभर इट्टा बोकेर बनाएको आश्रय फेरि धुलोमा मिल्यो। उनी चुपचाप उभिएकी थिइन्- सायद अब आँसु पनि सुकिसकेका थिए।

कति निर्दयी हुन्छ यो संसार! जसले जीवनभर एउटा सानो ओतको लागि संघर्ष गरिन् अन्तिम उमेरमा आएर पनि उनले “घर” बचाउन सकिनन्। जसलाई समाजले युवावस्थामा “अलच्छिनी” भनेर गाउँबाट लखेट्यो, वृद्धावस्थामा राज्यले फेरि “अवैध” भन्दै उनको आश्रय खोस्यो।

सायद भाग्यमतीको जीवनले एउटा ठूलो प्रश्न छोडेर जानेछ – गरिब मान्छेले आखिर यो देशमा आफ्नो भन्न मिल्ने ठाउँ कहाँ पाउँछ?

भाग्यमतीले जीवनमा धेरै कुरा देखिन्।  उनले राणाशासनको डर सुनिन्। पञ्चायतको कठोरता भोगिन्। प्रजातन्त्र आएको दिन गाउँभरि खुसीयाली देखिन्। लोकतन्त्रका नाराहरू सुन्निन्। गणतन्त्रको उत्सवमा मानिसहरू नाचेको पनि देखिन्। हरेक परिवर्तनमा उनी भित्रभित्रै उत्साहित हुन्थिन्। उनलाई लाग्थ्यो- सायद अब गरिबको दिन फेर्ला। सायद अब मेरो छोरा-बुहारी, नाति-नातिनाले दुःख नपाउलान। सायद अब हाम्रो पनि एउटा सुरक्षित घर होला। तर “सायद” हरू कहिल्यै सत्यमा रुपान्तरण भएनन्।

हरेक चुनावमा नेताहरू बस्तीमा आउँथे। कोही रातो झण्डा बोकेर आउँथे, कोही हरियो, कोही पहेँलो, कोही खैरो। सबैले एउटै कुरा गर्थे- हामी गरिबका मान्छे हौं। सुकुमबासीलाई घर दिन्छौं। भुइँमान्छेको अधिकार स्थापित गर्छौं। भाग्यमतीले ती कुरा पत्याइन्। किनकि गरिब मान्छेसँग विश्वास बाहेक अर्को सम्पत्ति कहाँ हुन्छ र? उनले भोट दिइन्। कहिले रुखमा, कहिले हँसियाहथौडामा, कहिले सूर्यमा। कहिले छोराको कुरा सुनेर, कहिले नातिको भविष्य सम्झेर। कहिले हलो, कुटो, कोदालो, गिलास, गाई आदि ईत्यादि। तर चुनाव सकिएपछि नेताहरू फर्किए। फर्किएसँगै आश्वासन पनि फर्कियो। भाग्यमतीको छाप्रो उस्तै रह्यो। चुहिने टिन उस्तै रह्यो। भोक उस्तै रह्यो। अपमान उस्तै रह्यो। फरक यत्ति भयो- नेताहरूको गाडी फेरियो। घर फेरियो। जीवनशैली र स्तर फेरियो। भाषण फेरियो। तर भाग्यमतीको “भाग्य” फेरिएन।

उनी जीवनभर अरूको घर बनाउने इट्टा बोकिरहिन् तर आफ्नै लागि चार हात सुरक्षित जमिन पाईनन। अरूका छोराछोरीको घरमा भाँडा माझिन् तर आफ्ना नातिनातिनालाई सुरक्षित छानो दिन सकिनन्। देशमा संविधान बन्यो, सरकार फेरियो, व्यवस्था फेरियो तर उनको चुल्होमा पाक्ने दुःख कहिल्यै फेरिएन। वृद्ध उमेरमा जब उनका हात काँप्न थालेका थिए, आँखाले राम्ररी देख्न छोडेको थियो  त्यही बेला राज्यको डोजर आयो। त्यो डोजरले उनको छाप्रो मात्र भत्काएन उनको बाँकी विश्वास पनि भत्कायो।

सायद त्यो दिन भाग्यमतीले पहिलो पटक बुझिन्- व्यवस्था फेरिनु र गरिबको जीवन फेरिनु एउटै कुरा रहेनछ। उनले जीवनभर देशको सत्ता र शक्ति बदलिएको हेरिन तर देशले कहिल्यै उनलाई हेरेन। आज भाग्यमती भग्नावशेषको छेउमा चुपचाप बस्छिन्। उनका नाति युवराज पुरिएको डोजर खोजिरहेका छन्। नातिनी अन्जना आफ्नी गुडिया खोजिरहेकी छिन्।धनबहादुर चुपचाप आकाश हेर्छन्। बुहारी साझ चुलो कहाँ लगाउने र चुलोमा के पकाउने भन्ने चिन्ताले अर्ध-चेतन छिन। र भाग्यमती…
सायद अब केही खोज्दिनन्। किनकि उनले जिन्दगीभर खोजेको कुरा- सम्मान, न्याय, र एउटा सुरक्षित घर थियो। यो देशले उनलाई कहिल्यै दिएन। सबैले उनको गरिबीमाथि राजनीति गरे। सबैले उनका आँसुमा भाषण गरे। सबैले रैति र जनताबाट “नागरिक” भएको भनेर फुर्काए। तर जब उनको छाप्रो भत्कियो  उनको पक्षमा बोलिदिने एउटा आवाज पनि उठेन। किनकी त्यहा तत्काल सत्ता र शक्तिमा पुर्याउने भर्र्याङ्ग थिएन। आफ्नो अनुहार देखाउने नैतीकता र हिक्मत थिएन।

अन्त्यमा, भाग्यमतीसँग बाँकी रह्यो त केवल एउटा प्रश्न- यो देश आखिर कसको हो?

 

वि.सं.२०८३ वैशाख २० आइतवार १३:४२ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...