असार २३, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ। बुधबार बिहान सिंहदरबारमा बसेको बैठक सकिएको हो।
बैठक पार्टीभित्र उत्पन्न विवाद समाधानबारे छलफल र सहमति नजिक पुगेको नेताहरूले बताएका छन् । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने बताए ।
‘विवाद समाधान गर्ने विषयमा हामी सहमति उन्मुख छौँ । भोलिसम्ममा परिणाम आउँछ,’ उनले भने । कार्यदलको अर्को बैठक भोलि फेरि बस्ने उनले बताए ।
२ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदल निष्क्रिय बनेको थियो तर, सोमबारदेखि कार्यदल फेरि सक्रिय भएसँगै निरन्तर बैठक बस्दै आएको छ। कार्यदल सक्रिय भएसँगै सोमबार र मंगलबार छलफल भएका थिए।
कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल–नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
वि.सं.२०७८ असार २३ बुधवार १३:३८ मा प्रकाशित






























