
काठमाडौं । लामो समय संसद अवरुद्ध गर्दै आएको एमालेले संसदमा आफुलाई छलफल गर्न मिल्ने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेको छ ।
सत्तारुढ गठबन्धन दलभित्र आफ्नै सहयात्री नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुसँग एमसीसीबारे सहमति जुटाउन नसकेपछि निरन्तर एमाले अध्यक्ष केपी ओलीसग वार्तामा रहेका प्रधानमन्त्री समक्ष एमाले अध्यक्ष ओलीले शुक्रवार भएको भेटमा पनि सोहि आग्रह दोहोर्याएका हुन् ।
शुक्रवार बालकोटमा भएको प्रधानमन्त्री देउवासँगको भेटमा एमसीसीका विषयमा आफुले निर्णय दिने बताउँदै तर त्यसका लागि सदनमा वातावरण मिलाउन ओली आग्रह गरेका हुन् । ओलीले आफुले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस्ने वा सभामुखको राजीनामाको वातावरण बनाउनका लागि पुरानै शर्त दोहोर्याएका छन् ।
त्यसैगरी प्रधानमन्त्री देउवाले सबैको सहमतीमा एमसीसी अनुमोदन प्रक्रिया टुंग्याउनुपर्ने र त्यसमा एमालेको साथ अपरिहार्य रहेको बताएका थिए ।
वार्तामा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले –‘अध्यक्षज्यूले एमालेलाई प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो, त्यसमा सभामुख अग्नि सापकोटालाई हटाउने र १४ जना सांसदलाई कारबाही गर्ने विषय केन्द्रित थियो ।’
ज्ञवालीले अध्यक्ष ओलीको उक्त सवालमा देउवासँग ठोस जवाफ नभएको बताउँदै गठबन्धनभित्रकै सहयात्रीसँग अविस्वास बढेर गएको बेला देउवा गम्भीर देखिएको पनि बताए ।
त्यसैगरी सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री देउवाले अधिकतम सहमतिका साथ एमसीसीलाई सदनबाट अनुमोदन गर्ने विषयमा सहयोग तथा सहमतिको प्रस्ताव गरेको बताए । कार्कीले आजको छलफलमा पनि त्यस्तो कुनै निर्णायक सहमति नभएको र वार्ता र संवाद जारी रहने समेत बताएका छन् ।
गत आइतवार संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे प्रधानमन्त्रीले एमाले अध्यक्षसँग पटक–पटक गर्दै आएको छलफलमा अध्यक्ष ओलीले सभामुखको राजीनामा र १४ सांसदलाई कारबाहीको सूचना टाँस गरेमा मात्रा संसद सूचारु हुने वातावरण बन्ने अडान राख्दै आएको छ ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार २१:३९ मा प्रकाशित