जेन्जी कसरी आयो, २७ घण्टैमा कसरी उथलपुथल भयो, किन देश ईतिहासकै भिषण संकटमा पुग्यो अब मुलुक पुनर्निर्माणको खाका कसरी बनाउन पर्छ हामीसँग इतिहासले यी प्रश्नको उत्तर मागेको छ । तर भने हामी बेथीति र भ्रष्टताको कुरुपता उजागर गर्न छाडेर जेन्जीको बहानामा अर्को रोमान्टिक बाटो तय गर्न उद्देलित छौं । भावना र रोमान्सले हामीलाई क्षणिक उत्तेजना पैदा गराउने मात्र हो भन्ने कुरा हामीलाई विगतले राम्रो सँग झस्काएको छ, पढाएको छ सिकाएको पनि छ । तर ती सबै यथार्थ बिर्सेर हामी अस्वभाविक अराजकताको सिंढी चढन खोजिरहेका हौं की भन्ने टिप्पणी बढन थालेका छन् ।
निश्चय पनि हामीले बिगतमा निकै गल्ती गरेका छौ । हामीले भन्दै र सुझाव दिैदै आएको हो । कसैले सुनेनौं । आफनो चाकडी नगर्ने, नातेदार वा कुटुम्ब नपर्ने, पैसा, जिन्सी वा महँगा उपहार चढाउन नसक्ने वा नरुचाउने वा कथित आ–आफ्नालाई तान्दा पार्टीको संयन्त्रमा कनिष्ठ भइरहनुपर्ने हामीजस्ता धेरै सदावहार आन्दोलनकारीहरुको राय, सल्लाह र सुझाव ग्रहण गर्न आवश्यक ठानेनौं । यस्तो पीडा जनयुद्ध वा सो भन्दा पहिले पनि नभोगेको होइन । जनयुद्धको बेला पनि कसैको सात खत माफी र कसैको एक खत खोजी नभएका थिएनन् । कसैले सबै स्रोत लगानी गर्नुपर्ने र कसैले रगत र पसिनामा मस्ति गरेका कुरा नआएका होइनन् । जनयुद्धको ऐतिहासीक बिरासत, त्यसको मूल्य र गणतन्त्र सम्म आउँदाको अवस्थालाई हृदयंगम गर्दा हाम्रा प्रवृतिहरु माफीमा परेका मात्रै हुन् ।
गलत प्रवृति कोट्याउन र निर्धक्क बोल्न धरातलीय आधार हुनुपर्दछ र मैले पनि यहि मान्यतामा यहाँ कुरा राख्न निर्भिक बनेको हुँ । ०४१ मा तत्कालीन अखिलको जिल्ला सदस्य, ०४२ मा जिल्ला सचिव, ०४३ मा फुटपछि मशाल पक्षीय विद्यार्थी जिल्ला संयोजक र ०४५ पछि तत्कालीन नेकपा मशालको पार्टी सदस्यता लिएर नयाँ जनवादी क्रान्ति हुदै समाजवाद र साम्यवादमा जाने झण्डा उठाएको ब्यक्ति हुँ । पेशामा आवद्ध रहेर तलबको २५ प्रतिशतसम्म लेवी बुझाउने, संगठनले दिएका कुनै जिम्मेवारीमा पनि पिठ्युँ नफर्काउने र संचयकोषबाट निकालेर पार्टीको निर्देशनमा योजना साप्ताहिक चलाउने मात्र होइन ०४६, ०५४ र ०५५ मा जेल तथा हिरासत एवं ०५८ पछि पेशै छाडेर भूमिगत भई आन्दोलनमा काम गरेको हुँ र परिवारसहित राजनीतिमा क्रियाशिल छु । यसक्रममा म तत्कालीन मशालदेखि एकता केन्द्र, माओवादी र एमाओवादी हुँदै नेकपा (माओवादी केन्द्र) मा अड्कलेर दिइएका जिम्मेवारी उत्कृष्टताका साथ पुरा गरेको मात्र होइन सामाजिक आन्दोलनहरुमा पनि सहभागी भएर देश र जनताप्रतिको कर्तव्यमा अडिग छु । पार्टी भित्र आन्तरिक मूल्यांकन र न्यायका बारेमा लागे देखेको बोल्न डराएको छैन । र पार्टी र आन्दोलनमा लागेर पदीय भ्रष्टाचार नगरेको, कसैको दास नबनेको, कसैलाई देवता र कसैलाई राक्षस कहिल्यै नभनिएको, कसैको काम गरेबापत वा भनेबापत एक सुका खानु नपरेको, कुनै ठेक्कामा भाग नलिएको वा पार्नलाई कहि कतै सलग्न नभएको, ४० बर्ष राजधानीमा बस्दा जोडिएको घरबेगरको एक टुक्रा पनि बैकमा राखेर व्यवशायमार्फत गुजारा गर्नु परेको र हातखुट्टा सहित लम्पसार कहिल्यै नपरेको कारण बोल्ने लेख्ने नैतिक आधार रहेको छ ।
शान्ति वार्ता हुँदै खुला राजनीतिमा आउँदा जनतासँग हेलमेल हुने कार्यशैलीका बिषयमा मानसिकता र सभ्यताको लागी आवाज उठाउनेदेखि गिरीजालाई राष्ट्रपति बनाउने बिषय, प्रचण्ड नेतृत्वको पहिलो सरकारलाई दिएका सुझाव, रुक्मागत कटुवाल काण्ड, ६ दिने (स्कुल र अस्पताल समेत बंकर बनाउने बादलको चर्को एैलानको प्रतिवाद) आन्दोलन, ०६८ मा पार्टी भित्र दुई लाईन संघर्ष संचालनबारे मत, ०७० को दोस्रो संबिधानसभाको मतगणना बहिस्कार र सकारमा देखिएको केटौलेपन, कार्यकारी राष्ट्रपतिको बिषय बढाउन कन्जुस्याई, संविधान बनेपछि बाबुरामको बहिर्गमन, ०६३ पछि बढेको परिवारवादी चक्र लगायतका बिषयमा बैठकमा बोलेर तथा मिलेसम्म लेखहरुमार्फत आफना धारणा दर्ज गराउँदै आएको हो । नेतृत्वले भनेपछि जेपनि हुन्छ भन्ने मान्यता द्धन्दात्मक भोतिकबाद बिरोधि कुरा हो भनेर बडो रिस्कका साथ राख्दै र लोप्रोफाईलमा रहँदै आएको हो । त्यतिबेला ‘प्रचण्डलाई सुझाव दिने आँट !’ भनेर कटाक्षे गर्ने र कड्के आँखाले हेर्ने नेताहरुले नै प्रचण्डको टाउकोमा घन बजारेको सम्म यहि आँखाले देख्नुपयो ।
पछिल्लो एक बर्षदेखि नेतृत्व हस्तान्तरणसहित पार्टी रुपान्तरणको मुद्धा उठाउनु भएका उपमहासचिव कमरेडका अधिकांश बिषय पार्टी हितको पक्षमा देखिएका थिए । त्यही कारण नै अध्यक्ष प्रचण्डले देशैभरका परामर्श बैठकमा साथै लिएर कमरेडलाई धारणा राख्न दिनुभएको थियो । तर तिन महिना यतादेखि सार्वजनिक रुपले नेतृत्व विरुद्ध गरिएका अभिब्यक्तिसँगै नकरात्मक तरंगहरु आए । जेन्जी घटना भन्दा केहि दिन अघिको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष कमरेड लगायतका उपाध्यक्ष एवम् पदाधिकारीहरुले उपमहासचिव कामरेडलाई आत्मालोचित हुन आग्रह गरेको स्पष्टै आएको थियो । बालाजु, खरिपाटी, पालुंगटार र धोबिघाटबाट शिक्षा हामीलाई भन्दा नेताहरुलाई नै मिलेको थियो । यहि बिचमा देशले अप्रत्याशित क्षति ब्यहोर्नुपयो । भ्रष्टाचार, परिवारवाद र गुटवादमा फसेको नेपाली राजनीतिमा जेन्जी आन्दोलन त उठने अवस्था थियो नै तर मुलुक कहालिलाग्दो बनाएर यो हालतमा आउँछ भन्ने अनुमान कसैलाई थिएन ।
खरबौको क्षति सहित ७४ जना नागरिकले ज्यान गुमाएको पछिल्लो पाटो अध्ययनको एउटा अध्याय त होला तर त्यसको उठान र बैठान (टुगो नभएको धरमर अवस्था) को चित्रका आधारमा पनि हामीले अनुमान गर्ने कुरा के हो भने हाम्रै कमजोरीको मुख्य धरातलमा यो घटना हुन पुगेको हो । क्रान्तिकारी भनिएका र व्यवस्था परिवर्तनको संवाहक रहेका माओवादीमै आएको विचलन प्रमुख जिम्मेवार हो भनेर स्विकार्न सक्नुपर्दछ । त्यसपछि बल्ल ओली हठ, कांग्रेसी अकमन्र्यता र ठगीका लागि नै राजनीतिको खोल ओढेका केहि नया पात्र एवं प्रवृतिहरुलाई दोष लगाउन मिल्छ । भूराजनीति, पछिल्लो बिश्व र उनीहरुका स्वार्थ वा धमिलो पानीमा माछा मार्ने कुरा अस्वभाविक होइनन् ।
हामीले भोगेका थियौ की सर्वसत्तावादी, दम्भी, घमन्डी, मूर्ख, अहंकारी, नालायक, र सकुनीको चाल चल्ने शासक हुँदा देश कस्तो हुन्छ, जनताको हितका लागि सरकारले काम गर्न सकेन भने अवस्था कस्तो आउँछ, लुट खसोट गरि अकुत धन सम्पत्ति कमाउने, अनियमितता र भ्रष्टाचार गर्ने राजनीतिक पार्टीका नेता र कर्मचारीतन्त्रका व्यक्तिलाई जनताले विरोध गरेका कुरालाई हामीले सामान्य रुपमा लिन हुँदैनथ्यो । युवा, विद्यार्थी, गरिव, बेरोजगारहरुको हितका लागि सोच्नु पर्दथ्यो । राज्य संचालन गर्दा नागरिक समाज, बुद्धिजीवी, प्राज्ञहरुसँग सल्लाह सुझाव लिएर त्यसलाई ग्रहण गर्ने संस्कार हुनुपर्दथ्यो । सत्तामा गएर नातावाद, पक्षघात, भेदभाव गरिएमा जनताले विरोध, घृणा र आक्रोस व्यक्त गर्ने कुराको अनुमान हुन पर्दथ्यो । राजनीतिक दलहरुमा लोकतान्त्रिकरण, आत्मनिर्भर आर्थिक व्यवस्थापन, पारदर्शिता र सदस्यहरुको सार्वभौम अधिकारको सुनिश्चितता धनिले मात्रै लडन सक्ने निर्वाचन प्रणालीमा आमुल सुधारका बारेमा हामी बलियो हुदा पनि ख्याल गरेनौं ।
अहिले सडकमा भनिएको छ – ‘जेन्जी विद्रोह सामाजिक सन्जालमाथिको प्रतिबन्ध र भ्रष्ट सत्ता संरचना, पुराना भ्रष्ट नेताहरु र कुशासन, पार्टीहरुका पुरातन चिन्तनले भएको हो ।’ क्रान्तिको आधार तयार गर्न भन्दा उपदेश दिन बढि मन पराउने एकाथरी साथीहरु आजकल भन्दै हुनुहुन्छ – अब सचेत विद्रोहद्वारा राजनीतिक सत्ता परिवर्तन जरुरी रहेको र आजको संकटको क्रान्तिकारी समाधान निर्विवादित हुन पुगेको छ । जेन्जी विद्रोहले केन्द्रीय जनविद्रोह सम्पन्न गर्न गाह्रो नपर्ने देखाएको, क्रान्तिकारी परिवर्तनको लागि वस्तुगत अवस्था तयार भएको देखाएको, क्रान्तिकारी परिवर्तन खोज्ने राजनीतिक दलहरुले परिवर्तन चाहने युवाहरुलाई समेट्न नसकेको र अब समेट्ने तर्फ लाग्न पर्ने, परिवर्तन खोज्ने राजनीतिक दलहरुले युवा पुस्तालाई अगुवाइ गर्न जरुरी ठान्दै उहाँहरुले राष्ट्रिय स्वाधीनता र जनतन्त्र पक्षधर बृहत् राजनीतिक सम्मेलनबाट बैकल्पिक सरकार बनाउन ठलो संघर्षको आवश्यकता महशुस गर्नुभएको छ । विचार र व्यवहारमा तालमेल नगराउने, संगठनमा सिन्को नभाच्ने यो क्रान्तिकारी आदर्शवाद सहकार्यकै माध्यमबाट ब्यबहारीक बनाउन जरुरी छ ।
सत्तालाई उपभोगको बस्तु नठानेर समाज रूपान्तरणको ऐतिहासिक चेतना र बिकासक्रम नबुझदा हामीले बिगतमा धेरै मिस गरेका छौं । आफू पटक पटक सांसद र मन्त्री बन्दा वा आफनालाई बनाउँदा अरुको आवश्यकता बोध गरेनौं, अरुको हकलाई निषेध मात्रै गरेनाैँ, नेतृत्वको देवत्वकरण गरेर अरुमाथि ज्यादती पनि गयौ । केहि पाउँदा निगाहा बक्स मान्यौं र दिएको ठान्यौं अनि केहि नपाउँदा राक्षसको बिद्र्पिकरण गर्न पछि परेनौं । सबै योग्यताले केहि जिम्मेवारी सम्हाल्न पाउँदा पनि नेतृत्वको कमजोरी भन्न सक्नुपर्दथ्यो अनि नपाउँदा पनि विवेक वा सन्तुलन गुमाउन हुँदैनथ्यो । हामी यस्तोमा पनि धेरै चिप्लिीएका छौं । एउटाको खुटटोमा काढा बिझदा अर्कोलाई चसक्क हुने संस्कृति छाड्दै जाँदा एउटको मृत्युमा आफनो जीवन देख्ने विकृतिलाई हुर्काउन थाल्यौं । अहिले आफनाभित्र आलोचना आत्मालोचना गर्न छाडेर कथित बिलासीताका लागि जस्तो पनि उपद्रव बढाउन थाल्यौं । आफू भित्रका कुरा दुश्मनसँग शेयर गरेर आत्मरतिमा लिप्त हुन थाल्यौ । यस्तै यस्तैको कुलयोगमा आज यो अवस्थामा आईपुगेका छौं ।
हामी यो बैठकसम्म आईपुग्दा हामीले नेपाली समाजवादको वैज्ञानिक रूपको निक्र्यौल, नयाँ पुस्तालाई वस्तुगत अध्ययनको वातावरण, संगठनात्मक रुपान्तरण र दीर्घकालीन दृष्टिकोणमार्फत आन्दोलनलाई पुनर्जीवित गर्ने कार्ययोजना बनाउनै पर्दछ । यसैका आधारमा विचार, संगठन र नेतृत्वको नयाँ संश्लेषण हाम्रो सहि मार्ग हुनेछ । हामीले विदेशी हस्तक्षेप र दलाल पूँजीवादविरुद्ध प्रतिरोध संघर्ष बढाउने कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय र उत्पादनमा सेवा केन्द्रित राज्य प्रणाली बनाउने कुरामा, उत्पादनका साधनहरूको सहकारीकरण, सामाजिक समानता र श्रम केन्द्रित अर्थनीति निर्माण गर्ने कुरामा अनि राजनीतिलाई सभ्यता निर्माणको साधन हो भनेर बुझने बुझाउने कुरामा ध्यान दिनुपर्ने भएको छ । बढदो विदेशी निर्भरता र उपभोक्तावादलाई अस्वीकार गर्दै, मौलिक भाषा, साहित्य, कला र श्रम–संस्कृतिको पुनर्जागरण गर्दै, आत्मनिर्भर सोच र सामूहिक चेतनाको पुनर्जीवन गराउँदैै न्यायपूर्ण समाजको तस्विर सार्वजनिक गर्नुपर्दछ । पछिल्ला दिनमा क प्रचण्डले जनतासंग समेत कमजोरी स्विकार्दै आउनु भएको कुरालाई मनन गरौं ।
अहिले हामी आवश्यकता भन्दा बाहिर जानै हुँदैन । अहिले ईगो राख्ने वा साँध्ने समय होइन । आदर्श, सिद्धान्त, विचार र नेतृत्व तथा योजना मुर्त गराउन नसकेको जेन्जी पुस्ताले कोरा राजनीतिका नाममा हामीलाई साथ दिने कुरामा सन्देह छ । विभिन्न कारणले टुटेका धेरै साथीहरुमा एकताको मनोबिज्ञान बढेको छ । एकता रहर र रुचिले भन्दा आवश्यकताले नजिक बनाएको छ । यस्तो बेला बेमौसमको बाजा बजाउदा ध्वनि प्रदुषण मात्र हुने हो । नेतृत्व हस्तान्तरण राम्रै नियतले गरिएको मान्ने हो भने बिशेष महाधिवेशनको मिति तोकौं । बढ्न थालेका एकता प्रक्रियालाई दीलदेखी स्वागत गरौ । पार्टी सुदृढ गर्न सकिन्छ र देश बनाउन पनि सकिन्छ । बरु पार्टी भित्र लुकेका प्रतिभाहरुमाथि दमन र ज्यादती नगरौं । देश बनाउन सकिने योजना र खाकालाई स्विकार्न सकौं । रंगीचंगी कलेवरमा राजनीतिमा आएका नटवरलालहरुको कथित ठगि क्षमता र सीटका आधारमा हामी नतमस्तक मात्रै हुनुपरेन, कुर्चिका लागी खुट्टैमा ढोगको अवस्था देख्नुपयो । अब हामीलाई कुनै गल्तीका छुट छैनन् । हामीलाई बिसर्जन होईन एकता चाहिएको हो भने अध्यक्ष क प्रचण्डको बोली समातेर महाधिवेशनमा स्वस्थ र मैत्रीपुर्ण संघर्ष गरौ । महाधिवेशनमा निर्वाचन मार्फत चुस्त र कामकाजी समिति बनाउन तयार रहौं । तर यो पटक कामरेड प्रचण्डकै संयोजनमा एकतामा आउन तयार अन्य माओवादी, समाजवादी र वामपन्थी मित्रहरुलाई एकताको वातावरण तयार गरौं । हामी सबैलाई थाहा छ की अहिले यो देशमा कत्ति पनि मनोवल नघटेको शक्ति माओवादी शक्ति नै हो । समयको सदुपयोगका लागि तत्पर रहौं, काम कुरो एकातिर कुम्लो बोकी कतातिर ? भनेजस्तो कसैलै नगरौं ।
वि.सं.२०८२ असोज ९ बिहीवार १०:५५ मा प्रकाशित































