back
CTIZAN AD

बलेको मिठाई

वि.सं.२०८३ साउन १५ शुक्रवार

2K 

shares

गएको राति पनि म झसङ्ग ब्युँझिएँ ।

सपनामा बले आएको थियो । अनुहारभरि उज्यालो मुस्कान थियो । उसले मलाई देख्नेबित्तिकै भन्यो,

“दाइ, हाम्रो छोरीले दस कक्षा पास गरी, लौ मिठाई खानु !”

म केही क्षण अलमल्ल परेँ । को बले ? किन आएको ? म सम्झन खोज्दै थिएँ । उसले फेरि हाँस्दै भन्यो,

“दाइ, टीचिङ अस्पताल बिर्सिनुभयो ? तपाई,ं दिदीको कुरुवा, म तुलीको कुरुवा ।”

त्यति सुन्नासाथ म झसङ्ग ब्युँझिएँ । निद्रा खुलेको थियो तर सपना सकिएको थिएन । मनको एउटा कुनामा वर्षौँ पुरानो घटना फेरि जीवन्त भएर जागेको थियो, जसले मलाई धगधंगीमा राख्यो बेहि बेर ।

मैले ओछ्यानमै पल्टिएर सोच्न थालेँ । आखिर सपनामै भए पनि उनीहरूको प्रगतिको खबर सुन्न त पांए । मनभित्र कताकता सन्तोषको एउटा न्यानो तरङ्ग फैलिएको थियो । बलेको बोली र स्मरणले मलाई २०७६ साल कार्तिकमा लग्यो । भएको सत्य घटनामा मलाई तन्कायो ।

हाम्री कान्छी दिदी दमको रोगले निकै थलिनुभएको थियो । मेरो गाउँ पर्वतबाट उहाँलाई लिएर म महाराजगञ्जस्थित टीचिङ अस्पताल पुगेको थिएँ । दिदी बिरामी, म कुरुवा थिए केहि दिन ।

त्यतिबेला कोरोना महामारी आएको त थिएन तापनि अस्पताल सधैँझैँ भीडले भरिएको थियो । कोही जीवनसँग जुधिरहेका थिए, कोही पीडासँग । प्रत्येक बेडका बिरामीसंग आआफना कथा थिए ।

दिदीको संगै छेउको बेडमा रुकुमकी तुलीमाया भर्ना थिइन् । उनी आफैँ बिरामी थिइन् र उनको कुरुवा थिए बलबहादुर पुन ।

सुरुका दिनहरूमा हामी सामान्य चिनजानमै सीमित थियौँ । अस्पतालमा हुने नमस्ते, पानी चाहियो कि भनेर सोध्ने र औषधि ल्याइदिने जस्ता साना व्यवहारले मात्रै सम्बन्ध जोडिएको थियो ।

एक दिन बले खाना खान बाहिर गएका बेला दिदीले तुलीमायासँग कुरा गर्न थाल्नुभयो, मैले धैर्यतापुर्वक सुने ।

“बहिनी, तपाईंको श्रीमान् हो की को हो त्यो भाई ?”

तुलीमाया चुप लागिन् ।

दिदीले फेरि सोध्नुभयो,

“किन चुप बस्नुभयो ?”

तुलीमायाले नजर अन्तै मोडिन् ।

तेस्रो पटक दिदीले सोध्दा उनी एक्कासि भावुक भइन् ।

“दिदी, कथा धेरै लामो छ ।”

“हामी पनि त दिनभर संगै छौँ । मन हलुका हुन्छ भने भन्नुस् ।”दिदिले फेरी कर गर्नु भयो ।

तुलीमायाका आँखा रसाए ।

“हो, खास लोग्ने त यही ठहर भयो ।”

“खास लोग्ने ?”

“हो दिदी । तर कथा सीधा छैन ।”

तुलीमायाले आफ्नो जीवनको कथा बिस्तारै खोल्न थालिन् ।

“म सोह्र वर्षकी थिएँ । ऊ सत्र वर्षको । हामी प्रेममा प¥यौँ । गाउँलेले हामे प्रेम थाहा पाए । घरमा कुरा पुग्यो । अन्ततः हाम्रो बिहे पनि भयो ।”

उनको अनुहारमा क्षणका लागी भएपनि पुरानो खुसी चम्कियो ।

“बिहे भएको एक वर्ष नबित्दै ऊ र म दुवै कमाउन भनेर काला पहाड भारत गयौ । घरको अवस्था कमजोर थियो । पुगेको एक बर्ष बित्दा नबित्दा म गर्भवती भएपछि उसले बीस हजार रुपैयाँ दिएर नेपाल पठायो ”

“त्यसपछि ?” दिदीले सोध्नुभयो ।

“छोरी जन्मी । एक वर्षकी भई । मैले गाउबाट खबर पठाएँ ‘अब फर्किनुस् की म आउछु त्यहि ।’ तर उसले आफू शिमला पुगेको खबर पठायो ।”

तुलीमाया केही बेर रोकिइन् ।

“पछि थाहा पाएँ, ऊ त यहि माथिल्लो गाउबाट आफनो लोग्नेसंगै कालापहाडमा काम गर्न गएकी सेती सँग सल्केको रहेछ ”

दिदी चुपचाप सुनिरहनुभएको थियो ।

“पैसा पनि आएन, मान्छे पनि आएन । त्यसपछि मेरो मनभित्र रिस, पीडा र अपमान जम्मा हुन थाल्यो ।”

तुलीमायाको स्वर काँपिरहेको थियो ।

“मैलै पनि गल्ती गरेँ । गाउँकै धर्मे भन्ने केटासँग लहसीएर तुलसीपुर लागेँ । सोचेँ, उसले सहारा दिन्छ । तर ऊ आईमाईहरु चाहार्ने, रक्सी खाने, झगडा गर्ने र कुटपिट गर्ने मान्छे देखियो । ”

“ सानी छोरीलाई पनि कुटपिट ?”

“हो दिदी, मेरी सानी छोरीलाई समेत ।”

उनका आँसु अब रोकिन छाडेका थिए ।

“एक रात आफ्नै मान्छे लगाएर हामीलाई डेराबाट निकालिदियो ।”

आफै थामिन गाहो भएकी दिदीले उनको हात समाउनुभयो ।

“धेरै दुःख पाइछौ बहिनी । ”

“दुःख मात्र होइन दिदी, कहिलेकाहीँ त आफू बाँचेकै किन होला जस्तो लाग्थ्यो ।”

त्यसपछि तुलीमायाको जीवन संघर्षको पर्याय बन्यो ।

लोग्ने मानिसप्रति उनको घृणा बढयो । महिलाले चलाएको होटेल खोजेर काम गरिन् । ज्यालादारी गरिन् । कहिले भाँडा माझिन्, कहिले मजदुरी ।

छोरीलाई बचाउन, पढाउन र हुर्काउन उनी जुनसुकै दुःख सहन तयार थिइन् । त्यहा पनि सानो ठेक्का पटटा गर्ने थापा साईलो संग उनको हिमचिम बढयो । उसले बच्चालाई औधि माया गरेको नाटक गथ्र्यो तर पाच महिनापछि छोरी बिरामी हुदा अस्पताल लैजाने र पढने ब्यबस्थाको बिषयमा उसले नादानि देखायो । बैश र बच्चा दुवैले उनलाई नचाहिदो कुरामा उ संग पनि संझौता गरायो ।

उनले फेरी भनिन ‘ म उसको लागी रखौटी नै भन्ने थाहा नपाएको होईन तर मेरो उमेर र छोरीप्रतिको कर्तब्यबोधले मलाई यहा पुयायो । एक दिन कसले भनिदिएछ कुन्नी, उसकी अर्की रखौटी आएर मलाई भुतलभातल पारे । उसकी घरकीले भने लोग्नेले पैसा दिएपछि जति ठाउ चाहारेपनि केहि नगर्ने रहेछ । म बसेको ठाउमा उसैले र मैले किनेका केहि सामान पनि थिए । मलाई रित्तै खेदाए ।’ उनी थप सुक्क सुक गरीन ।

“मेरो लागि संसारमा एउटा मात्र कुरा ठूलो थियो,” उनले भनिन्, “मेरो छोरी” ।

अन्ततः उनले छोरीलाई माईति गाउ पुगेर आमाको जिम्मा लगाउने र काम खोज्ने प्रण गरीन् । काम खोज्दै उनी काठमाडौँसम्म पुगिन् ।

भक्तपुरको एउटा इँटाभट्टामा काम पाइने कुरा सुनेर मेन पावर सप्लायर्स संग उनी त्यहीँ पुगिन् ।

“दिनको हजार रुपैयाँ ज्याला थियो,” उनले भनिन्, “मलाई त्यो रकम स्वर्ग जस्तै लाग्यो । ”

एक वर्षभन्दा बढी समय उनले निरन्तर काम गरिन् । कमाईको आधा जोगाउने उनले आमालाई पैसा पनि पठाइन् । छोरीको खर्च जुटाइन् ।

तर नियतिले फेरि उनको अर्को परीक्षा तयार गरेको रहेछ ।

एक दिन इँटाभट्टामा दुर्घटना भयो ।

तुलीमाया गम्भीर घाइते भइन् ।

उनी बेहोस अवस्थामा अस्पताल लगिएकी थिइन ।

यसबीच बलेको कथा भने अर्कै दिशामा बगेको रहेछ ।

अर्को दिन मैले बलेसँग सोधेँ,

“भाइ, तपाईं यहाँ कसरी आइपुग्नुभयो त ?”

उसले लामो सास फे¥यो ।
बिहे गरेर काला पहाड गएको पुरानो दृश्य घुमाउन लाग्यो ।

म चुपचाप सुनिरहेँ ।

“मैले तुलीलाई धोका दिएँ । अर्की महिलासँग लागेँ । त्यो सम्बन्ध पनि टिकेन, पछि पछुतो लाग्यो ।”

“तुलीलाई खोज्नुभएन ?”

“खोजेँ । तर त्यतिबेला उनी पनि अर्कैतिर गइसकेकी रहिछन् ।”

बले केही बेर मौन रह्यो ।

“दाइ, मैले धेरै ठाउँ घुमेँ । शिमला पुगेँ, देहरादून पुगेँ, कमाएँ पनि र गुमाएँ पनि तर मनभित्र एउटा खाली ठाउँ कहिल्यै भरिएन ।”

“किन ?”

“किनभने मैले प्रेम मात्र गुमाएको थिइनँ, परिवार गुमाएको थिएँ ।”

छोरीलाई हेर्न भेष बदलेर सासूको घरसम्म पुगेको कथा पनि बलेले सुनायो ।

“भित्र जान सक्नुभएन ?” मैले सोधेँ ।

“सकिनँ।”

“किन ?”

“लाजले ।”

उसको आँखामा पश्चात्ताप स्पष्ट देखिन्थ्यो ।

“छोरीलाई टाढाबाट हेरेँ अनि फर्किएँ ।”

केहि समय पछि गाउबाट ऊ घोराहीको बस पक्रेर नेपालमै काम खोज्न हिडयो । गाउकै भाई मनिषसंग काठमाडौँसम्म आयो । संयोगले ऊ पनि भक्तपुरकै अर्को इँटाभट्टामा काम गर्न थाल्यो ।

एक दिन उसको भन्दा केहि परको एउटा भटटमा दुर्घटना भयो ।

सुपरभाइजरले खबर दिए,

“ उ परको पल्लो भट्टामा दुर्घटना भएको छ । रुकुमकी महिला घाइते भएकी छन् रे । अस्पतालमा कोही आफन्त छैनन रे । तपाईं रुकुमकै हो भने एकपटक हेर्न जानुस् त चिन्नु हुन्छ की । ”

सुपारभाईजरले नै खटाएको स्कुटरमा उ अस्पताल पुग्यो ।

इमर्जेन्सी कक्षमा पुगेपछि उसले बेडमा सुतेकी महिलाको अनुहार हे¥यो ।

र उसको मुखबाट एक शब्द निस्कियो—

“तुली…!”

तर दुई दिनपछि मात्र तुलीमायालाई होस आयो ।

आँखा खोलेर उनले वरिपरि हेर्न थालिन् ।

अचानक उनको नजर बलेमा पुग्यो ।

“तिमी ?”

“हो तुली ।”

“म सपना देखिरहेकी छु वा बेहोसमा छु ?”

“होइन ।”

त्यसपछि दुवै रोए ।

त्यो रोदन, पीडाको मात्र थिएन । त्यो वर्षौँको दूरी पग्लिएको आवाज झै थियो ।

“मलाई माफ गर,” बलेले हात समाउँदै रोएर भन्यो ।

तुलीमायाले पनि आँसु पुछिन् ।

“म पनि त निर्दोष थिइनँ । ”

“हामी दुवैले गल्ती ग¥यौँ।”

“तर धेरै सजाय पनि भोग्यौँ ।”

केही क्षण दुवै चुप रहे ।

पछि तुलीमायाले भनिन्,

“अब बाँकी जीवन छोरीका लागि बाँचौँ ।”

बलेले टाउको हल्लायो ।

“हो, अब छोरीले हाम्रो गल्तीको मूल्य तिर्नु पर्दैन ।”

यतिबेलासम्म आईपुग्दा अस्पतालको त्यो वार्डमा मैले एउटा अनौठो उपचार महशुस गरेको थिएँ । औषधिले निको नभएको घाउ त्यहाँ क्षमाले निको पारिरहेको थियो । मेडिकल साईन्सले जोड्न नसकेको सम्बन्ध ममताले जोडिरहेको थियो ।

केहि दिनपछि दिदी डिस्चार्ज भएपछि थप कथा सुन्न र बुन्न त्यहि बसिरहने कुरा पनि भएन ।

मनले मानेन । केहि दिनपछि म उनीहरूलाई भेट्न फेरी अस्पताल पुगेँ ।

“अब के गर्ने सोच्नुभएको छ ?” मैले सोधेँ ।

तुलीमायाले मुस्कुराउँदै भनिन्,

“छोरीलाई काठमाडौँ ल्याउने ”

बलेले थप्यो,

“र पढाउने ”

“कति पढाउने ?”

“हामीले पढ्न पाएनौँ,” बले हाँस्यो, “त्यसैले ऊ जति पढ्न चाहन्छे त्यति ।”

त्यो उत्तरमा एउटा बाबुको पश्चात्ताप पनि थियो र एउटा नयाँ जीवनको सपना पनि ।
मैले चलचित्र निर्देशक मेरा मित्र केपी पाठकलाई कथासार भनेर टिचींगको त्यहि बेडमा जाउ पनि भनेको हो तर मिलेन त्यतिबेला ।

म फेरी दास्रो पटक जाँदा उनीहरूबीचको सम्बन्ध अmभै मजबुत भएको देख्थेँ । बले औषधि ल्याइरहेको हुन्थ्यो ।तुलीमाया मुस्कुराउँदै खाना खाइरहेकी हुन्थिन् ।

आज यति वर्षपछि बले सपनामा आएर छोरीले दस कक्षा पास गरेको खबर सुनायो ।

मलाई थाहा छैन त्यो सपना थियो कि मनको गहिराइमा बसेको कुनै न्यायोचित सत्य ।

तर एउटा कुरा भने निश्चित लाग्यो ।

मान्छे कहिलेकाहीँ गल्तीले टुट्छ, तर ममताले फेरि जोडिन्छ । समाजमा स्वार्थ धेरै छ, धोका पनि धेरै छ । तर पनि क्षमा, करुणा र पुनर्मिलन अझै मरेका छैनन् ।

सपनाको बोली मेरो कानमा गुञ्जिरहन्छ, “दाइ, हाम्रो छोरीले दस कक्षा पास गरी, लौ मिठाई खानु !”

 

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...