आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख गरेर भए पनि पढ है। तिमीले पढ्यौ भने हाम्रो दुःख पनि एक दिन सकिन्छ।” बुबाले भन्नुभयो- “राम्ररी पढ्नु है छोरी, दुःख गरेर भए पनि तिमीलाई पढाउँछौँ।” परिवारले छोरी पढोस्, केही बनोस्, आफ्नो खुट्टामा उभियोस् भन्ने हुटहुटीले उनलाई गाउँबाट काठमाडौं पठाएको थियो। उनी काठमाडौं आइन्। आफ्नो भविष्य बनाउन। तर काठमाडौं आएपछि उनले थाहा पाइन्- भविष्य बनाउनुअघि वर्तमानसँग लड्नुपर्ने रहेछ।
उनको काठमाडौंमा ठूलो घर वा एपार्टमेन्ट होइन। एउटा सानो, साँघुरो र अँध्यारो कोठा हो। त्यही कोठाको एउटा कुनामा ओछ्यान छ। अर्को कुनामा किताबहरू छन् र बाँकी रहेको सानो ठाउँमा उनको भान्सा। भान्साको नाममा एउटा पानी भर्ने ग्यालेन, एउटा दिउरी, एउटा सानो प्रेसर कुकर, एउटा देक्ची, एक–एकवटा थाल, कचौरा र गिलास। खाना पकाउने एउटा एकमुखे ग्यास चुलो। त्यही चुलोमा उनी आफ्नो भविष्य पकाउने गर्थिन्। तर…एक महिनादेखि त्यो चुलोमा आगो बलेको छैन। त्यो चुलो चिसो छ।
ग्यास सकिनुअघि नै उनलाई थाहा थियो- अब अभाव हुँदैछ। तर अर्को सिलिन्डर किन्ने सामर्थ्य उनीसँग थिएन। जब ग्यासको आगो पहेँलो हुँदै धिपधिप गर्न थाल्यो, उनको मुटुमा पनि एउटा नमिठो पीडा थपिँदै गयो। अन्ततः ग्यासले आफ्नो अन्तिम सास लियो र चुलो निभ्यो। त्यही क्षण उनको मुटुको धड्कन पनि रोकिएझैँ भयो। मानौँ आफ्नै कुनै आत्मीयजनलाई गुमाएकी छन्।
ग्यास सकिएपछि भान्सामा आगो बल्न छाड्यो। सुरुमा उनले सोचेकी थिइन्- दुई–चार दिनमा ग्यास पाइहालिन्छ होला। दोस्रो दिन- पर्सि पाइन्छ होला। त्यसपछि दिनहरू हप्ता बने। हप्ताहरू महिना। तर सिलिन्डर खाली नै रह्यो। चुलोको मुख झन झन चिसो हुँदै गयो। मानौ जिवनको अन्तिम श्वास कुरेको बिरामी जस्तो। बिस्तारै उनको भान्साबाट खानाको गन्ध पनि हरायो। केही दिन साथीहरूको डेरामा खाना खाइन्। साथीहरूले पनि आफ्नो भागको खाना बाँडेर खुवाए। कहिलेकाहीँ आधा रोटी थपिदिए। कहिलेकाहीँ आफ्नै थालबाट तरकारी निकालेर उनको थालमा राखिदिए। तर गरिबीले मित्रताको ढोका पनि धेरै दिन ढकढक्याउन सक्दैन। साथीको ग्यास पनि सकियो। त्यहाँ पनि चुलो निभ्यो। त्यस दिनदेखि उनको पेटले पनि नियमित खाना देख्न पाएन। आज तीन हप्ता भयो। उनले पेटभरि खाना खाएकी छैनन्। तीन हप्तादेखि उनको भान्सामा भात पाकेको छैन। तीन हप्तादेखि दाल उम्लिएको छैन। तीन हप्तादेखि तरकारीको बास्ना उनको कोठामा पसेको छैन।
उनको खाना अहिले— चिउरा, नुन र पानी। कहिलेकाहीँ चिनी। चिउरा एउटा कचौरामा हाल्छिन्। अलिकति नुन छर्किन्छिन्। पानी थप्छिन् र चम्चाले चलाउँदै आफूलाई सम्झाउँछिन्—“यति खाएपछि भोक हराउँछ।” तर भोक कहाँ हराउँछ र? भोक त पेटमा होइन मनमा पनि लाग्दोरहेछ। कहिलेकाहीँ राति उनी ओछ्यानमा पल्टिन्छिन्। पेट खाली हुन्छ। आँखा निदाउन खोज्छन्। तर निद्रा आउँदैन। छेउमै किताब खुल्ला हुन्छ। परीक्षा नजिकिँदै छ। पढ्नुपर्ने धेरै छ। तर खाली पेटले किताबका अक्षरहरू पनि धमिला देखिन्छन्। एउटा प्रश्न पढ्छिन्। फेरि पढ्छिन्। तर दिमागमा उत्तर आउँदैन। किनकि दिमागले अर्को प्रश्न सोधिरहेको हुन्छ—“भोलि के खाने?”
उनले गाउँमा फोन गर्छिन्। “आमा, म ठीक छु।” आमा सोध्नुहुन्छ—“खाना खायौ?” उनी केही क्षण चुप लाग्छिन्। अनि मुस्कुराउँदै झुट बोल्छिन्— “खाएँ नि आमा।” फोन काटेपछि भने उनको आँखाबाट आँसु झर्छ। किनकि उनले त्यो दिन पनि खाना खाएकी हुँदिनन्। तर आमालाई आफ्नो भोक सुनाउन सक्दिनन्।
उनीलाई थाहा छ—आमाका लागि आफ्ना सन्तानको मायाभन्दा ठूलो संसारमा अरू केही हुँदैन। सन्तानको एउटा आँसु पनि आमाको मुटुमा पहाडझैँ भारी हुन्छ। त्यसैले टाढा काठमाडौंमा छोरी भोकै सुतेकी छ भन्ने खबरले आमाको मुटुमा कति ठूलो आँधी चल्छ होला—कल्पना मात्र गर्दा पनि मन भक्कानिन्छ। छोरी भोको पेट सुतेको खबरले आमाको मातृत्व पग्लिन्छ। मुटु चिराचिरा हुन्छ। आँखाभरि आँसु आउँछ, शरीर नै शिथिल हुन्छ। उनी मुर्छित हुन्छिन।
उनलाई काठमाडौं पठाउनै घरले धेरै कुरा त्यागेको छ। त्यसैले उनी आफ्नो भोक लुकाउँछिन्। आफ्नो पीडा लुकाउँछिन्। आफ्नो आँसु लुकाउँछिन्।
परीक्षा नजिकिएको छ। तर उनी अहिले पुस्तकालयमा होइन—ग्यासको लाइनमा छिन्। कलेजको नोट होइन—ग्यास पाइन्छ कि पाइँदैन भन्ने खबर खोजिरहेकी छिन्। बिहानदेखि बेलुकासम्म उनी काठमाडौंका गल्ली–गल्ली डुल्छिन्। एउटा पसलमा सोध्छिन्—“दाइ, ग्यास आएको छ?” “छैन।” अर्कोमा—“भोलि आउन सक्छ।” अर्कोमा—“लाइन धेरै छ।” उनी फेरि अर्को ठाउँतिर लाग्छिन्।
उनले कहीँकतै ग्यास पाउदिन्न। तर सडक र गल्लीहरूमा ग्यासले भरिएका सिलिन्डरहरू गुडिरहेका देखिन्छन्—कसैले मोटरमा, कसैले मोटरसाइकलमा राखेर लैजाँदैछन्। ती सिलिन्डरहरू देख्दा उनको मन झन् चसक्क हुन्छ। आफूले नपाएको ग्यास अरूले सहजै बोकेर लगिरहेको देख्दा उनलाई लाग्छ—“के म पनि यही देशकी नागरिक होइन र? मेरो भोक र अभावको कुनै मूल्य छैन?” उनलाई आफ्नै भागको अधिकारबाट वञ्चित भएझैँ लाग्छ। चुलोमा आगो नबल्नुको पीडाभन्दा पनि, आफ्नै आँखाअगाडि अरूका चुलो बल्नका लागि ग्यास गुडिरहेको देख्नुले उनको मन अझ गहिरोसँग दुखाउँछ।
तर दिन ढल्छ। काठमाडौंका सडकमा बत्तीहरू बल्छन्। होटलका भान्सामा भाँडाहरू बज्न थाल्छन्। रेस्टुरेन्टमा मानिसहरू खाना खान बस्छन्। कहीं मःमः पाकिरहेको हुन्छ। कहीं मासु भुटिएको बास्ना आउँछ। कहीं तातो दालको बाफ उडिरहेको हुन्छ। उनी भने खाली हात आफ्नो कोठातिर फर्किन्छिन्। उनको हातमा आज पनि ग्यास छैन। तर भोक छ। थकान छ र आँखाभरि निराशा छ। साँझ डेरामा पुगेर ढोका खोल्छिन्। सबैभन्दा पहिले उनको नजर चुलोतिर जान्छ। चुलो उस्तै चिसो छ। एकछिन चुपचाप उभिन्छिन्। सायद मनमनै सोच्छिन्—“आज पनि बल्दैन?” त्यसपछि झोला खोल्छिन्। त्यसमा आधा किलो चिउरा छ। र एक पाउ चिनी। त्यही उनको आजको खाना हो। त्यही भोलिको पनि हुन सक्छ। चिउरा कचौरामा हाल्छिन्। चिनी मिसाउँछिन्। अनि पानी पिउँदै खान थाल्छिन्। एक गाँस मुखमा हाल्छिन्। तर त्यो गाँससँगै उनको आँखाबाट एउटा आँसु कचौरामा खस्छ। उनी आँसु पुछ्छिन्। फेरि खान्छिन्। किनकि रोएर पेट भरिँदैन। भोकै भए पनि भोलि उठ्नैपर्छ। पढ्नैपर्छ। परीक्षा दिनैपर्छ। किनकि गाउँमा उनका आमाबुबाले अझै विश्वास गरिरहेका छन्— “हाम्री छोरीले पढेर केही गर्छे।”
अचम्म! आजभोलि उनको कोठामा मुसाहरू पनि आउँदैनन्। साङ्ला र कमिलाहरू समेत देखिन छाडेका छन्। कहिलेकाहीँ उनी मनमनै सोच्छिन्—“खाना हुँदा मात्र आउनेहरू यस्तै त हुन्।” मुसा, साङ्ला र कमिला मात्र होइन मानिसहरू पनि त कहिलेकाहीँ यस्तै हुँदा रहेछन्। पेट भरिने आशा हुँदा नजिकिने, अभाव सुरु भएपछि टाढिने। उनी अहिले आफूलाई चुनावमा पराजित भएको नेताजस्तै महसुस गर्छिन्—वरिपरि न समर्थक छन्, न कार्यकर्ता; न कोही सोध्ने छ, न कोही खोज्ने।
उनले केही समयअघिको कुरा सम्झिन्छिन्—जेन्जी आन्दोलनपछिको त्यो उन्माद, त्यो उत्साह, त्यो आशा। देशलाई भ्रष्ट र दुष्टहरूको हातबाट मुक्त गर्ने सपना थियो। समतामूलक, न्यायपूर्ण र सुशासित समाज बनाउने सपना थियो। उनलाई लाग्थ्यो—अब देश बदलिनेछ। अब जनताको जीवन बदलिनेछ। कत्रो उत्साह थियो त्यतिबेला! देश र जनताको हितमा काम गर्ने एउटा असाधारण अवसर आएको जस्तो लाग्थ्यो। चुनाव भयो। उनी गाउँ गइन्। पुराना दुष्ट र भ्रष्टहरूविरुद्ध आवाज उठाइन्। “नयाँ” को पक्षमा माहोल बनाइन्। वर्षौँदेखि पुराना दलप्रति निष्ठावान रहेका आफ्नै आमाबुबाको मनमा समेत परिवर्तनको आशा जगाइन्। धेरैलाई मत बदल्न प्रेरित गरिन्।
निर्वाचनको नतिजा आयो। “नयाँ” ले जित्यो। उनको मनले पनि जित्यो। अब देशमा कायापलट हुनेमा उनी विश्वस्त भइन्। “हाम्रा पनि दिन आए,” भन्दै उनी फुरुङ्ग परिन्। अब लाइन बस्नुपर्ने छैन। “अब लाइन होइन, अनलाइन!” उनले सुशासनको सपना देखिन्। परिवर्तनको सपना देखिन्। आफ्ना बाआमाले वर्षौँदेखि बगाएको पसिनाको मूल्य पाउने देशको सपना देखिन्। तर आज… बाआमाको रगत–पसिनाले थोपाथोपा गरेर जम्मा गरेको पैसा बोकेर उनी काठमाडौंका गल्ली–गल्ली भौतारिँदा पनि एउटा सिलिन्डर ग्यास पाउँदिनन्।
त्यो क्षण उनलाई एउटा कठोर सत्यले झस्काउँछ—पुराना खराब थिए। भ्रष्ट थिए। तर तिनै पुरानाको खराबी र भ्रष्टाचारलाई भर्याङ बनाएर सत्तामा पुगेपछि आफैंले कति फरक काम गर्यौँ त? अरूलाई गाली गर्नु, अरूलाई सराप्नु र आफूले राम्रो काम गरेर देखाउनुबीच आकाश–पातालको फरक हुँदो रहेछ।
आज उनलाई आफ्ना बाबाले बारम्बार भन्ने गरेको एउटा भनाइ सम्झना आउँछ—“बोकेको कुकुरले मृगको सिकार गर्न सक्दैन।” उनी चुपचाप चिसो चुलोतिर हेर्छिन्। हिजो परिवर्तनको सपना देखेको उनको आँखामा आज प्रश्न मात्रै छ—“सत्ता बदलियो, अनुहार बदलियो, नारा बदलियो… तर मेरो चुलो किन बदलिएन?”
मेरा आशा र विश्वासका सपना मात्र होइनन्—यी त मेरा आमाबुबाका सपना हुन्। युवाका सपना हुन्। स्वदेशमा पसिना बगाइरहेका र परदेशमा रगत–पसिना बगाइरहेका मजदुरका सपना हुन्। मल नपाएर खेतको डिलमा बसेर आँसु झारिरहेका किसानका सपना हुन्। पासपोर्ट र लाइसेन्स बनाउन घण्टौँसम्म लाइनमा उभिएका नागरिकका सपना हुन्। सीमामा उभिएर देशको माटो र राष्ट्रियता जोगाउन संघर्ष गरिरहेका जनताका सपना हुन्। सामन्त र साहूकारको ऋण र शोषणमा थिचिएर न्यायको खोजीमा भौतारिरहेका मानिसका सपना हुन्। अन्याय सहेर पनि न्यायको आशा नछोडेका आम नागरिकका सपना हुन्।
यी सबै सपना भोकै राखेर कस्तो देश बनाउने हो? चुलोमा आगो नबल्ने देशमा समृद्धिको नारा कति ठूलो स्वरमा लगाउने हो? भोकै पेट लिएर परीक्षा पढ्ने विद्यार्थीलाई कस्तो भविष्यको सपना देखाउने हो?
मल नपाएर खेत बाँझै राख्ने किसानलाई कृषिप्रधान देशको कथा कति सुनाउने हो? पासपोर्टको लाइनमा उभिएको युवालाई रोजगारीको आश्वासन कहिलेसम्म दिने हो? परदेशमा पसिना बगाइरहेको मजदुरको रेमिट्यान्सले देश चलाएर उसकै घरमा चुलो नबल्दा हामी कुन समृद्धिको उत्सव मनाउने हो? देशको सीमा जोगाउने नागरिकको घर सुरक्षित छैन भने राष्ट्रियताको अर्थ के हो? न्यायका लागि अदालत, कार्यालय र सडक धाइरहेको नागरिकले न्याय पाउन वर्षौँ कुर्नुपर्ने हो भने सुशासन आखिर कसका लागि हो?
त्यसैले प्रश्न केवल एउटा ग्यास सिलिन्डरको होइन। प्रश्न एउटा विद्यार्थीको भोकको मात्र होइन। प्रश्न हो— तिमीले कस्तो देश बनाउँदैछौँ? जहाँ सपना देख्न पाइन्छ तर सपना पूरा गर्न पेटभरि खान पाइँदैन? जहाँ मध्य रातमा परिवर्तनको नारा सुन्न पाइन्छ तर परिवर्तनको अनुभूति गर्न पाइँदैन? जहाँ जनताले सरकार बनाउँछन् तर सरकार बनेपछि मौन हुन्छ?
आम नेपालीका सपना भोकै राखेर, आँसुमा डुबाएर र आशा मारेर आखिर कस्तो समृद्धि, कस्तो सुशासन र कस्तो नयाँ नेपाल बनाउने हो?
वि.सं.२०८३ साउन २५ सोमवार १४:२९ मा प्रकाशित






























