नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक बडाकाजी अमरसिंह थापा एक उत्कृष्ट सैन्य योजनाकार र रणनीतिकार थिए । उनले अवलम्बन गरेको एकीकृत सैन्य रणनीति (Integrated Military Strategy) केवल युद्ध मैदानमा लड्ने कुरामा मात्र सीमित थिएन । उनले भूगोलको ज्ञान, नागरिक–सैनिक सम्बन्ध, गढी (किल्ला) निर्माण, मठ, मन्दिर निर्माण, कूटनीति र सैन्य मनोबललाई एकसाथ जोडेर एक बलियो रणनीतिक मोडल तयार पारेका थिए । यो एकीकृत सैन्य रणनीति आज पनि नेपाली सेना र विश्वका शक्तिशाली सैन्य बलले प्रयोग गरेको पाइन्छ । तर यसको बारेमा सर्वसाधारण जनताको जानकारीको लागि प्रष्टसंग कतै समग्र रुपमा उल्लेख भएको देखिदैन । यो आलेखको मुख्य उद्देश्य एकीकृत सैन्य रणनीतिको बारेमा जानकारी प्राप्त गर्ने र जनसमक्ष उजागर गर्नु हो ।
एकीकृत सैन्य रणनीतिका प्रमुख पक्षहरू :
बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य रणनीतिका प्रमुख पक्षहरू यस प्रकार छन् :
१. किल्लामा आधारित रक्षात्मक युद्धनीतिः अमरसिंह थापाको सैन्य रणनीतिको मुख्य विशेषता भनेकै उच्च पहाडी भेगमा बलिया किल्लाहरू (गढी) निर्माण गर्नु र त्यसलाई आधार बनाएर शत्रुलाई रोक्नु थियो । उनले डडेल्धुराको अमरगढी किल्ला, कुमाऊँ, गढवाल, नालापानी र मलाउँ जस्ता क्षेत्रमा अभेद्य किल्लाहरू बनाए । आधुनिक हतियार र ठूलो तोपखाना भएका अंग्र्रेज र सिख सेना विरुद्ध नेपाली सेनासँग सीमित स्रोतसाधन मात्र थियो । किल्ला भित्र बसेर उचाइबाट आक्रमण गर्दा कम क्षतिमा ठूलो शत्रु फौजलाई परास्त गर्न सकिन्थ्यो । यस आलेखमा अमरगढी किल्लाको बारेमा चर्चा गरिएको छ ।
अमरगढी किल्ला डडेलधुरा जिल्लाको सदरमुकाम खलङ्गामा ६,५०० फिटको उचाइमा अवस्थित नेपालकै एक ऐतिहासिक र सामरिक महत्त्वको जीवन्त किल्ला हो । नेपाल एकीकरणको क्रममा बडाकाजी अमरसिंह थापाद्वारा वि.सं. १८४७ मा यसको निर्माण गरिएको थियो । यस किल्लाले तत्कालीन गोर्खाली सेनाको अदम्य साहस र उच्च युद्ध रणनीतिको प्रतिनिधित्व गर्दछ ।
यो ऐतिहासिक किल्लाको बनावट र यसको युद्ध रणनीतिसँगको सम्बन्धलाई निम्न बुँदाहरूमा तल प्रस्तुत गरिएको छः
अमरगढी किल्लाको बनावटः यो किल्ला टाढाबाट हेर्दा सिंहको टाउको वा सिंहको जटा जस्तो कलात्मक आकारमा विशाल ढुङ्गा, माटो र काठको समिश्रणबाट मजबुत गरी बनाइएको छ । किल्लाभित्र शत्रुको आक्रमणबाट बच्न र लुकेर प्रत्याक्रमण गर्न सैनिकहरूका लागि २२ वटा सुरक्षित गुफा वा कोठाहरू निर्माण गरिएका छन् । महाकाली पारि पश्चिम काँगडासम्मको विजय अभियानका लागि आवश्यक तोप, गोलाबारुद र बन्दुक जस्ता हातहतियार सुरक्षित राख्न यसभित्र विशेष कोतघर(Armoury)बनाइएको छ । किल्लाका अग्ला पर्खाल र बुर्जाहरूमा स–साना प्वालहरू बनाइएका छन्, जहाँबाट भित्रका सैनिक सुरक्षित रही बाहिरका शत्रुमाथि सजिलै गोली वा तिर प्रहार गर्न सक्थे । सैनिकहरूको गोप्य आवतजावत र आपतकालीन निकासका लागि किल्लाभित्र ढुङ्गाले बनेको सुरक्षित सुरुङ मार्गको समेत व्यवस्था छ ।
युद्ध रणनीतिसँगको सम्बन्धः समुद्र सतहबाट ६,५०० फिट उचाइमा हुनाले यहाँबाट चारैतिरको क्षेत्र सजिलै नियाल्न सकिन्थ्यो । शत्रु कताबाट आउँदैछ भन्ने कुरा गोर्खाली सेनाले टाढैबाट थाहा पाउने सामरिक फाइदा यसले प्रदान गथ्र्यो । बडाकाजी अमरसिंह थापाले डोटेली राज्यलाई परास्त गरेपछि महाकाली पारि कुमाउँ, गढवाल र काँगडासम्मको विजय यात्रा जारी राख्न यस किल्लालाई मुख्य सैन्य केन्द्र र बन्दोबस्तीको सामान सञ्चालन गर्ने थलो बनाएका थिए । अंग्र्रेज (ब्रिटिस इस्ट इन्डिया कम्पनी) को आधुनिक र ठूलो फौजलाई नेपालको भित्री भूभागमा प्रवेश गर्नबाट रोक्न यो किल्लाले एक बलियो पहाडी सुरक्षा पर्खाल वा चेकपोस्टको काम गरेको थियो ।
यस किल्लामा २२ वटा गुफा र सुरुङ मार्गको बनावटले गोर्खाली सेनालाई लुकेर बस्न र शत्रु असावधान भएको मौका छोपी अचानक छापामार शैलीमा घातक प्रत्याक्रमण गर्न मद्दत पु¥याउँथ्यो । यसरी अमरगढी किल्ला केवल ढुङ्गा र माटोको संरचना मात्र नभएर नेपालको भौगोलिक अवस्थालाई बुझेर रचिएको एक अद्वितीय र अभेद्य सैन्य इन्जिनियरिङको नमुना हो ।
२. भूगोल र पर्यावरणको पूर्ण उपयोगः उनलाई पहाडी भूगोल र हिमालको मौसमको अचूक ज्ञान थियो । शत्रु सेना कुन बाटोबाट आउन सक्छ र उनीहरूलाई कहाँ घेरा हाल्न सकिन्छ भन्ने कुराको उनले पहिल्यै “अपरेसनल प्लानिङ” (कार्ययोजना) तयार गर्थे । अंग्र्रेजहरू तराई र समतल भूमिमा बलिया थिए, तर पहाडी र दुर्गम क्षेत्रमा उनीहरूको हतियार चल्दैनथ्यो । अमरसिंहले शत्रुलाई सधैं आफ्नो अनुकूलको कठिन पहाडी भूगोलमा ल्याएर लड्न बाध्य पार्थे ।
३. नागरिक–सैनिक एकीकरण र सुशासनः नयाँ जितिएका राज्यहरूमा विद्रोह हुन नदिन अमरसिंह थापाले सैन्य कमान्डसँगै उत्कृष्ट नागरिक प्रशासन र सुशासन लागू गरेका थिए । उनले विजित क्षेत्र जस्तै कुमाऊँ र गढवालका स्थानीय सामन्त र जनतासँग कूटनीतिक संवाद गरी उनीहरूलाई आफ्नो पक्षमा पारे । उनले ती क्षेत्रमा कर प्रणाली व्यवस्थित गरे, पूर्वाधार निर्माण गरे र जनतालाई दमन गरेनन् । यसले गर्दा सेनालाई आवश्यक बन्दोबस्तीका सामान (खाद्यान्न र सूचना) स्थानीय जनताबाटै सहजै प्राप्त हुन्थ्यो ।
४. कूटनीतिक र रणनीतिक स्वायत्तताः युद्ध जित्न केवल हतियार मात्र पर्याप्त हुँदैन भन्ने कुरा अमरसिंहले बुझेका थिए । उनले काठमाडौँ दरबारबाट टाढा, पश्चिमी मोर्चाको सर्वोच्च कमान्डर भएर काम गर्दा कूटनीतिक निर्णयहरू लिने स्वायत्तता पाएका थिए । उनले अंग्र्रेज विरुद्ध पन्जाबका राजा रणजित सिंह र मराठाहरूसँग त्रिगुणात्मक गठबन्धन बनाउने प्रयास समेत गरेका थिए । अंग्र्रेज जनरल अक्टरलोनीले उनलाई नेपाल विरुद्ध गद्दारी गरेमा ठूलो प्रलोभन र जागिरको अफर गर्दा पनि उनले “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” भन्दै राष्ट्रिय स्वाभिमान र इमान्दारिताको उच्च नमुना प्रस्तुत गरे ।
५. मनोबलमा आधारित नेतृत्वः सीमित स्रोत, न्यून तलब र काठमाडौँबाट हजारौँ किलोमिटर टाढा रहेका सैनिकहरूको मनोबल उच्च राख्नु उनको रणनीतिको मुख्य अंग थियो । उनी आफैं अग्रपंक्तिमा रहेर युद्ध लड्ने र सैनिकहरूसँगै सुख–दुःख साट्ने हुनाले सिपाहीहरू देशका लागि ज्यान दिन तयार हुन्थे । उनको यही उच्च नैतिक चरित्र, अनुशासन र देशभक्तिपूर्ण नेतृत्वका कारण अंग्र्रेज सैनिकहरूले समेत उनको ठूलो सम्मान गर्थे ।
युद्ध रणनीतिका चुनौती र सिकिएका पाठ
बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य तथा युद्ध रणनीतिले नेपालको सीमा पश्चिममा सतलज नदीसम्म विस्तार गर्न मद्दत गर्यो । यसमा पहाडी भूगोल सुहाउँदो रक्षात्मक रचना, स्थानीय जनसम्पर्क र मनोबल उच्च राख्ने कला प्रमुख थिए । तर सीमित स्रोत, आधुनिक हातहतियारको कमी र विशाल अंग्र्रेज फौजसामु यो रणनीतिले गम्भीर चुनौती र ऐतिहासिक पाठ छोडेको छ ।
युद्ध रणनीतिका प्रमुख चुनौतीहरू
स्रोत र साधनको कमीः आधुनिक तोप, बारूद र रसदपानीको अभावमा विशाल तथा आधुनिक बेलायती फौजसँग लड्नुपारेको थियो ।
भौगोलिक दूरी र सञ्चार अभावः राजधानी काठमाडौँबाट टाढा पश्चिमी मोर्चामा रहेका कारण समयमा सैनिक सहयोग र निर्देशन पाउन कठिन थियो ।
नयाँ जितेका क्षेत्रमा अस्थिरताः कुमाऊँ, गढवाल र सतलज क्षेत्र नयाँ विजय गरिएकाले स्थानीय जनतामा असन्तुष्टि र सम्भावित विद्रोहको खतरा सधैँ रहन्थ्यो ।
प्रबल बाह्य शक्तिहरूको सामनाः एकैपटक अंग्र्रेज कम्पनी सरकार तथा पन्जाबका सिख शासकहरूसँग सामरिक सन्तुलन मिलाउनुपर्ने दबाब थियो ।
सिकिएका पाठहरू
भूगोल र रणनीतिको तालमेलः कठिन पहाडी भूभागमा दुश्मनलाई अल्झाएर आक्रमण गर्ने र रक्षात्मक किल्ला बलियो बनाउने कलाले युद्धमा शत्रुलाई पराजित गर्न सहयोग पुगेको थियो ।
राष्ट्रिय हित सर्वोपरिः अंग्र्रेज जनरल अक्टरलोनीले दिएको ठूलो प्रलोभनलाई लत्याएर देशको स्वाभिमान र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ भन्ने पाठ धेरैका लागि अनुकरणीय नै छ । यो एउटा देशभक्तिको उच्च भाव मान्न सकिन्छ ।
सामरिक यथार्थवादः युद्धमा होमिनुअघि प्रशासनिक तयारी र स्रोतको क्षमता आंकलन गर्नुपर्छ भन्ने चेत थियो त्यसैले अमरसिंह थापाले सुरुमा अंग्र्रेजसँग युद्ध नगर्न सल्लाह दिएका थिए ।
नैतिक नेतृत्व र निष्ठाः कठिन परिस्थितिमा पनि अडिग रहने, मनोबल नगुमाउने र मातृभूमिको रक्षाका लागि समर्पित हुने उच्च देशभक्ति अमरसिंह थापाबाट सिक्न सकिने महत्वपूर्ण पाठ हो ।
अमरसिँह थापाको भूमिका
युद्धका क्रममा उनले काली नदीदेखि सतलजसम्मको उत्तर–पश्चिमी क्षेत्रमा अंग्र्रेज सेनाविरुद्ध नेतृत्व गर्नुभयो । उनको मुख्य काम थियोः
गढी र किल्लाहरूको सुरक्षा — जमुनाको पूर्वतिर, शिमला, काँगडा, जम्मुतिरका भूभागको रक्षा गरे ।
छापामार रक्षात्मक रणनीति — अंग्रेजको ठूलो, लामो दुरी सम्बोधन गर्ने र सुसज्जित सेना हुँदाहुँदै पनि पहाडी क्षेत्रको हिसाब खोजेर प्रतिरोध गरेका थिए । युद्धलाई तल तान्ने÷लामो बनाउने नीति अख्तियार गरेर समय निकालेर मुख्य सैन्य एकाइलाई बचाउने काम गरे । उनले मलाउ र वरपरका किल्लाहरूमा बलियो प्रतिरोध गरे । तर नेपाली सेना आधुनिक हतियार, प्रशिक्षण र आपूर्तिमा कमजोर थियो ।
कमजोरीका मुख्य कारणहरू
१.सैन्य प्रविधिमा अन्तरः अंग्र्रेजसँग आधुनिक तोप, बन्दुक र व्यवस्थित फौज थियो; नेपाली सेना परम्परागत खुकुरी र सीमित आधुनिक हतियारमा भर पर्ने थियो ।
२.रसद (आपूर्ति) समस्याः पहाडी क्षेत्रमा खाद्यान्न, गोलाबारुद र औषधिको पुर्याउने व्यवस्था कमजोर थियो, जसले गर्दा दीर्घकालीन युद्ध सम्भव भएन ।
३.आन्तरिक विभाजन/शीर्ष नेतृत्वको कमजोरीः युद्धका बेला नेपालको केन्द्रीय सत्तामा भीमसेन थापाको वर्चस्व हुँदा पनि विभिन्न क्षेत्रीय नेतृत्वबीच समन्वय र एकता पर्याप्त थिएन ।
४.दुई मोर्चामा एकैसाथ युद्धः नेपालले पूर्व (मकवानपुर–काठमाडौंतिर) र पश्चिम दुवैतिर लड्नुपर्यो, जसले स्रोत र मानवशक्ति दुवै बाँडिनु पर्यो ।
५.कूटनीतिक अलगावः नेपालले बाहिरी सहयोग वा गठबन्धन पाएन, जबकि अंग्र्रेजसँग भारतका स्थानीय रियासतका सहयोग थियो ।
अन्त्यमा सन् १८१६ को सुगौली सन्धि मार्फत नेपालले काली–मेचीभन्दा पश्चिमका तराई, कुमाऊँ, गढवाल र सिक्किमका भूभाग गुमायो । तर अमरसिँह थापाको रणनीतिले नेपाली सेनाको साहस र रक्षात्मक क्षमताको सम्मान गराएको मानिन्छ; त्यसैकारण अंग्रेजले पछि नेपाली युवाहरूलाई आफ्नो सेनामा भर्ना गर्ने नीति बनाए ।
आधुनिक सैन्य नीतिमा अमरसिंहको प्रासंगिकता
अमरसिँह थापाको सैन्य अनुभव र रणनीति आजको आधुनिक सैन्य नीतिमा पनि धेरै किसिमले प्रासंगिक छन् । प्रमुख बुँदाहरू यस प्रकार छन् :
१. रक्षात्मक रणनीतिमा भूगोलको प्रयोगः उनले पहाडी भू–बनोटलाई आफ्नो फाइदाका रूपमा उपयोग गरे । यो सिद्धान्त आज पनि उत्तिकै महत्त्वपूर्ण छ । दुनियाँभरका रक्षा नीतिहरूमा आफ्नो भूगोलको प्राकृतिक अवरोध (नदी, पहाड, उचाइ) लाई रक्षात्मक लाभमा परिणत गर्ने अवधारणा गहिरो रूपमा प्रयोग हुन्छ । नेपालजस्तो भू–परिवेष्ठित र पहाडी मुलुकका लागि यो झन् सान्दर्भिक छ ।
२. सीमित स्रोतमा प्रभावकारी व्यवस्थापनः अंग्र्रेजको ठूलो र सुसज्जित फौजसँग लड्दा पनि उनले सीमित सैन्य र रसदबाट कुशलता देखाए । आधुनिक सन्दर्भमा यसको अर्थ ठूलो बजेटभन्दा पनि स्मार्ट विनियोजन, रसदको दक्ष व्यवस्थापन, र मानव स्रोतको अधिकतम उपयोग, कम स्रोत भएका मुलुकहरूका लागि यो मूल्यवान पाठ हो ।
३. कूटनीति र सैन्य शक्तिको सन्तुलनः सुगौली सन्धिपछि नेपालले शक्तिशाली छिमेकीसँग द्वन्द्वभन्दा कूटनीति र तटस्थताको बाटो रोज्यो । उनको अनुभवबाट सिकेको यो पाठ आधुनिक नेपाली सैन्य तथा विदेश नीतिमा दुई ठूला छिमेकीबीच सन्तुलनको रणनीतिसँग प्रत्यक्ष जोडिन्छ । यानी, सैन्य तयारी कायम राख्दै कूटनीतिमार्फत द्वन्द्वबाट बच्नु अर्को महत्वपूर्ण पाठ हो ।
४. आफ्नै सेनामा विश्वास र मनोबलः उनले सीमित प्रविधिको बाबजुद पनि आफ्ना सैनिकको मनोबल उच्च राखे र लडाकू क्षमताको विश्वसनीय प्रदर्शन गर्नु भयो । यसबाट अंग्र्रेजले नेपाली सैनिकको व्यावसायिकता स्वीकार गर्यो । जुन आज विश्वभरका सेनामा गोर्खा भर्नाको आधार बन्यो । यो आधुनिक सैन्य नीतिमा “मानव संसाधन र मनोबल नै प्रविधिभन्दा ठूलो सम्पत्ति” भन्ने सिद्धान्तकै उदाहरण हो ।
५. आन्तरिक एकता र समन्वयको आवश्यकताः उनको अनुभवले देखायो कि आन्तरिक विभाजन र समन्वयको कमीले राम्रो रणनीति पनि असफल हुनसक्छ । आधुनिक सैन्य संगठनमा पनि विभिन्न एकाइहरूबीच एकीकृत कमान, स्पष्ट नेतृत्व–शृंखला र सूचना–साझेदारीको सिद्धान्त यसैबाट व्युत्पन्न भएको मान्न सकिन्छ ।
सारमा, उनको अनुभवको मूल सन्देश भनेको भूगोल, कूटनीति, स्रोत–व्यवस्थापन र मानवीय मनोबलको सही समन्वय नै बलियो राष्ट्रिय सुरक्षा नीतिको आधार हो । यी मूल्य आज पनि नेपालको रक्षा तथा सुरक्षा नीति निर्माणमा उत्तिकै मार्गदर्शक बन्न सक्छन् ।
निष्कर्ष
अमरसिंह थापा त्यस्ता विभूतिमध्ये एक हुन् । जस्को स्मरण मात्रले पनि प्रत्येक देशभक्त नेपालीको मन गर्वले भरिन्छ । उनकोे जीवन केवल एउटा सैनिकको कथा मात्र होइन, राष्ट्रप्रेम, आत्मसम्मान, त्याग र अदम्य साहसको अनुपम उदाहरणको रुपमा लिन सकिन्छ । बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य रणनीति सैन्य रणनीतिको इतिहासमा एक उत्कृष्ट मोडेल मानिन्छ । उनले युद्धलाई केवल हतियारको लडाइँ नमानी भूगोल, जनता, कूटनीति, र सुशासनको एकीकृत शक्तिका रूपमा प्रयोग गरे । यही रणनीतिका कारण नेपालले सुगौली सन्धि हुनुअघि पश्चिमतर्फ सतलज नदीसम्म आफ्नो सीमा विस्तार गर्न सफल भएको थियो । बुबाको मृत्यु पछि मरुहट प्राप्त गरी दरबारमै हुर्केकोले अमरसिंहमा पृथ्वीनारायण शाहको गहिरो प्रभाव परेको देखिन्छ ।
अमरसिँह थापाको समग्र सैन्य रणनीति सम्बन्धी चुनौतिहरूमा भौगोलिक बाधाको अभाव, संचारको दुर्बलता, र सैन्य सामग्रीको कमी थियो । उनले नेपाल–अंग्र्रेज युद्ध र नेपाल–तिब्बत युद्धमा दृढ सैन्य प्रतिरोध गर्ने रणनीति अपनाएका थिए । सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको सैनिक र नागरिक सहयोगको महत्व र आन्तरिक एकताको आवश्यकता हो । उनको नेतृत्वले नेपालको भूभाग सुरक्षित राख्न मद्दत गर्यो र आधुनिक नेपाली सैन्य व्यवस्थाको आधार निर्माण गर्यो । उनको सैन्य रणनीतिलाई संसारभरी नै एउटा नमूनाको रुपमा हेरिन्छ ।
वि.सं.२०८३ भदौ ४ बिहीवार ११:५४ मा प्रकाशित






























