काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा, कुल तथा खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ।
कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नाफा ५७ करोड १ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा २.१८ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा जीवन बीमा कोष ३२.१४ प्रतिशतले बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कुल बीमाशुल्क आर्जन ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यससँगै कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २५.५६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष यस्तो रकम ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ थियो।
वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११.२१ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ईपीएस १०।९७ रुपैयाँ थियो। कम्पनीको पीई रेसियो ३९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.४९ रुपैयाँ कायम भएको छ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ रहेको छ।
रिलायबल नेपाल लाइफको समीक्षा वर्षको वित्तीय विवरणले बीमा व्यवसाय विस्तार, बीमाशुल्क आर्जन तथा जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भए पनि नाफाको वृद्धि तुलनात्मक रूपमा सीमित रहेको देखाएको छ ।
वि.सं.२०८३ भदौ ४ बिहीवार १२:१२ मा प्रकाशित





























