राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक दिन केहि न केही नयाँ र फरक प्रस्तुती वा कार्यले चर्चित हुने व्यक्ति हुन् । खास गरी यो लेखमा श्रावण महिनाको अन्तिम सोमबार खाली खुट्टामा हिँडेको तस्बिरका सन्दर्भमा हो । खाली खुट्ता संसद जाँदै गरेको उनको तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसलाई लिएर समर्थन र आलोचना दुवै देखियो। यो खाली खुट्टे हिँडाइ पुराना कांग्रेसी नेता तथा सांसद शंकर पाण्डेको शैलीजस्तो भने थिएन। तर सामाजिक सञ्जालमा चर्चामा रहन केही न केही गर्ने वा अभिव्यक्ति दिइरहने तामाङको स्वभावलाई हेर्दा उनको त्यो तस्बिर पनि धेरैका लागि बहसको विषय बन्नु अस्वाभाविक होइन।
सांसद हुनुअघि नै पसल तथा बजार अनुगमन, सार्वजनिक बेथिति, सरकारी कार्यालयमा छड्के, कर्मचारीको व्यवहारमाथि प्रश्न, सार्वजनिक शुल्कको निगरानी, सवारीसाधनमा सोधपुछदेखि विमानस्थल प्रवेश टिकट र सरसफाइसम्मका विषयमा उनी प्रत्यक्ष रूपमा सक्रिय देखिन्थिन्। उनका यस्ता गतिविधिले उनलाई परम्परागत राजनीतिको सीमाभन्दा बाहिरबाट सार्वजनिक बहसमा ल्यायो। कतिपयले यसलाई सक्रिय नागरिक हस्तक्षेपका रूपमा लिए भने कतिपयले ‘लोकप्रियता खोज्ने शैली’का रूपमा टिप्पणी गरे।
बाटोमा पिसाब फेर्नेलाई कान उठबस गराउनेदेखि कडा भाषामा कारबाहीको चेतावनी दिनेसम्मका उनका अभिव्यक्ति चर्चामा आए। काठमाडौं र भक्तपुरमा अभद्र व्यवहार तथा सार्वजनिक अपराधसम्बन्धी घटनामा उनी हिरासतमा समेत बसेकी थिइन्। सांसद भइसकेपछि पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर स्थानीय तह र सरकारी कार्यालयलाई निर्देशन दिने गरेको भन्दै उनको आलोचना हुने गरेको छ।
केही वर्षअघि ‘जनावरको हत्या गर्नु, खानु तर घरपरिवार, घरबार नभएका खसी–खसीनीलाई हत्या गर्नू’ भन्ने आशयको अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा ट्रोलको विषय बनेकी थिइन्। त्यसपछि उनी ‘खसीनी दिदी’का रूपमा समेत चर्चित भइन्।
संसाद तामाङले नेपालको संविधान हातमा लिएर हिन्दी गीतमा अभिनय गरेको भिडिओ भाइरल भएपछि त्यसको आलोचना पनि भयो ।
तर श्रावणको अन्तिम सोमबारको खाली खुट्टे हिँडाइलाई भने कसैले धार्मिक आस्था र व्यक्तिगत विश्वासका रूपमा लिएका छन् भने कतिपयले सार्वजनिक चर्चामा रहन खोज्ने उनको शैलीकै निरन्तरताका रूपमा टिप्पणी गरेका छन्।
तामाङले भने आलोचनाको जवाफ दिँदै खाली खुट्टा हिँड्नु आफ्नो धार्मिक आस्था भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “हिजो श्रावण महिनाको अन्तिम सोमबार थियो । विरोध नै गर्नु परे मेरो कामलाई गर्नु, मैले मान्ने धर्म र आस्थाप्रति होइन।” उनले आफू खाली खुट्टा हिँड्दा अरूलाई असर के परेको भन्दै प्रश्नसमेत गरेकी छन्।
आस्था कि स्टन्ट ?
यही प्रश्न यो लेखको बहसको केन्द्र हो । श्रावण महिनाको अन्तिम सोमबार हिन्दू धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण दिन मानिन्छ। व्रत बस्ने, पूजा गर्ने, मन्दिर जाने, नाङ्गो खुट्टा हिँड्ने लगायतका धार्मिक अभ्यास व्यक्तिको आस्था र परम्परासँग जोडिएका विषय हुन्। त्यसैले कुनै व्यक्तिले आफ्नो धार्मिक विश्वासअनुसार खाली खुट्टा हिँड्नु आफैंमा असामान्य वा गैरकानुनी विषय होइन।
धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले ‘म मेरो आस्थाअनुसार हिँड्छु, अरूलाई किन टाउको दुख्ने ?’ भन्ने तामाङको तर्कलाई पनि अस्वीकार गर्न मिल्दैन। तर यहाँ एउटा अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ—सार्वजनिक पदमा पुगेपछि व्यक्तिको निजी व्यवहार र सार्वजनिक प्रस्तुतिबीचको सीमा कहाँसम्म रहन्छ ?
सांसद सार्वजनिक व्यक्तित्व हुन्। उनीहरूले सार्वजनिक रूपमा गर्ने गतिविधि, अभिव्यक्ति र व्यवहार स्वाभाविक रूपमा जनताको चासोको विषय बन्छ। त्यसैले आलोचना हुनु पनि लोकतान्त्रिक समाजमा अस्वाभाविक होइन। आस्था व्यक्तिगत हुन सक्छ, तर सार्वजनिक व्यक्तिको सार्वजनिक प्रस्तुति भने पूर्णतः निजी रहँदैन।
नकारात्मक कुरा किन बढी भाइरल हुन्छ ?
कोहि व्यक्ति प्राय नकरात्मक कुरा नै बढी सञ्जालमा राख्दछ । लाग्न सक्छ यो कतै व्यक्तिमा कुनै मानसिक समस्या पो आएको हो की तर होइन, उनीहरु जानाजान नकरात्मक कुराबाट सकरात्मक परिणाम खोज्न चाहन्छन् । सामाजिक सञ्जालमा नकारात्मक सामग्री छिटो फैलिनु केवल अनुमान होइन, यसबारे विभिन्न वैज्ञानिक अध्ययन भएका छन्। अनुसन्धानहरूले देखाएका छन् कि मानिसलाई रिस, डर, चिन्ता वा उत्तेजित बनाउने सामग्रीले सामान्य वा कम भावनात्मक सामग्रीभन्दा बढी प्रतिक्रिया उत्पन्न गर्न सक्छ। २०१२ मा Berger र Milkmanले गरेको अध्ययनले अनलाइन सामग्रीको भाइरलिटीमा भावनात्मक उत्तेजनाको महत्वपूर्ण भूमिका हुने देखाएको थियो। विशेषगरी रिस, चिन्ता र आश्चर्यजस्ता उच्च उत्तेजना पैदा गर्ने भावनाले सामग्रीको प्रसार बढाउने देखिएको थियो।
यसको अर्थ नकारात्मक कुरा मात्रै भाइरल हुन्छ भन्ने होइन। सकारात्मक तर उच्च भावनात्मक उत्तेजना पैदा गर्ने सामग्री पनि उत्तिकै तीव्र रूपमा फैलिन सक्छ। तर रिस, आक्रोश, डर, विवाद र अन्यायजस्ता विषयले मानिसलाई तत्काल प्रतिक्रिया दिन प्रेरित गर्ने भएकाले सामाजिक सञ्जालमा तिनको फैलावट तीव्र हुने सम्भावना हुन्छ।
सिधा सिधा कुरा मात्र लेख्दा मान्छेहरुले एक त पढ्दैनन, पढेपनि लाइक, कमेन्ट गर्दैनन, तर बाङ्गो र नकरात्मक टिप्पणीमा मान्छेहरु रिसाउँछन् र कुनै न कुनै टिप्पणी गरिहाल्छन्, त्यसैले केहि मान्छेहरु जानाजाान त्यस्तै कमेन्टहरु राख्ने गर्दछन् ।
पछिल्लो ठूलो अध्ययनले पनि नकारात्मक समाचारका लिंकहरू सामाजिक सञ्जालमा सकारात्मक समाचारभन्दा उल्लेख्य रूपमा बढी सेयर हुने देखाएको छ। विशेषगरी राजनीतिक विषयमा आफूले विरोध गर्ने पक्षसँग जोडिएको नकारात्मक सामग्री अझ बढी फैलिने गरेको पाइन्छ।
यही कारणले सामाजिक सञ्जालको राजनीतिमा ‘राम्रो काम’ भन्दा ‘विवादास्पद काम’ तत्काल चर्चामा आउने अवस्था देखिन्छ। कुनै नेताले वर्षभरि गरेको नीतिगत कामभन्दा एउटा विवादास्पद अभिव्यक्ति, कर्मचारीसँग भएको भनिएको दुर्व्यवहार, असामान्य दृश्य वा आक्रोशपूर्ण भिडियोले केही घण्टामै हजारौँ मानिसको ध्यान तान्न सक्छ।
यसले राजनीतिक व्यक्तिका लागि एउटा जोखिम पनि सिर्जना गर्छ—चर्चा र प्रभावलाई एउटै कुरा ठान्ने जोखिम। सामाजिक सञ्जालमा धेरै पटक देखिनु लोकप्रियताको संकेत हुन सक्छ, तर त्यो लोकप्रियता जनविश्वास, नीतिगत उपलब्धि वा राजनीतिक सफलतामा रूपान्तरण हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।
सामाजिक सञ्जाल र ‘भाइरल राजनीति’
आजको राजनीतिमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदान गर्ने माध्यम मात्र रहेन। यो राजनीतिक छवि निर्माण गर्ने, जनमत प्रभावित गर्ने र तत्काल लोकप्रियता हासिल गर्ने शक्तिशाली माध्यम बनेको छ।
असामान्य वा फरक काम गर्ने, त्यसको फोटो वा भिडियो सार्वजनिक गर्ने, विवादास्पद अभिव्यक्ति दिने, छोटो तर चर्को टिप्पणी गर्ने, स्थापित मान्यता वा लोकप्रिय व्यक्तिमाथि प्रश्न उठाउने, भावनात्मक विषयलाई समात्ने र धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ।
राजनीतिमा ‘कन्टेन्ट’ र ‘पोलिटिक्स’बीचको दूरी घट्दै गएको छ। एउटा फोटो, एउटा छोटो भिडियो वा एउटा वाक्यले घण्टौँको राजनीतिक भाषणभन्दा धेरै चर्चा पाउन सक्छ। यही कारणले नेताहरूले जनतासँग जोडिन सामाजिक सञ्जाल प्रयोग गर्नु स्वाभाविक भए पनि, कहिलेकाहीँ ‘चर्चा नै उपलब्धि’ बन्ने खतरा पनि बढेको छ।
क्यामेरा पुग्ने सम्भावना भएका ठाउँमा प्रतीकात्मक गतिविधि गर्ने, सरकारी कर्मचारी वा राजनीतिक नेतृत्वलाई सार्वजनिक रूपमा प्रश्न गर्ने, कडा भाषामा प्रतिक्रिया दिने, व्यक्तिगत जीवनका क्षणहरू सार्वजनिक गर्ने र रिल्स तथा छोटा भिडियोमार्फत आफ्नो उपस्थिति देखाउने प्रवृत्ति अहिले धेरै राजनीतिक व्यक्तिमा देखिन्छ।
यसको सकारात्मक पक्ष पनि छ। यसले जनप्रतिनिधिलाई जनतासँग प्रत्यक्ष जोड्छ। समस्या तत्काल सार्वजनिक हुन्छ। परम्परागत राजनीतिको घुमाउरो भाषाभन्दा नागरिकले बुझ्ने सरल भाषामा प्रश्न उठाउन सकिन्छ।
तर यसको नकारात्मक पक्ष पनि उत्तिकै गम्भीर छ। यदि हरेक राजनीतिक गतिविधिको मूल्याङ्कन त्यसले कति लाइक, सेयर वा भ्यु पायो भन्ने आधारमा हुन थाल्यो भने नीति, कानुन र संस्थागत काम ओझेलमा पर्न सक्छ।
को हुन् आशिका, किन बढी चर्चामा ?
धादिङको मलेखुमा ग्रामीण परिवेशमा हुर्किएकी आशिका तामाङले आम मानिसले भोग्ने समस्या नजिकबाट नियाल्ने अवसर पाइन्। पेशाले नर्स रहेकी उनी विवाहपछि जर्मनीमा बस्दै आएकी थिइन्। उनी दुई सन्तानकी आमा हुन्। सन् २०२४ मा आफ्ना सन्तानसहित नेपालमा स्थायी रूपमा बसोबास गर्न आएको बताइन्छ।
नेपाली राजनीतिक वृत्तमा तामाङ परम्परागत राजनीतिक पृष्ठभूमिबाट भन्दा सामाजिक तथा सार्वजनिक गतिविधि र सामाजिक सञ्जालमार्फत चर्चामा आएकी व्यक्तित्वका रूपमा चिनिन्छिन्। राजनीतिमा सक्रिय हुनुअघि नै उनले सामाजिक विषयमा आफ्ना धारणा राख्दै आएकी थिइन्। अभिनय क्षेत्रमा समेत काम गरिसकेकी उनलाई सामाजिक सञ्जालमा प्रस्तुत हुन र दर्शकको ध्यान तान्न कठिन देखिँदैन।
राजनीतिमा आएपछि पनि उनले परम्परागत राजनीतिक भाषाभन्दा सामाजिक सञ्जालमा सहज, प्रत्यक्ष र आक्रामक शैलीलाई प्राथमिकता दिएकी छन्। यसले उनलाई विशेषगरी युवा पुस्ता र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ छुट्टै पहिचान बनाउन सहयोग गरेको छ।
उनका समर्थकहरू उनको शैलीलाई ८८‘नडराई सत्य बोल्ने शैली’८८का रूपमा व्याख्या गर्छन्। उनीहरूका अनुसार परम्परागत राजनीतिज्ञजस्तो घुमाउरो भाषा प्रयोग नगरी जनताको समस्या सिधै उठाउनु उनको सकारात्मक पक्ष हो।
तर आलोचकहरूको तर्क फरक छ। उनीहरूका अनुसार सांसद भइसकेपछि सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया दिनेभन्दा नीति, कानुन, संसद् र दीर्घकालीन परिणाममा केन्द्रित हुनु जनप्रतिनिधिको मुख्य जिम्मेवारी हो।
सांसद भएपछि बदलिनुपर्ने भूमिका
आशिका तामाङको चर्चा केवल उनको सामाजिक सञ्जालको सक्रियताका कारण मात्र होइन। उनी अहिले निर्वाचित जनप्रतिनिधि हुन्। सांसद भइसकेपछि उनको भूमिकामा ठूलो परिवर्तन आएको छ।
पहिले उनी सामाजिक अभियन्ताका रूपमा कुनै कार्यालयमा गएर प्रश्न गर्न सक्थिन्, कर्मचारीलाई सार्वजनिक रूपमा जवाफ माग्न सक्थिन् वा कुनै बेथितिमाथि तत्काल प्रतिक्रिया दिन सक्थिन्। तर सांसद भएपछि उनीसँग कानुन निर्माण, नीति निर्माण, संसद्मा जनताको आवाज उठाउने र संवैधानिक दायित्व निर्वाह गर्ने जिम्मेवारीसमेत जोडिएको छ।
त्यसैले सांसदका रूपमा उनको हरेक गतिविधिलाई अब फरक मापदण्डबाट हेर्नुपर्छ। सामाजिक अभियन्ताले उठाएको प्रश्न र सांसदले उठाएको प्रश्नको राजनीतिक तथा संस्थागत वजन एउटै हुँदैन। सांसदको एउटा शब्दले कुनै कर्मचारी, संस्था वा व्यक्तिमाथि प्रभाव पार्न सक्छ। त्यसैले लोकप्रियतासँगै जिम्मेवारी र संयम पनि बढ्नुपर्छ।
रास्वपाका सांसदको फरक शैली
यो बहस आशिका तामाङमा मात्र सीमित छैन। रास्वपाका केही सांसदहरू परम्परागत राजनीतिक शैलीभन्दा फरक प्रस्तुति, प्रत्यक्ष संवाद र सामाजिक सञ्जाल केन्द्रित राजनीतिका कारण चर्चामा आउने गरेका छन्।
प्रधानमन्त्री स्वयं सामाजिक सञ्जालको लोकप्रियताबाट काठमाडौँ महानगरपालिकाको मेयर हुँदै प्रधानमन्त्रीको जिम्मेवारीसम्म पुगेका हुन्। त्यसैले सामाजिक सञ्जाल उनका लागि राजनीतिक अभिव्यक्तिको महत्वपूर्ण माध्यम हुनु स्वाभाविक पनि होला। तर प्रधानमन्त्रीजस्तो जिम्मेवार संवैधानिक पदमा पुगेपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिनु र आमनेसामने उपस्थित भएर जनताका प्रश्नको सामना गर्नु एउटै कुरा होइन। उनी कतिपय महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद र प्रश्नोत्तरबाट पन्छिएर सामाजिक सञ्जालमार्फत जवाफ दिने शैली अपनाइरहेका देखिन्छन्। यसलाई व्यक्तिगत स्वभाव वा सञ्चारको आफ्नै शैलीका रूपमा बुझ्न सकिएला, तर सार्वजनिक पदको जवाफदेहिता र पारदर्शिताको दृष्टिले भने यसले गम्भीर प्रश्न उठाउँछ।
‘जान्नेलाई छान्ने’ नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूको अभिव्यक्ति पनि पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना, विवाद र टिप्पणीको विषय बन्ने गरेको छ। जनतासँग प्रत्यक्ष संवाद, संसदमा तथ्यपूर्ण बहस र नीतिगत हस्तक्षेपभन्दा सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया दिने शैली नै राजनीतिक अभिव्यक्तिको प्रमुख माध्यम बन्दै गएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। अझ कतिपय अवस्थामा सामाजिक सञ्जालमा दिइएका अभिव्यक्तिलाई नै राजनीतिक जवाफ र सार्वजनिक बहसको विकल्प ठान्ने प्रवृत्ति देखिँदा, यो जनप्रतिनिधिको जवाफदेहिता हो कि सामाजिक सञ्जालमार्फत चलाइएको ‘मिडिया ट्रायल’—भन्ने बहससमेत स्वाभाविक रूपमा जन्मिन्छ।
हिजो के बोलेँ, आज के बोल्दैछु र भोलि के बोल्नुपर्ला भन्ने राजनीतिक हिसाबकिताबभन्दा तत्काल प्रतिक्रिया दिने शैली उनीहरूमा बढी देखिन्छ। यसको एउटा पक्ष सकारात्मक पनि छ—राजनीतिमा डर नमानी प्रश्न गर्ने, पुराना अभ्यासमाथि चुनौती दिने र नागरिकका दैनिक समस्यालाई राजनीतिक बहसमा ल्याउने साहस ।
तर सार्वजनिक व्यक्तिका लागि निरन्तर अपडेट हुनु भनेको केवल सामाजिक सञ्जालमा नयाँ विषय ल्याउनु होइन। आफ्नो भूमिका, संवैधानिक दायित्व, सार्वजनिक जवाफदेहिता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई परिमार्जन गर्नु पनि हो।
यदि सामाजिक सञ्जालमा देखिने हरेक गतिविधि जनताको वास्तविक समस्या उठाउने माध्यम बन्छ भने त्यो राजनीति हो। तर जनताको समस्या समाधान गर्ने कामभन्दा दृश्य सिर्जना गर्ने काम बढी महत्वपूर्ण बन्न थाल्यो भने त्यसलाई ‘स्टन्ट राजनीति’ भन्ने आलोचनाबाट बचाउन कठिन हुन्छ।
उनले जनताको आवाज उठाउने आफ्नो निर्भीक शैलीलाई कायम राख्दै त्यसलाई नीति, कानुन र संस्थागत परिणामसँग जोड्न सकिन् भने उनको शैली नेपाली राजनीतिमा नयाँ प्रयोग बन्न सक्छ। तर यदि हरेक गतिविधिको केन्द्र ‘मिडियामा कसरी आउने’ र ‘सामाजिक सञ्जालमा कसरी भाइरल हुने’मै सीमित भयो भने उनको राजनीतिक पहिचान पनि त्यही सीमामा बाँधिनेछ। राजनीतिमा चर्चा पाउनु सजिलो हुन सक्छ, तर चर्चा पाएको व्यक्तिले त्यसलाई जनविश्वासमा बदल्नु कठिन हुन्छ ।
त्यसैले आशिका तामाङको खाली खुट्टे हिँडाइ आस्था हो कि स्टन्ट भन्ने अन्तिम फैसला एउटा तस्बिरले गर्ने होइन। त्यो फैसला उनका आगामी कामले गर्नेछ—संसद्मा उनले कति प्रश्न उठाउँछिन् भन्नेले होइन, ती प्रश्नबाट कति नीति बदलिन्छन् भन्नेले हुन्छ। किनकि जनप्रतिनिधिको वास्तविक परीक्षा सामाजिक सञ्जालमा कति चर्चित भयो भन्नेमा होइन, जनताको जीवनमा कति प्रभाव पार्न सक्यो भन्नेमा हुन्छ।
वि.सं.२०८३ साउन २९ शुक्रवार १५:४० मा प्रकाशित





























