धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण
विश्वका विभिन्न देशहरूको आर्थिक अवस्था र धार्मिक जीवनलाई तुलना गर्दा एउटा रोचक प्रश्न उठ्छ—के कुनै समाजमा धार्मिक गतिविधि बढी हुनु आर्थिक समृद्धिको सूचक हो वा गरिबीको? अथवा यी दुईबीच देखिने सम्बन्ध केवल संयोग मात्र हो ? यो प्रश्नको उत्तर सरल छैन। किनभने कुनै पनि राष्ट्रको आर्थिक विकास एउटै कारणले होइन, शिक्षा, सुशासन, वैज्ञानिक अनुसन्धान, प्रविधि, राजनीतिक स्थिरता, ऐतिहासिक पृष्ठभूमि, सामाजिक संरचना तथा संस्थागत क्षमताजस्ता अनेकौँ कारकहरूको संयुक्त प्रभावबाट निर्धारित हुन्छ।
यद्यपि अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले धार्मिक गतिविधि र आर्थिक अवस्थाबीच केही उल्लेखनीय प्रवृत्तिहरू देखाउँछन्। ती प्रवृत्तिको वस्तुगत विश्लेषण गर्नु आवश्यक छ। यस लेखको उद्देश्य कुनै धर्मको पक्ष वा विपक्षमा तर्क गर्नु होइन; बरु उपलब्ध तथ्याङ्क, अनुसन्धान र सामाजिक अध्ययनका आधारमा धार्मिक गतिविधि, शिक्षा, आर्थिक विकास तथा सामाजिक चेतनाबीचको सम्भावित सम्बन्धलाई विश्लेषण गर्नु हो।
धार्मिक गतिविधि र आर्थिक समृद्धि
विश्व बैंकले जुलाई २०२६ मा प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपालको प्रतिव्यक्ति वार्षिक औसत आय १,५३६ अमेरिकी डलर रहेको छ। यही अवधिमा जापानको प्रतिव्यक्ति आय ३५,९५१ अमेरिकी डलर र जर्मनीको ६०,४९६ अमेरिकी डलर पुगेको छ। त्यसैगरी कुल गार्हस्थ उत्पादन (GDP) का आधारमा जापानको अर्थतन्त्र नेपालको भन्दा करिब ९७ गुणा र जर्मनीको करिब ११० गुणा ठूलो रहेको छ।
प्यू रिसर्च सेन्टर (Pew Research Center, २०२५) को अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने जनसंख्या नेपालमा गरिब ८० प्रतिशत, जर्मनीमा १७ प्रतिशत र जापानमा केवल ७ प्रतिशत रहेको छ।
त्यसैगरी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का हालैका तथ्याङ्कअनुसार विश्वका सबैभन्दा गरिब देशहरूमध्ये यमन, अफगानिस्तान र दक्षिण सुडानको प्रतिव्यक्ति वार्षिक आय करिब ४२० देखि ४७० अमेरिकी डलरको बीचमा छ। यी देशहरूमा भने करिब ९९ प्रतिशत जनसंख्याले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भागका रूपमा लिने गरेका छन्।
यी तथ्याङ्कहरूले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछन्—धार्मिक गतिविधि र आर्थिक समृद्धिबीच वास्तवमै कुनै सम्बन्ध छ? यदि छ भने त्यो सम्बन्ध कस्तो प्रकारको हो? के धार्मिक गतिविधिले कुनै देशलाई समृद्ध वा गरिब बनाउँछ वा आर्थिक तथा सामाजिक अवस्थाले धार्मिक गतिविधिलाई प्रभावित गर्छ?
यी प्रश्नको उत्तर खोज्नुअघि एउटा आधारभूत कुरा स्पष्ट गर्न आवश्यक छ। धर्म र धार्मिक गतिविधि एउटै अवधारणा होइनन्। यी दुईलाई समानार्थी रूपमा प्रयोग गर्दा निष्कर्ष भ्रमपूर्ण हुन सक्छ।
यस लेखमा धर्म भन्नाले नैतिकता, विवेक, मानवीय मूल्य, सांस्कृतिक पहिचान तथा समुदायसँगको सम्बन्धलाई जनाउने व्यापक अवधारणालाई बुझिएको छ। यस्ता मूल्यहरूले सहिष्णु, उत्तरदायी र सहयोगी समाज निर्माणमा सकारात्मक योगदान दिन सक्छन्।
यसको विपरीत धार्मिक गतिविधि भन्नाले नियमित पूजा–प्रार्थना, धार्मिक अनुष्ठानमा सहभागिता, धार्मिक संस्थासँग आबद्धता तथा धर्मलाई व्यक्तिगत जीवनको अत्यन्त महत्त्वपूर्ण पक्षका रूपमा लिने व्यवहारलाई जनाउँछ। यस लेखभरि विश्लेषणको केन्द्र धार्मिक गतिविधि (religiosity) हो, धर्मको दार्शनिक वा नैतिक पक्ष होइन।
विश्वका विभिन्न देशमा धार्मिक गतिविधिको अवस्था
प्यू रिसर्च सेन्टर (२०२५) ले प्रकाशित गरेको आध्यात्मिक तथा धार्मिक अभ्यास (Spiritual and Religious Practices) सम्बन्धी अध्ययनले विश्वका विभिन्न समाजबीच धार्मिक गतिविधिमा ठूलो भिन्नता रहेको देखाउँछ। बंगलादेश, पाकिस्तान र नाइजेरियाजस्ता देशहरूमा ९० देखि ९७ प्रतिशत जनसंख्याले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्छन्। यी देशहरूमा दैनिक प्रार्थना गर्ने तथा धार्मिक कार्यक्रममा नियमित रूपमा सहभागी हुनेहरूको संख्या पनि उल्लेखनीय रूपमा उच्च छ।
यसको विपरीत जापान, स्विडेन र चेक गणतन्त्रजस्ता देशहरूमा धर्मलाई जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने जनसंख्या सामान्यतः ७ देखि १५ प्रतिशतको बीचमा मात्र छ। दैनिक प्रार्थना गर्ने वा धार्मिक गतिविधिमा नियमित रूपमा सहभागी हुनेहरूको अनुपात पनि निकै न्यून रहेको पाइन्छ।
यी तथ्याङ्कहरूले एउटा समान प्रवृत्ति देखाउँछन्। कम आय भएका धेरै देशहरूमा धार्मिक गतिविधिको स्तर उच्च छ भने उच्च आय भएका धेरै देशहरूमा धार्मिक गतिविधि तुलनात्मक रूपमा कम छ।
धार्मिक गतिविधि र शिक्षा
धार्मिक गतिविधि र शिक्षाबीचको सम्बन्ध बुझ्नुअघि शिक्षा (Education), ज्ञान (Knowledge) र चेतना (Consciousness/Awareness) बीचको भिन्नता स्पष्ट रूपमा बुझ्न आवश्यक छ। यी तीन अवधारणाबीच घनिष्ठ सम्बन्ध भए पनि तिनीहरू समानार्थी होइनन्। धेरै शिक्षित, डिग्री लिएका वा पढे-लेखेका व्यक्ति स्वतः बढी चेतनशील हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
शिक्षा भनेको औपचारिक वा अनौपचारिक सिकाइको प्रक्रिया हो- जसबाट व्यक्तिले ज्ञान, सीप र विश्लेषणात्मक क्षमता विकास गर्छ। ज्ञान भनेको अध्ययन, अनुभव, अनुसन्धान र अवलोकनबाट प्राप्त हुने बुझाइ हो- जुन औपचारिक शिक्षाबिना पनि हासिल गर्न सकिन्छ। चेतना भने त्यो ज्ञानलाई विवेक, नैतिकता, प्रमाण र मानवीय मूल्यका आधारमा व्यवहारमा रूपान्तरण गर्ने क्षमता हो। चेतनशील व्यक्तिले परम्परा वा प्रचलित मान्यतालाई अन्ध रूपमा स्वीकार गर्दैन; बरु प्रश्न गर्छ, प्रमाण खोज्छ, आलोचनात्मक रूपमा सोच्न सिक्छ र मानव मर्यादा, समानता तथा वैज्ञानिक दृष्टिकोणलाई महत्त्व दिन्छ।
यसैले कुनै व्यक्तिले विद्यावारिधि (PhD), चिकित्साशास्त्र, इन्जिनियरिङ वा अन्य कुनै वैज्ञानिक विषय अध्ययन गरेको भए पनि ऊ धार्मिक हुन सक्छ। शिक्षा वा प्राविधिक दक्षताले व्यक्तिको पेशागत क्षमता बढाउन सक्छ तर त्यसले उसको व्यक्तिगत शिक्षा र ज्ञान हुँदैमा चेतना बिकास हुन्छनै भन्ने हुँदैन। आस्था, धार्मिक विश्वास वा विश्वदृष्टि स्वतः परिवर्तन गर्छ भन्ने छैन।
यद्यपि अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले शिक्षा र धार्मिक गतिविधिबीच केही उल्लेखनीय प्रवृत्ति देखाउँछन्। संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को मानव विकास सूचकाङ्क (HDI), शिक्षा उपलब्धि, साक्षरता तथा OECD/PISA का सूचकहरूमा अग्रस्थानमा रहेका जापान, स्विडेन, चेक गणतन्त्र, नेदरल्यान्ड्स र जर्मनीजस्ता देशहरूमा धर्मलाई जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने जनसंख्या सामान्यतः ७ देखि १७ प्रतिशतको बीचमा रहेको छ।
यसको विपरीत, शिक्षा प्रणाली तुलनात्मक रूपमा कमजोर रहेका माली, इथियोपिया, बंगलादेश, पाकिस्तान र नाइजेरियाजस्ता देशहरूमा प्यू रिसर्च सेन्टर (२०२५) को “सार्वजनिक जीवनमा धर्मको भूमिका” (Religion’s Role in Public Life) सम्बन्धी अध्ययनअनुसार ९४ देखि ९७ प्रतिशत जनसंख्याले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने गरेका छन्।
यी तथ्याङ्कहरूले शिक्षा र धार्मिक गतिविधिबीच उल्टो सम्बन्ध (inverse relationship) देखिने एउटा प्रवृत्तिको सङ्केत गर्छन्। अर्थात्, औसत शैक्षिक उपलब्धि र मानव विकासको स्तर बढ्दै जाँदा धार्मिक गतिविधिको स्तर घट्ने प्रवृत्ति धेरै देशमा देखिन्छ। सामान्यतया जहाँ शिक्षाको स्तर उच्च हुन्छ, त्यहाँ धार्मिक गतिविधि तथा कर्मकाण्डप्रतिको संलग्नता अपेक्षाकृत कम हुने प्रवृत्ति देखिन्छ। यसको विपरीत,जहाँ शिक्षाको पहुँच र स्तर कमजोर हुन्छ त्यहाँ धार्मिक गतिविधि, परम्परा तथा अन्धविश्वासप्रतिको आकर्षण तुलनात्मक रूपमा बढी देखिन सक्छ। यद्यपि, यसलाई सबै व्यक्ति र समाजमा लागू हुने सार्वभौमिक नियम मान्न मिल्दैन।
यसका अपवादहरू पनि छन्। उदाहरणका रूपमा संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया दुवै उच्च शिक्षा, वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिका दृष्टिले विश्वका अग्रणी राष्ट्र हुन्। तर यी देशहरूमा धार्मिक आस्था, धार्मिक संस्था र सार्वजनिक जीवनमा धर्मको प्रभाव अझै उल्लेखनीय रूपमा कायम रहेको पाइन्छ।
विभिन्न धर्म र समाजमा धार्मिक गतिविधिको तुलनात्मक अवस्था
धार्मिक गतिविधिको स्तर कुनै एक धर्मको आधारमा मात्र निर्धारण हुँदैन। एउटै धर्मका अनुयायी रहेका विभिन्न देशहरूमा पनि धार्मिक अभ्यास, धार्मिक संस्थामा सहभागिता तथा धर्मलाई व्यक्तिगत जीवनमा दिइने महत्त्व उल्लेखनीय रूपमा फरक–फरक हुन सक्छ। यसले धार्मिक गतिविधिलाई धार्मिक सिद्धान्तले मात्र होइन, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, शैक्षिक र राजनीतिक परिवेशले पनि गहिरो रूपमा प्रभावित गर्ने संकेत गर्छ।
प्यू रिसर्च सेन्टर (२०२५) ले प्रकाशित गरेको “धर्मको महत्त्व, धार्मिक आबद्धता तथा आध्यात्मिक एवं धार्मिक अभ्यास” (Religious Importance, Religious Affiliation and Spiritual and Religious Practices) सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनले विभिन्न धर्म र समाजबीच धार्मिक गतिविधिको स्तरमा उल्लेखनीय भिन्नता रहेको देखाउँछ।
मुस्लिम बहुल देशहरू—जस्तै पाकिस्तान, बंगलादेश र मलेसिया—मा धर्मलाई जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने जनसंख्या सामान्यतः ८५ देखि ९७ प्रतिशतको बीचमा रहेको छ। यी समाजहरूमा दैनिक प्रार्थना, सामूहिक धार्मिक अभ्यास तथा धार्मिक संस्थासँगको आबद्धता पनि तुलनात्मक रूपमा उच्च देखिन्छ।
क्रिश्चियन बहुल देशहरूमा भने धार्मिक गतिविधिको स्तर एकरूप छैन। ब्राजिल र फिलिपिन्सजस्ता देशहरूमा ८० प्रतिशतभन्दा बढी जनसंख्याले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्छन्। यसको विपरीत पश्चिमी युरोपका धेरै क्रिश्चियन परम्पराका देशहरू—जस्तै जर्मनी, स्विडेन र नेदरल्यान्ड्स—मा यो अनुपात उल्लेखनीय रूपमा कम रहेको पाइन्छ। जर्मनीमा १४%, स्विडेनमा ७% र नेदरल्यान्ड्समा २०% ले मात्रै धर्मलाई जीवनको महत्त्वपूर्ण भाग मान्दछन।
हिन्दू बहुल देशहरूमा पनि धार्मिक गतिविधिको स्तर समान छैन। भारतमा करिब ७४ प्रतिशत मानिसले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने गरेको प्यू रिसर्च सेन्टरको अध्ययनले देखाउँछ। नेपालमा भने यो अनुपात अझ उच्च रहेको छ।
बौद्ध परम्पराका देशहरूबीच पनि उल्लेखनीय भिन्नता पाइन्छ। श्रीलङ्कामा करिब ८२ प्रतिशत र थाइल्यान्डमा करिब ३८ प्रतिशत जनसंख्याले धर्मलाई जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्छन्। तर जापानमा, जहाँ बौद्ध र शिन्तो परम्पराको लामो इतिहास छ यो अनुपात करिब ७ प्रतिशत मात्र रहेको छ। यसले एउटै धार्मिक परम्पराभित्र पनि राष्ट्रिय इतिहास, आधुनिकीकरण, शिक्षा र सामाजिक परिवर्तनका आधारमा धार्मिक गतिविधिको स्वरूप फरक हुन सक्ने देखाउँछ।
बहुधर्मीय समाजहरूमा धार्मिक गतिविधिको स्वरूप अझ जटिल देखिन्छ। संयुक्त राज्य अमेरिका, जहाँ क्रिश्चियन, यहूदी, मुस्लिम, हिन्दू, बौद्ध तथा अन्य धार्मिक समुदायहरू सहअस्तित्वमा छन् त्यहाँ करिब ३८ प्रतिशत जनसंख्याले धर्मलाई आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग मान्ने गरेको पाइन्छ। इजरायलमा पनि, जहाँ यहूदी, मुस्लिम, क्रिश्चियन र ड्रुज समुदायहरू सँगै बसोबास गर्छन्, यो अनुपात करिब ३७ प्रतिशत रहेको छ। यी उदाहरणहरूले धार्मिक विविधता भएका समाजहरूमा धार्मिक पहिचान महत्त्वपूर्ण रहे पनि व्यक्तिगत धार्मिक गतिविधिको स्तर तुलनात्मक रूपमा विविध र मध्यम देखाउँछन्।
शुद्ध नास्तिक (Atheist) जनसंख्यासम्बन्धी विश्वव्यापी र तुलनायोग्य तथ्याङ्क उपलब्ध छैन। तर प्यू रिसर्च सेन्टर (Pew Research Center) ले प्रकाशित गरेको धर्मसँग आबद्ध नभएका (Religiously Unaffiliated) जनसंख्याको तथ्याङ्कअनुसार चेक गणतन्त्रमा ५६%, स्विडेनमा ५२%, बेलायतमा ४६% र नेदरल्यान्ड्समा ४४% मानिस कुनै पनि धर्मसँग आबद्ध छैनन्। यस समूहमा नास्तिक (Atheist), अज्ञेयवादी (Agnostic) तथा “कुनै विशेष धर्म छैन” भन्ने सबै व्यक्ति समावेश छन।
त्यसैगरी, Ipsos Global Religion Survey अनुसार चीनमा करिब ५०% मानिसहरूले आफूलाई नास्तिक (Atheist) का रूपमा पहिचान गरेका छन्, जुन विश्वमै सबैभन्दा उच्चमध्ये एक हो।
धर्म र राजनीति
इतिहासका धेरै सभ्यताहरूमा धर्मले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राज्य सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। मध्ययुगीन युरोपमा रोमन क्याथोलिक चर्चको ठूलो राजनीतिक प्रभाव थियो जहाँ पोप (Pope) ले राजा वा सम्राटलाई शासन गर्ने वैधता प्रदान गर्ने वा अस्वीकार गर्ने अधिकार राख्थे। त्यसैगरी, राशिदुन, उमय्यद र अब्बासी खलिफातहरूमा खलिफालाई धार्मिक तथा राजनीतिक दुवै नेतृत्वको प्रतीक मानिन्थ्यो। तिब्बतमा पनि सन् १९५९ सम्म दलाई लामा आध्यात्मिक गुरु मात्र नभई राजनीतिक शासकका रूपमा स्थापित थिए। त्यसबेला धर्मले शासकलाई दैवी वैधता प्रदान गर्ने, कानुन, नैतिकता र सामाजिक व्यवस्था निर्धारण गर्ने तथा जनताको धार्मिक आस्थाका आधारमा शासनलाई स्वीकार्य र स्थिर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्थ्यो।
आज पनि विश्वका धेरै देशहरूमा धर्म र राजनीतिबीचको सम्बन्ध कायम छ यद्यपि यसको स्वरूप देशअनुसार फरक–फरक देखिन्छ। इरान, साउदी अरब, अफगानिस्तान र मौरिटानिया जस्ता देशहरूले इस्लामलाई आफ्नो संविधान र राज्य व्यवस्थाको प्रमुख आधार बनाएका छन्। श्रीलङ्का, थाइल्यान्ड र म्यानमारमा बौद्ध धर्मको प्रभाव राजनीतिक तथा सामाजिक जीवनमा उल्लेखनीय रूपमा देखिन्छ। भारतमा हिन्दू राष्ट्रवाद (हिन्दुत्व) राजनीतिकको महत्त्वपूर्ण पक्ष बनेको छ। भाजपा र मोदिले त्यही धर्म भजाएर सत्ता राजनीति गरेका छन।इजरायलमा यहूदी धर्मले राष्ट्रिय राजनीति र राज्य नीतिमा उल्लेखनीय प्रभाव पार्छ। अमेरिकामा संविधानले धर्म र राज्यलाई अलग राख्ने व्यवस्था गरे पनि “सुसमाचारवादी ईसाई” (Evangelical Christian) समूहहरूले निर्वाचन राजनीतिमा उल्लेखनीय प्रभाव पार्ने गरेका छन्। त्यसैगरी, हंगेरीले “क्रिश्चियन मूल्यहरू” (Christian values) लाई आफ्नो राष्ट्रिय पहिचान र सांस्कृतिक नीतिको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै आएको छ।
नेपालमा पनि धर्मलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति देखिन्छ। केही राजनीतिक दल र नेताहरूले धार्मिक आस्था तथा पहिचानलाई आफ्नो राजनीतिक आधार विस्तार गर्ने माध्यमका रूपमा उपयोग गर्दै आएका छन्। उदाहरणका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ले हिन्दू राष्ट्रको एजेन्डालाई आफ्नो प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि बढाउँदै आएको छ।
अर्कोतर्फ, आफूलाई कट्टर वा “खाँटी” कम्युनिस्ट तथा क्रान्तिकारी भनेर चिनाउने केही नेताहरू पनि मठ–मन्दिर, चर्च, गुम्बा वा मदरसामा पुगेर धार्मिक आशीर्वाद लिने, आर्थिक सहयोग गर्ने तथा धार्मिक कार्यक्रमहरूमा सहभागी हुने गरेका उदाहरण प्रशस्तै देखिन्छन्। कतिपय नेताहरू त गेरुवस्त्रधारी धार्मिक व्यक्तिहरूको अगाडि लम्पसार परेर ढोगेको पनि देख्न सकिन्छ। यसले नेपालमा राजनीतिक विचारधारा जस्तोसुकै भए पनि धर्म र राजनीतिबीचको सम्बन्ध पूर्ण रूपमा अलग हुन नसकेको बरु धेरै अवस्थामा राजनीतिक लाभका लागि धार्मिक आस्थाको उपयोग गर्ने प्रवृत्ति अझै कायम रहेको संकेत गर्छ।
धार्मिक कट्टरता, लैङ्गिक विभेद र अन्धविश्वास
धार्मिक कट्टरता र रूढिवादी धार्मिक व्याख्याले धेरै समाजमा महिलामाथिको लैङ्गिक विभेदलाई वैधता दिने गरेको देखिन्छ। धार्मिक ग्रन्थको शाब्दिक व्याख्या, परम्परागत लैङ्गिक भूमिकामा जोड तथा सामाजिक परिवर्तनप्रतिको प्रतिरोध धार्मिक कट्टरताका साझा विशेषता हुन्। संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघीय महिला संस्था (UN Women) र विश्व आर्थिक मञ्च (World Economic Forum) लगायतका अध्ययनहरूले पनि धार्मिक कट्टरता बलियो भएका समाजमा महिलाको शिक्षा, रोजगारी, प्रजनन अधिकार तथा राजनीतिक सहभागितामा सीमितता बढ्ने सम्भावना देखाएका छन्। यद्यपि, यो अवस्था सबै धर्म वा सबै समाजमा समान रूपमा लागू हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन।
विभिन्न धर्मका केही कट्टरवादी वा रूढिवादी समूहहरूले महिलाको अधिकार र भूमिकामा सीमितता लगाउने अभ्यास अपनाएका छन्। उदाहरणका रूपमा केही इस्लामिक शासन वा समूहहरूले महिलाको शिक्षा र सार्वजनिक जीवनमा सहभागितामा प्रतिबन्ध लगाएका छन्। केही रूढिवादी क्रिश्चियन समुदायहरूले महिलालाई धार्मिक नेतृत्वबाट वञ्चित गर्ने तथा गर्भपतन र प्रजनन अधिकारमा कडा प्रतिबन्धको समर्थन गरेका छन्। हिन्दू समाजका केही परम्परागत अभ्यासहरूमा महिलालाई महिनावारीका बेला धार्मिक गतिविधिबाट अलग राख्ने, पति–केन्द्रित व्रतलाई प्राथमिकता दिने तथा बालविवाह, दाइजो र एकल महिलामाथिको विभेदलाई धार्मिक आधारमा उचित ठहर्याउने प्रयासहरू देखिन्छन्।
समयक्रममा धार्मिक ग्रन्थको अपव्याख्या, सामाजिक परम्परा र राजनीतिक स्वार्थका कारण विभिन्न कुरीति, अन्धविश्वास र विभेदकारी अभ्यासहरू विकसित भएका छन्। विभिन्न धर्मका केही कट्टरवादी समूहहरूले धर्मद्रोहका कठोर सजाय, झारफुक, चमत्कार, जातीय विभेद, छुवाछूत, ज्योतिष, बोक्सी आरोप, ताबीज, धार्मिक अवशेष वा अलौकिक शक्तिप्रतिको अन्धविश्वासलाई प्रोत्साहन दिएका उदाहरणहरू पाइन्छन्। धर्मको कट्टर वा स्वार्थअनुकूल व्याख्याले लैङ्गिक विभेद, अन्धविश्वास र सामाजिक असमानतालाई बढावा दिन सक्छ।
निष्कर्ष
माथि प्रस्तुत तथ्य, तथ्याङ्क र विभिन्न अध्ययनहरूको समग्र विश्लेषण गर्दा केही महत्त्वपूर्ण प्रवृत्तिहरू देखिन्छन्। गरिबी, शिक्षा र चेतनाको कमी भएका समाजहरूमा धार्मिक गतिविधि र धार्मिक प्रभाव तुलनात्मक रूपमा बढी देखिने गरेको छ। त्यसैगरी, धार्मिक कट्टरता बलियो भएका धेरै समाजहरूमा महिलामाथिको लैङ्गिक विभेद, सामाजिक असमानता र व्यक्तिगत स्वतन्त्रतामाथिका सीमितताहरू पनि बढी देखिने गरेका छन्।
आज पनि केही राजनीतिक शक्ति र स्वार्थ समूहहरूले जनभावना प्रभावित गर्न धर्म र धार्मिक पहिचानलाई उपयोग गर्ने गरेका छन्। यस्तो प्रवृत्तिले समाजलाई एकताबद्ध गर्नुको सट्टा विभाजन, ध्रुवीकरण र असहिष्णुता बढाउने जोखिम रहन्छ।
त्यसैले धर्मलाई आस्था र नैतिकताको विषयका रूपमा सम्मान गर्दै त्यसका नाममा हुने कट्टरता, अन्धविश्वास, विभेद र राजनीतिक दुरुपयोगलाई भने आलोचनात्मक रूपमा समीक्षा गर्न आवश्यक छ। आधुनिक समाजको आधार वैज्ञानिक सोच, मानवअधिकार, लैङ्गिक समानता, शिक्षा र विवेकपूर्ण निर्णय हुनुपर्छ।
अन्ततः, प्रत्येक व्यक्तिले एकपटक शान्त मनले आफैँलाई प्रश्न गर्नु आवश्यक छ—के हाम्रो आस्था मानवता, समानता र स्वतन्त्रतालाई बलियो बनाइरहेको छ वा विभेद, कट्टरता र अन्धविश्वासलाई? यही आत्ममूल्याङ्कनले स्वस्थ, सहिष्णु र प्रगतिशील समाज निर्माणतर्फ सही दिशा देखाउन सक्छ। गरिबी, पछौटेपन, विभेद र स्वार्थका लागि दुरुपयोग गरिएको धर्मको प्रभावबाट आफूलाई मुक्त गर्नु आजको प्रमुख आवश्यकता हो।
वि.सं.२०८३ साउन २१ बिहीवार १२:५५ मा प्रकाशित






























