काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीन स्थान तोकेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालको सचिवालयले दिएको जानकारी अनुसार विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। संकलित सामग्रीलाई आवश्यकताका आधारमा सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ।
त्यसैगरी, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। संकलित राहत सामग्री प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिने जनाइएको छ।
बाढी प्रभावित नागरिकलाई सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था तथा अन्य सहयोगी निकायले सरकारले तोकेका यी तीनमध्ये आफूलाई उपयुक्त स्थानमा राहत सामग्री पुर्याउन सक्नेछन्।
राहत सामग्री बुझाउने स्थान र सम्पर्क
१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर)
सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि)
फोनस् ९८४१८७९२२२
२) नेपाली सेनाको मैथिली ब्यारेक, बट्टार, नुवाकोट
सम्पर्क: आविष्कार (नेपाली सेना)
फोन : ९८५१२३४३२४
३) बैरेनी ब्यारेक, धादिङ
सम्पर्क : दिलिप घले
फोन : ९८५११५४२२६
यसका अतिरिक्त राहत सहयोग गर्न इच्छुक दाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० मार्फत पनि राहत सामग्री तथा सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ।
सरकारले विपद्को यस कठिन घडीमा इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी निकायलाई प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:१२ मा प्रकाशित






























