काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्किएका छन् । आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएका हुन् ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउनासाथ सम्माननीय प्रधानमन्त्री उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका थिए । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले समयको सीमाका बिच आज मुख्य रूपमा विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।
भ्रमणका क्रममा उक्त टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्रीज्यूले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिए । स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीज्यूको टोली आजै काठमाडौँ फर्किएका हुन् ।
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:४१ मा प्रकाशित






























