काठमाडौं । २०८३ भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा प्रभावित दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।
नेपाल टेलिकमका अनुसार बाढीपहिरोबाट प्रभावित १५२ साइटमध्ये ९२ वटा सञ्चालनमा आइसकेका छन् भने ६० वटा साइट सञ्चालनमा ल्याउन बाँकी छन्।
रसुवामा सेवा सुचारु गर्न न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत आवश्यक उपकरण पठाइएको कम्पनीले जनाएको छ। त्यसबाट केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा सेवा सुचारु गरिएको छ।
धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ। त्यस्तै, नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी–ठमेल डाँडामा जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको टेलिकमले जनाएको छ।
प्रभावित क्षेत्रका प्राथमिकता प्राप्त साइटलाई निरन्तर सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, जेनेरेटर तथा इन्धन परिचालन गरिएको छ। साथै, सञ्चालनमा रहेका अन्य बीटीएसको कभरेज र क्षमता विकास तथा अप्टिमाइज गरी सेवा थप प्रभावकारी बनाउने काम भइरहेको कम्पनीले जनाएको छ।
जिल्लागत रूपमा चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट प्रभावित अवस्थामा रहेको टेलिकमले जनाएको छ।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।
कम्पनीले बाँकी प्रभावित साइटसमेत यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको जनाएको छ। सेवा सुचारु भएपछि प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहज हुने टेलिकमको विश्वास छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:५७ मा प्रकाशित






























