काठमाडौं । नेपालको उत्तरी सीमापार चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ‘ब्यारियर लेक’ बनेको खबर सार्वजनिक भएपछि सम्भावित जोखिमलाई लिएर त्रास बढेको छ।
चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम globaltimes ले उक्त क्षेत्रमा ठूलो ताल बनेको र बिहीबार बिहानसम्म त्यसमा करिब २० लाख घनमिटर पानी जम्मा भएको जनाएका छन्। तालबाट पानी बाहिरिन थालेकोसमेत बताइएको छ।
चीनको केन्द्रीय टेलिभिजन (सीसीटीभी)का अनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा निरन्तर बढ्दै गए ताल फुट्ने जोखिमसमेत बढ्न सक्ने बताइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ। मन्त्रालयले ताल फुटेपछि आउन सक्ने बाढीको प्रभावबारे पूर्वानुमान गर्न बाढी सिमुलेसन तथा विश्लेषण गरिरहेको र सम्भावित आपत्कालीन उद्धारका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ।
तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापार क्षेत्रमा आपसमा मिसिन्छन्। नेपालतर्फ प्रवेश गरेपछि यही नदी प्रणालीलाई भोटेकोशीका रूपमा चिनिन्छ, जुन त्रिशूली नदीको प्रमुख माथिल्लो शाखामध्ये एक हो।
यसैबीच, सम्भावित हिमताल विस्फोट वा ताल फुट्ने जोखिमबाट नेपालमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै ८ राजनीतिक दलले चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारसँग माग गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बसेको ८ राजनीतिक दलको बैठकले सीमापार हिमतालको जोखिम आकलन तथा न्यूनीकरणका लागि चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले चीनतर्फ रहेका हिमताल तथा जलाशयको अवस्था, सम्भावित जोखिम र त्यसबाट नेपालमा पर्न सक्ने प्रभावबारे दुई देशबीच संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन आवश्यक रहेको निष्कर्ष निकालेको छ।
दलहरूले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा चीनको तिब्बत क्षेत्रमा रहेका हिमताल पग्लिने तथा विस्फोट हुने जोखिम बढिरहेको बताएका छन्। उनीहरूले नेपालभित्र रहेका जोखिमपूर्ण हिमतालको विस्तृत वैज्ञानिक अध्ययन तथा नक्सांकन तत्काल सुरु गर्नसमेत सरकारसँग माग गरेका छन्।
त्यस्तै, नेपाल र चीनबीच पूर्वसूचना प्रणालीलाई थप सुदृढ र संस्थागत गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। माथिल्लो तटीय क्षेत्रमा कुनै प्राकृतिक हलचल देखिनासाथ तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सकिने गरी प्रविधिमैत्री र भरपर्दो ‘रियल टाइम डाटा’ आदानप्रदान संयन्त्र विकास गर्नुपर्ने उनीहरूको माग छ।
दलहरूले सीमापार हिमतालको जोखिमलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न नेपाल र चीनबीच नियमित वैज्ञानिक अध्ययन, सूचना आदानप्रदान तथा प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:५६ मा प्रकाशित






























