नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय शिवान तामाङ दुई दिनसम्म हराएको र सकुशल भेटिएको खबर सहजै विश्वास गर्न सकिदैन । भदौ २ गते बिहान ७ बजे घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी हजुरआमा हेमकुमारी आले घर फर्किंदा नाति शिवान घरमा थिएनन् । त्यसपछि सुरु भयो, एउटा अबोध बालकको खोजी र एउटा परिवारको बेचैनी ।
स्थानीय बासिन्दा, प्रहरी र आफन्तले जंगलको कुनाकाप्चा खोजे । इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन भयो । खोजी निरन्तर चलिरह्यो। अन्ततः भदौ ४ गते बिहान करिब १० बजे, करिब ५० घण्टापछि, शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा शिवान फेला परेको सत्य समाचार आयो ।
उनलाई देख्नेबित्तिकै खोजीमा खटिएका मानिसहरूका आँखामा आँसु आए होलान् । परिवारको खुसीको त सीमा नै रहेन होला । तर शिवानलाई भेटिएपछि एउटा प्रश्न भने अझै सबैको मनमा गढिरहन्छ, करिब ५० घण्टा उनले कसरी बिताए होलान ? आफू अगाडि मानिसहरु देख्दा मनले के सोच्यो होला ? जब उनी भेटिए, न रुन न हाँस्न सकेको अनुहार अनि प्रहरीले उठाएर काखमा लिएर फर्किएको दृश्यले त झनै भावुक बनायो ।
क–कसलाई संम्झियौै होला शिवान ?
शिवान साढे दुई वर्षका मात्र छन् । संसार बुझ्ने उमेर होइन यो । आफू कहाँ छु भन्ने थाहा पाउने, बाटो सम्झने वा संकटको अर्थ बुझ्ने उमेर पनि होइन । रोए खान पाइन्छ सम्म बुझेका उनले भोक लाग्दा जंगलमा कति रोए होलानर रुँदारुँदा थाकेर निदाउँदा, अनि निद्रा खुल्दा एक्लै पाउँदा रुँदै आफन्त खोजे होलान् । उनका लागि घरको आँगन नै उनको संसार थियो होला । हजुरआमाको काख, परिवारका परिचित अनुहार र वरिपरिका आवाजहरू नै उसका लागि सुरक्षित संसार थिए ।
तर अचानक त्यो संसार हरायो ।
सायद सुरुमा उनी खेल्दै–खेल्दै केही पर पुगे होलान् वा हजुरआमाको पछि पछि लागे होलान । पछाडि फर्केर हेर्दा परिचित घर देखिएन होला । हजुरआमाको आवाज सुनिएन होला । घरको आँगन पनि भेटिएन होला ।
‘आमा…!’
अबोध बालकले आफ्नै भाषामा आमालाई खोज्यो होला । फेरि चिच्यायो होला । केही बेर रोयो होला । वरिपरि हे¥यो होला । तर जवाफमा मानिसको आवाज आएन होला । सुनियो होला त केवल जंगलका पात हल्लिएको आवाज, चराको चिरबिर, खोलाको सुस्केरा र अपरिचित आवाजहरू ।
कति पटक ‘आमा’ भनेर चिच्यायौ होला, शिवान ?
कति पटक ‘हजुरआमा’ भनेर करायौ होला ?
सायद तिम्रो आवाज धेरै टाढासम्म पुग्यो होला । तर तिमीलाई खोज्दै दौडिरहेका मानिसहरू र तिम्रो आवाजबीच जंगलको दूरीले पर्खाल बनाइदियो होला ।
पछिपछि जाँदा बाटो बिरायौ कि, शिवान ?
सानो बालकका पाइला साना हुन्छन् । उसले पाँच–दस कदम चाल्दा पनि ठूलै दूरी पार भएको जस्तो लाग्छ । जंगलमा भने केही कदमले नै अर्को संसारमा पु¥याउन सक्छन् ।
सायद तिमी कुनै आवाज, कुनै चराको पछि लाग्यौ होला । सायद कुनै फूल, पात, फल वा किरा देखेर त्यसतर्फ गयौ होला । बालमनलाई कहाँ थाहा हुन्छ—कुन बाटो घरतिर जान्छ र कुन बाटो झन् गहिरो जंगलतिर ?
एकछिनपछि फर्केर हेर्दा बाटो हरायो होला ।
अगाडि रूख । पछाडि रूख । दायाँ रूख र बायाँ रूख ।
सबैतिर उस्तै ।
सायद तिमी एक ठाउँमा उभिएर अलमलियौ होला । अनि फेरि हिँड्यौ होला । हिँड्दा–हिँड्दै अझ टाढा पुग्यौ होला ।
कुनै वयस्कका लागि जंगलको बाटो बिराउनु एउटा समस्या हो । तर साढे दुई वर्षका अवोध बालकका लागि कस्तो भयो होला ?
त्यो क्षणमा तिमीलाई ‘जंगल’ र ‘घर’ बीचको फरक थाहा थिएन होला । तर तिम्रो बालमनले एउटा कुरा भने अवश्य खोजिरहेको थियो होला, परिचित अनुहार ।
भोक, प्यास र निद्रासँग कसरी लड्यौ होला ?
करिब ५० घण्टा !
यो समयलाई घडीमा गन्न सकिन्छ र सजिलै पर्खन सकिन्छ । तर एउटा सानो बालकका लागि त्यो समय कति लामो भयो होला, कल्पना गर्न पनि कठिन छ ।
घरमा हुँदा केही घण्टा नखाई बस्न नसक्ने बालक जंगलमा पुगेपछि के खायो होला ?
तिर्दा लाग्दा पानी खान पायौँ की पाएनौँ !
खोलाको आसपास पुगेको हुनाले पानीको पहुँच भएको हुनसक्छ । तर साढे दुई वर्षको बालकले आफूलाई आवश्यक पानी कसरी खोज्यो होला भन्ने प्रश्नले मन झस्काउँछ ।
सायद तिर्खाले सताउँदा खोलाको आवाज पछ्याउँदै गयौ की ?
सायद केही थोपा पानीले मुख भिजायौ पनि होला ।
सायद भोक लाग्दा वरिपरिका बोटबिरुवा हे¥यौ होला । तर कुन खान मिल्छ, कुन मिल्दैन भन्ने तिमीलाई कहाँ थाहा थियो र ?
दिन ढल्दै गयो होला ।
जंगलको उज्यालो कम हुँदै गयो होला ।
बिस्तारै अन्धकार फैलियो होला ।
अनि आयो होला त्यो सबैभन्दा कठिन क्षण—रात ।
‘हजुरआमा’ भनेर कराउँदा जंगलले मात्र जवाफ दियो होला !
घरमा रात पर्दा तिमीलाई सायद कसैले काखमा लिन्थ्यो होला । सिरक ओढाइदिन्थ्यो होला । परिचित आवाजले थुमथुम्याएर सुताउँथ्यो होला ।
तर त्यो रात ?
न काख ।
न सिरानी ।
न परिचित आवाज ।
न घरको उज्यालो ।
न हजुरआमाको अनुहार ।
घना जंगलको अन्धकारमा एउटा सानो बालक एक्लै ।
कहिलेकाहीँ टाढाबाट कुनै आवाज आयो होला । तिमी झस्कियौ होला । कुनै पात खस्यो होला । तिमी डरायौ होला । कुनै जनावर हिँडेको आवाज आयो होला । तिमी झन् कस्सिएर कुनै रूख वा झाडीको छेउमा बस्यौ होला ।
सायद निदाउन खोज्यौ होला ।
तर डरले निद्रा नआएको पनि हुन सक्छ ।
कति पटक तिमीले आँखा खोलेर अँध्यारोमा हे¥यौ होला ?
कति पटक हजुरआमालाई खोज्यौ होला ?
कति पटक ‘आमा…’ भनेर रोयौ होला ?
तिम्रो त्यो आवाज जंगलको अँध्यारोले सुनेको होला । तर मानिसले सुन्न सकेनन ्।
काँडा र किरासँग संघर्ष भयो होला शीवान !
कहिले काँडामा अल्झियौ होला ।
कहिले लड्यौ होला ।
कहिले उठ्यौ होला ।
फेरि हिँड्यौ होला ।
कहिले कुनै किराले टोकेको होला । कहिले झाडीले शरीर कोतरेको होला । कहिले ढुंगामा ठेस लागेको होला ।
तर रोएर पनि तिमीलाई उठाउने कोही थिएन ।
घाउमा औषधि लगाइदिने कोही थिएन ।
‘के भयो बाबु?’ भनेर सोध्ने कोही थिएन ।
त्यो उमेरमा एउटा सानो चोट लाग्दा पनि बच्चा आमाको काख खोज्छ । तर त्यो काख त्यहाँ थिएन ।
सायद तिमी घाउमा हात लगाउँदै रोयौ होला ।
सायद आँसु पुछ्ने क्रममा झन् दुख्यो होला ।
तर फेरि उठ्यौ होला ।
किनभने बालमनले पनि बाँच्न खोज्दोहोला ।
सर्प र जंगली जनावरसंग कसरी छलियौ होला ?
जंगलमा के–कस्ता जीवजन्तु छन्, कुन आवाज खतराको संकेत हो, कुन आवाज सामान्य हो, छुट्याउन सक्ने अवस्थामा नै थिएनौ तिमि ।
सायद कुनै झाडी हल्लियो होला ।
सायद कुनै जनावर टाढाबाट करायो होला ।
सायद सर्प वा अन्य जीवको सम्भावित उपस्थितिले पनि त्रसित बनायो होला ।
तर प्रकृतिसँग लड्ने ज्ञान नभएपनि प्रकृतिमै बाँच्न बाध्य भयौ ।
यहीँनेर यो घटना झन् असाधारण लाग्छ ।
एउटा साढे दुई वर्षीय बालकले आफूलाई कसरी जोगायो ?
हामीसँग यसको निश्चित उत्तर छैन।
तर उनको सकुशल उद्धारले एउटा कुरा भने प्रमाणित गरिदिएको छ की मानिसभित्रको जीवनशक्ति उमेरले मात्र नापिँदैन ।
दोस्रो जीवन लिएर फर्किएको त्यो मुस्कान
भदौ ४ गते बिहान करिब १० बजे खोजी टोलीले भागर खोलाको सिरानमा शिवानलाई भेट्यो ।
त्यो क्षण कस्तो थियो होला ?
‘भेटियो!’
सायद कसैले चिच्यायो होला ।
एकछिनमा धेरै मानिस त्यहाँ पुगे होलान् ।
कसैले उठायो होला ।
कसैले काखमा लियो होला ।
कसैले पानी दियो होला ।
‘शिवान भेटियो!’
दुई दिनदेखि रोइरहेको घरमा एकैछिनमा खुसीको आँधी आएको होला ।
हजुरआमाले उनलाई काखमा लिएर कति बेरसम्म छाड्न सकिनन् होला ?
परिवारका सदस्यले उनलाई छातीमा टाँसेर कति आँसु झारे होलान ?
खोजीमा खटिएका प्रहरी र स्थानीयको मनमा कस्तो खुशि आयो होला ?
सायद त्यो क्षणमा सबैले एउटै कुरा महसुस गरे होलान, आज एउटा बच्चा मात्र भेटिएको छैन, एउटा परिवारको संसार फेरि फर्किएको छ ।
शिवानको कथा केवल एउटा परिवारको होइन
शिवान तामाङको कथा एउटा हराएको बालक भेटिएको समाचार मात्र होइन यो बालमनको अद्भुत जीवनशक्ति, परिवारको माया र समुदाय बिच मानवीय एकताको कथा पनि हो ।
सबैको आफ्नै बच्चा हराएको थिएन, तर सबैको मनमा एउटा बच्चा हराएको थियो ।
त्यसैले सबैले खोजे ।
प्रकृतिले पनि सायद बालसुलभता बुझ्यो
शिवानको शरीरमा लागेका घाउहरू उनको संघर्षका चिन्ह हुन् । तर उनी जीवित फर्किए ।
सायद प्रकृतिले उनको बालसुलभता बुझ्यो ।
सायद जंगलले उनलाई आफ्नो काखमा जोगायो ।
सायद खोलाको आवाजले उनलाई पानीतिर पु¥यायो ।
सायद कुनै झाडीले उनलाई चिसो र जनावरबाट बचायो ।
कसैलाई थाहा छैन, ती ५० घण्टामा वास्तवमा के–के भयो ।
तर यति अवश्य थाहा छ, त्यो सानो शरीरले आफ्नो उमेरभन्दा धेरै ठूलो संघर्ष ग¥यो ।
शिवान, तिमीलाई एउटा प्रश्न छ
शिवान, जब तिमी ठूलो हुनेछौ, सायद तिमीलाई यो घटनाको धेरै कुरा याद नहुन सक्छ ।
सायद तिमीलाई त्यो जंगल याद नहोला ।
सायद तिमीलाई त्यो रात याद नहोला ।
सायद तिमीले ‘आमा’ भनेर कति पटक बोलायौ भन्ने पनि थाहा नहोला ।
तिम्रो परिवारले कहिल्यै बिर्सने छैन ।
तिमीलाई खोज्ने मानिसहरूले कहिल्यै बिर्सने छैनन् ।
र तिम्रो अनुहारमा देखिएका ती साना घाउहरूले पनि तिम्रो जीवनको एउटा असाधारण अध्यायको कथा सुनाइरहनेछन् ।
कति पटक आमा भनेर चिच्यायौ होला, शिवान ?
कति पटक हजुरआमा भनेर करायौ होला ?
कति पटक घरको बाटो खोज्यौ होला ?
कति पटक भोकले सतायो होला ?
कति पटक तिर्खाले रुवायो होला ?
कति पटक डरले काँप्यौ होला ?
कति पटक अँध्यारोमा आँखाले परिचित अनुहार खोज्यौ होला ?
हामीसँग यी प्रश्नको उत्तर छैन ।
तिमी फर्कियौ ।
त्यही नै सबैभन्दा ठूलो उत्तर हो ।
कहिलेकाहीँ जीवनले सबै बाटा बन्द गरिदिएको जस्तो लाग्छ । चारैतिर अन्धकार हुन्छ । आफ्ना मानिसको आवाज सुनिँदैन । आफू कहाँ छु भन्ने पनि थाहा हुँदैन ।
तर त्यही अन्धकार पार गरेर कुनै बिहान आउँछ ।
शिवानका लागि भदौ ४ गते त्यो बिहान आयो ।
जंगलको एकान्तबाट एउटा सानो जीवन फेरि मानिसहरूको भीडमा फर्कियो।
र सायद त्यो दिन शंखदेवी सामुदायिक वनले पनि एउटा कथा आफ्नो छातीमा लेख्यो होला ।
‘यहाँ एउटा साढे दुई वर्षीय बालक ५० घण्टा हरायो, तर हारेर फर्किएन ।
ऊ जीवनसँग लडेर फर्कियो ।’
शिवान, तिमीलाई दोस्रो जीवनको शुभकामना ।
तिम्रो बाल्यकाल अब जंगलको डरले होइन, हजुरआमा र परिवारको न्यानो काख र मायाले भरियोस् ।
५० घण्टा जंगलसँग लडेर फर्किएको साढे दुई वर्षीय बालकको कारुणिक कथाले मलाई चीनमा रहेकी साढे दुई बर्षिया हाम्री नातिनी शियाको स्मरण गरायो । नातिनिले भिडीयोमा मलाई आमा भनेर संबोधन गर्दा सृष्टि चलेको अनुभुति र गर्व हुन्छ । शिवानको जंगलभित्रको त्यो ५० घण्टाको कल्पना गर्दा मेरो मनले बारम्बार एउटै प्रश्न गरिरहेको छ—यदि मेरी शियाजस्तै साढे दुई वर्षकी बालिका त्यस्तो घना जंगलमा एक्लै परेकी भए ?
उनले पनि त ‘आमा’ भनेर बोलाउँथिन् होला।
कसैको काख खोज्थिन् होला।
डराउँदा आमाको अनुहार सम्झिन्थिन् होला।
त्यही कल्पनाले यो लेख लेख्न मलाई बाध्य बनायो।
वि.सं.२०८३ भदौ ६ शनिवार १५:०५ मा प्रकाशित





























