ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त शास्त्र विषयका प्राज्ञिक व्यक्तित्वहरूसँग बोर्डको कार्यालय ललितपुरमा पहिलोपटक नीति संवाद कार्यक्रम बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको छ।
धितोपत्र बजारमा नयाँ उपकरणहरूको प्रवेशका लागि बोर्डबाट तयार गरिएका विभिन्न Consultation Paper तथा Policy Paper सार्वजनिक गरिएकोमा सो उपर विषय विज्ञहरूसँगको अवधारणा तथा सुझाव लिने सन्दर्भमा संवाद आयोजना गरिएको थियो । उक्त संवादमा विशेषतः बोर्डले हालै अघि सारेका मार्जिन ल्यान्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र उधारो तथा सापटी तथा शर्ट सेलिङ सम्बन्धी अवधारणा र समग्र पुँजी बजारको विकास तथा सुधारका सम्बन्धमा विस्तृत छलफल भएको थियो।
छलफलमा विज्ञहरूले बोर्डबाट पुँजी बजार विकासका लागि रुपान्तरणकारी कार्यक्रम सारेकोमा खुशी व्यक्त गरेका थिए । उनीहरूले बोर्डबाट बजारमा ल्याउन लागिएका उपकरणहरू अधिक प्राविधिक प्रकृतिका भएकाले यसलाई Financial Innovation का रुपमा विकास गर्नुका साथै यी उपकरणहरूमा निहित हुने जोखिमको सम्बन्धमा लगानीकर्ताहरूलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी वक्ताहरूले बोर्डबाट Policy launch गर्नु अगाडि प्राज्ञिक व्यक्तित्वहरूसँग शुरुवात गरिएको यस नीति संवादले सिद्धान्त र व्यवहारको पक्षबीच सामञ्जस्यता कायम भई प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
बोर्ड र प्राज्ञिक क्षेत्रका विज्ञहरूबीच सहकार्य निरन्तर रहने र बोर्डबाट बजार विकासका लागि लिइने भावी नीतिहरूमा प्राज्ञिक विज्ञहरूको सुझाव समेटी दीर्घकालीन नीति तय गर्दा बजारको नीतिको प्रभावकारीता बढ्ने बोर्डको विश्वास रहेको छ ।
वि.सं.२०८३ भदौ ६ शनिवार १२:०४ मा प्रकाशित






























