काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा सुरु हुँदैछ। ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ईस्पोर्ट्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुई दिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन्।पब्जी मोबाइल ग्लोबलओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन्। लोकप्रिय टोली होराई स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको विजेताले २ हजार ५ सय अमेरिकी डलर, उपविजेताले १ हजार ५ सय डलर र तेस्रो हुने टोलीले १ हजार डलर पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, चौथो देखि दशौंस्थान सम्म रहने टोलीले क्रमशः८सय, ७ सय, ६ सय, ५ सय, ४ सय, २ सय ५० र २ सय ५० अमेरिकी डलर प्राप्त गर्नेछन्।
एघारौंर १२ औं स्थानमा रहने टोलीले जनही १ सय ५० डलर, १३ औं देखि १६ औं स्थानसम्म रहने टोलीले जनही १ सय डलर प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ सय अमेरिकी डलर पुरस्कार पाउनेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा गीतसंगीत, फुडस्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ।
दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालको पब्जी मोबाइल तथा समग्र ईस्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
वि.सं.२०८३ भदौ ६ शनिवार ११:०९ मा प्रकाशित






























