राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई मनोनयन गरेका हुन् ।
हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक छन् । उनले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका थिए । ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध थिए ।
हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी (गोलकिपर) छन् । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी छन् । उनी विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुग्नुभएको थियो । उनी स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजता पनि छन् ।
बोर्ड सदस्यमा शक्ति गौचन पनि छन् । गौचन पूर्वक्रिकेटर छन् । उनी कुशल प्रशिक्षक पनि छन् । नेपाली क्रिकेटको विकासमा उनको ठूलो योगदान छ ।
बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी छिन् । उनी बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित हुनुहुन्छ । सन् २००६ मा एसियन गेम्सका छनोटमा पुगेकी उनी नेपालबाट पहिलोपटक अन्तरराष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी भएकी थिईन् । नेपाली महिला खेलाडीमा उनी सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी छिन् । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य छिन् ।
वि.सं.२०८३ साउन २७ बुधवार १०:४७ मा प्रकाशित






























