म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध भएको व्यक्ति पनि होइन। वास्तवमा म चलचित्रको नियमित दर्शक समेत होइन। औसतभन्दा पनि कम चलचित्र हेर्ने दर्शक हुँ। त्यसैले यो लेख कुनै प्राविधिक समीक्षा होइन; एउटा सामान्य दर्शकले चलचित्र हेरेपछि महसुस गरेका अनुभूति र विचारहरूको अभिव्यक्ति मात्र हो।
निकै लामो अन्तरालपछि मैले हेरेको चलचित्र हो ‘गौथली’। प्रदर्शनअघि र प्रदर्शनपछिको यसको चर्चा निकै सुनियो। विशेषगरी महिलाको जीवन, पीडा, संघर्ष र समाजले उनीहरूमाथि थोपरेका अदृश्य बन्धनलाई मार्मिक ढंगले प्रस्तुत गरिएको चलचित्र भनेर धेरैले प्रशंसा गरेका थिए। त्यही चर्चा र जिज्ञासाले मलाई पनि हलसम्म पुर्यायो। के ‘गौथली’ साँच्चै त्यति नै शक्तिशाली कथा हो जति यसको चर्चा सुनिएको छ? यही जिज्ञासाको उत्तर खोज्ने उद्देश्यले मैले यो चलचित्र हेरेँ।
चलचित्र हेर्दा सामान्यतया तीनवटा पक्षले मलाई सबैभन्दा बढी आकर्षित गर्छन्। पहिलो—जीवन्त र स्वाभाविक अभिनय। दोस्रो—मन छुने, अर्थपूर्ण र मर्मस्पर्शी संवाद। र तेस्रो—जुन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो—चलचित्रले दर्शकलाई दिन खोजेको सन्देश।
यो लेख यी तीन पक्षमध्ये चलचित्रले दर्शकलाई दिन खोजेको सन्देशबारे मेरो अनुभूति मात्र हो। चलचित्र सकिएपछि, एउटा औसतभन्दा पनि तल्लो दर्जाको दर्शकको हैसियतबाट मैले जे अनुभूति गरेँ त्यसले मेरा अपेक्षामाथि पूर्ण रूपमा तुषारापात गरिदियो। बजारमा चलेको चर्चा, प्रशंसा र चलचित्रप्रति सिर्जना गरिएको उत्सुकताले जति आशा जगाएको थियो, पर्दामा देखिएको प्रस्तुतिले त्यसलाई निराशामा रूपान्तरण गरिदियो।
चलचित्रभरि गौथलीको आँसु, पीडा, रोदन, त्रास, भय र निराशालाई नै केन्द्रमा राखिएको छ। त्यो पनि धेरै ठाउँमा अस्वाभाविक रूपमा लम्ब्याइएको अनुभूति हुन्छ। यस्तो लाग्छ—निर्माता र निर्देशकले दर्शकको संवेदना जित्ने सबैभन्दा सजिलो माध्यम निरन्तर आँसु र पीडाको प्रस्तुति नै हो भन्ने निष्कर्ष निकालेका छन्।
चलचित्रमा बुहारी (गौथली)लाई लगभग सबै प्रकारका दमन, उत्पीडन, अपमान, पीडा र संवेदनहीन व्यवहार चुपचाप सहने पात्रका रूपमा प्रस्तुत गरिएको छ। उनीमाथि अन्यायमाथि अन्याय थपिँदै जान्छ तर उनको चरित्रमा प्रतिरोध गर्ने, प्रश्न उठाउने वा आफ्नो अस्तित्वका लागि संघर्ष गर्ने चेतनाको विकास भएको देखिँदैन।
गौथलीलाई निरिह, बेसहारा, भाग्यले ठगेकी र परिस्थितिको सिकार बनेकी अबला महिलाको रूपमा चित्रण गरिएको छ। उनी जस्तोसुकै विषम परिस्थितिलाई पनि मौन भएर सहिरहने, प्रतिकार नगर्ने र सधैं कमजोर देखिने पात्रका रूपमा सीमित छिन्। अन्याय र अत्याचारी विरुद्ध विद्रोह, आत्मसम्मान वा प्रतिरोधको कुनै बलियो संकेत चलचित्रमा कतै पनि देखिँदैन। त्यसैले महिलाको पीडालाई प्रस्तुत गर्ने प्रयास भए पनि उनलाई सशक्त व्यक्तित्वका रूपमा उभ्याउने अवसर भने चलचित्रले गुमाएको महसुस हुन्छ।
चलचित्रको अन्त्यसम्म पुग्दा दर्शकको मनमा एउटा आशा जीवित रहन्छ—सायद अब गौथलीले आफ्नो पीडा, अपहेलना र अन्यायबाट मुक्ति पाउनेछिन्। सायद उनले आफूलाई दमन गर्ने प्रवृत्तिविरुद्ध कुनै प्रतिरोध गर्नेछिन्, न्याय पाउनेछिन् वा कम्तीमा आफ्नो अस्तित्व स्थापित गर्नेछिन्। तर चलचित्र समाप्त हुँदासम्म त्यो आशा पूर्ण रूपमा निराशामा परिणत हुन्छ। चलचित्रको सुरुदेखि अन्त्यसम्म गौथलीको चरित्र पीडा, आँसु र निरीहताको घेराभित्रै सीमित रहन्छ।
यहाँ मेरो प्रश्न उठ्छ—के यस्तो अन्त्य न्यायसंगत छ? के कुनै पात्रलाई निरन्तर पीडित, निरीह र प्रतिरोधविहीन देखाएर मात्र महिलाको यथार्थ चित्रण गर्न सकिन्छ? अझ महत्त्वपूर्ण प्रश्न- के यस्तो चरित्रले समाजलाई कुनै सकारात्मक सन्देश दिन सक्छ?
मेरो विचारमा महिलाको पीडा देखाउनु आफैंमा समस्या होइन। समस्या तब हुन्छ जब पीडालाई केवल भावनात्मक उपभोगको विषय बनाइन्छ र त्यसबाट मुक्ति, आत्मसम्मान, प्रतिरोध वा परिवर्तनको कुनै सम्भावना देखाइँदैन। यस्तो प्रस्तुतीकरणले केही समयका लागि दर्शकलाई रुवाउन, चलचित्रलाई चर्चामा ल्याउन र निर्माता–निर्देशकलाई व्यावसायिक लाभ दिलाउन सक्छ तर यसले समाजलाई सोच्न, परिवर्तनतर्फ प्रेरित गर्न वा उत्पीडनविरुद्ध उभिन आवश्यक साहस भने प्रदान गर्दैन।
विडम्बना के छ भने चलचित्रमा देखाइएको अभिनयभन्दा “हेर्ने कथा” मा प्रस्तुत गरिएका महिलाका वास्तविक जीवनका संघर्ष र भोगाइ अझ बढी मार्मिक, जीवन्त र शक्तिशाली लाग्छन्। त्यसैले गौथलीले पीडाको चित्र त कोर्यो तर त्यसलाई परिवर्तनको शक्ति र चेतनामा रूपान्तरण गर्ने अवसर भने गुमाएको देखिन्छ।
यही सन्दर्भमा अर्को प्रश्न पनि उठ्छ। मेरो विचारमा सामाजिक र पारिवारिक सम्बन्धलाई अनावश्यक रूपमा अतिरञ्जित गर्नु वा कुनै एउटा नाता–सम्बन्धप्रति घृणा र अविश्वास पैदा हुने गरी चित्रण गर्नु सिर्जनात्मक स्वतन्त्रताको नाममा उचित ठहरिँदैन। कुनै पनि चलचित्र, कथा, उपन्यास वा साहित्यिक रचनामा कुनै एक पात्र वा सीमित परिवेशलाई सम्पूर्ण समाजको प्रतिनिधि जस्तो गरी सामान्यीकरण गर्नु जिम्मेवार सिर्जना मान्न सकिँदैन। यही मेरो मान्यता हो। तर गौथलीमा सासूको चरित्रलाई लगभग पूर्ण रूपमा संवेदनहीन, क्रूर, अमानवीय र निर्दयी व्यक्तिका रूपमा चित्रण गरिएको छ। यस्तो लाग्छ, उनीभित्र करुणा, माया वा मानवीयताको कुनै अंश नै छैन। मेरो प्रश्न छ—के वास्तविक जीवनमा यस्ता पात्र साँच्चै यति व्यापक छन्? मेरो अनुभवमा अहिले मात्र होइन आजभन्दा पचास वर्षअघि पनि अधिकांश सासूहरू यति अमानवीय थिए भन्ने निष्कर्षमा पुग्न सकिँदैन। अपवाद अवश्य होलान् तर अपवादलाई नै सामाजिक यथार्थका रूपमा स्थापित गर्नु उचित देखिँदैन। दुर्भाग्यवश, चलचित्रले भने यही अपवादलाई सामान्य यथार्थझैँ प्रस्तुत गरेको अनुभूति हुन्छ।
यसैले फेरि प्रश्न उठ्छ—के गौथलीको पीडालाई अझ गहिरो देखाउन, दर्शकलाई रुवाउन र उनीहरूको भावनामा प्रभाव पार्न यस्ता अतिरञ्जित पात्रहरूको सिर्जना गरिएको हो? वा चलचित्रले अघिल्लो पुस्ताका महिलाहरू—विशेषतः हजुरआमा र आमाको पुस्ता—कठोर, निर्मोही र भावनाशून्य थिए भन्ने सन्देश दिन खोजेको हो? यदि त्यस्तो हो भने त्यो निष्कर्ष समाजको यथार्थसँग मेल खाँदैन।
त्यसैगरी, गौथलीकी हजुरआमाको चरित्रमार्फत बालविवाह, कुप्रथा वा परम्परागत अन्धविश्वासी सोचमा परिवर्तन आउने संकेत दिने एक–दुई दृश्य वा अर्थपूर्ण संवाद थपिएको भए के चलचित्रको प्रभाव घट्थ्यो? के त्यसो गर्दा चलचित्र असफल हुन्थ्यो? मेरो विचारमा त्यसो हुँदैनथ्यो। बरु त्यस्ता दृश्यहरूले चलचित्रलाई अझ सन्तुलित, यथार्थपरक र आशावादी बनाउँथे। पीडाको चित्रणसँगै परिवर्तन सम्भव छ भन्ने सन्देश पनि दिन सकिन्थ्यो। एउटा सामाजिक चलचित्रले केवल समस्या देखाएर मात्र आफ्नो दायित्व पूरा गर्दैन; समस्याबाट बाहिर निस्कने सम्भावनाको झिल्को पनि देखाउन सक्नुपर्छ। दुर्भाग्यवश, त्यो पक्षमा पनि चलचित्र कमजोर देखिन्छ।
यद्यपि चलचित्रको एउटा उल्लेखनीय सकारात्मक पक्ष भने अवश्य छ। मेरो दृष्टिमा गौथलीको शिक्षाप्रतिको दृढ लगाव चलचित्रको सबैभन्दा सशक्त पक्ष हो। अनेकौं दुःख, अपमान र प्रतिकूल परिस्थितिका बीच पनि उनी जसरी पनि एस.एल.सी. उत्तीर्ण गर्ने अठोट लिन्छिन्। त्यसका लागि उनले आफ्नो क्षमताअनुसार निरन्तर संघर्ष गर्छिन् र अन्ततः सफल पनि हुन्छिन्। यही पक्षले चलचित्रभरि छाएको निराशाबीच दर्शकमा आशाको सानो किरण भने अवश्य जगाउँछ।
तर एउटा महत्त्वपूर्ण प्रश्न भने अनुत्तरित रहन्छ—गौथली किन एस.एल.सी. पास गर्न चाहन्छिन्? के शिक्षाले उनलाई आत्मनिर्भर बन्ने बाटो देखाउँछ? के उनी आफ्नो जीवन परिवर्तन गर्न चाहन्छिन्? के अन्याय र उत्पीडनबाट मुक्त हुने माध्यमका रूपमा उनले शिक्षालाई रोजेकी हुन् वा केवल मदन सरलाई आफू सक्षम भएको प्रमाणित गर्न? चलचित्रले यी प्रश्नहरूको कुनै स्पष्ट उत्तर दिँदैन। कथाले यस विषयमा मौनता साधेको छ जसले गौथलीको संघर्षलाई अझ गहिरो र अर्थपूर्ण बन्नबाट रोकिदिएको महसुस हुन्छ।
चलचित्रभरि गौथली लगभग एक्लै संघर्ष गरिरहेकी पात्रका रूपमा देखिन्छिन्। दुई जना शिक्षकको सीमित सहयोग र ‘ठुले’को केही आत्मीयता बाहेक समाजका अन्य पात्रहरू प्रायः अनुपस्थित वा उदासीन देखिन्छन्। यसले अर्को प्रश्न जन्माउँछ—के हाम्रो समाज साँच्चै यति धेरै संवेदनहीन थियो वा आज पनि छ? कठिन परिस्थितिमा परेका मानिसहरूको साथमा परिवार, छिमेकी, आफन्त वा समुदाय उभिएका असंख्य उदाहरणहरू हाम्रो समाजमा छन्। तर चलचित्रले त्यस्तो सामाजिक सहकार्यको सम्भावनालाई लगभग पूर्ण रूपमा बेवास्ता गरेको छ।
गौथलीले शिक्षकहरू र ‘ठुले’बाट पाएको सहयोग पनि सामाजिक उत्तरदायित्व वा मानवीय कर्तव्यका रूपमा भन्दा संयोग वा व्यक्तिगत अनुग्रहका रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसले कथाको सामाजिक आयामलाई थप कमजोर बनाएको छ। विशेष गरी शिक्षकको भूमिकाबारे चलचित्रले उठाएको प्रश्न अपूरो लाग्छ। के हाम्रा शिक्षकहरू आफ्ना विद्यार्थीको पीडा देखेर मौन बस्ने पात्र मात्र थिए वा आज पनि छन्? वास्तविक जीवनमा असंख्य शिक्षकहरूले आफ्ना विद्यार्थीको शिक्षादेखि जीवनसम्म परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेलेका उदाहरणहरू छन्। यदि चलचित्रले त्यस्तो पक्षलाई पनि केही स्थान दिएको भए यसले केवल पीडाको कथा मात्र नभई शिक्षा, आशा र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश पनि दिन सक्थ्यो।
यही कारणले अन्ततः मेरो मनमा एउटा प्रश्न बारम्बार उठिरहन्छ—यो चलचित्र आम दर्शकले किन हेर्ने? के केवल दुःख, आँसु, पीडा र उत्पीडनका निरन्तर दृश्य हेरेर भावुक हुनका लागि? वा समाजमा विद्यमान समस्याहरूलाई कुनै समाधान, प्रतिरोध वा परिवर्तनको सम्भावना नदेखाई निराशाको कथा मात्र बोकेर फर्किनका लागि?
मेरो विचारमा एउटा सामाजिक चलचित्रको दायित्व केवल पीडाको चित्रण गर्नु मात्र होइन। पीडाको कारण के हो, त्यस विरुद्ध कसरी उभिन सकिन्छ? परिवर्तनको सम्भावना कहाँ छ र समाजले त्यसबाट के सिक्न सक्छ भन्ने प्रश्न पनि चलचित्रले उठाउनुपर्छ। अन्यथा चलचित्रले दर्शकलाई केही घण्टा भावुक त बनाउन सक्छ तर समाजलाई सोच्न, प्रश्न गर्न वा परिवर्तनतर्फ प्रेरित गर्न सक्दैन।
‘गौथली’ हेर्दा कतिपय ठाउँमा यस्तो अनुभूति हुन्छ कि चलचित्रले महिलाको आँसु र पीडालाई सामाजिक रूपान्तरणको बहसभन्दा बढी भावनात्मक प्रभाव सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरेको छ। दर्शकलाई रुवाउने उद्देश्य सफल भएको हुन सक्छ तर आँसु मात्र देखाएर समाज बदलिँदैन। समाज बदल्ने शक्ति त अन्यायविरुद्ध प्रश्न उठाउने साहस, प्रतिरोधको चेतना र आशाको सम्भावना देखाउने कथामा हुन्छ।
चलचित्रभरि पात्रहरू सामाजिक रूढिवाद, अन्धपरम्परा र “समाजले के भन्ला?” भन्ने मानसिकताका अगाडि झुकेका देखिन्छन्। अन्यायलाई चुनौती दिने, परिवर्तनको सुरुआत गर्ने वा पुरानो सोचलाई भत्काउने साहस कथा र पात्रहरूमा पर्याप्त रूपमा विकास भएको देखिँदैन। त्यसैले चलचित्रले यथास्थितिलाई प्रश्न गर्नेभन्दा पनि कतै न कतै त्यसलाई स्वीकार गरिरहेको अनुभूति हुन्छ।
हाम्रो समाजमा एउटा उखान छ—“पाले पुण्य, मारे पाप।” जब यही सोच अन्याय, हिंसा र उत्पीडनलाई मौन रूपमा सहनुपर्ने संस्कृतिमा रूपान्तरण हुन्छ त्यसलाई प्रश्न गर्नु आवश्यक हुन्छ। एउटा सामाजिक चलचित्रले यस्ता मान्यतालाई चुनौती दिन सक्नुपर्छ, दर्शकलाई नयाँ दृष्टिकोण दिन सक्नुपर्छ र परिवर्तन सम्भव छ भन्ने विश्वास जगाउन सक्नुपर्छ। दुर्भाग्यवश, गौथली त्यो अवसर पूर्णरुपले असफल छ। सायद यही कारणले मेरो प्रश्न अझै बाँकी छ—यदि चलचित्रले अन्ततः दर्शकलाई निराशा, निरीहता र आँसु मात्र दिएर बिदा गर्छ, र समाज रूपान्तरणको कुनै स्पष्ट सन्देश वा आशाको किरण प्रस्तुत गर्दैन भने- आम दर्शकले यो चलचित्र किन हेर्ने?
एउटा राम्रो सामाजिक चलचित्रले केवल पीडाको ऐना मात्र होइन परिवर्तनको झ्याल पनि खोल्न सक्नुपर्छ। दर्शकलाई रुवाउनु मात्र यसको सफलता होइन; दर्शकलाई सोच्न, प्रश्न गर्न र परिवर्तनको सम्भावनाप्रति विश्वास दिलाउनु पनि त्यत्तिकै महत्त्वपूर्ण हो। मेरो अपेक्षा यही थियो। तर गौथलीमा त्यो अपेक्षा पूरा हुन सकेन।
जतिसुकै व्यापार गरोस- मेरो हेराईमा गौथली एउटा औसत भन्दा तल्लो स्तरको चलचित्र हो। नपत्याए निर्मातालाई नगद चडाउनुहोस र आँफै हेर्नुहोस।
वि.सं.२०८३ साउन १३ बुधवार २०:३९ मा प्रकाशित





























