काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले गठित कार्यदलले तयार पारेको ‘नेपाल हरित रोजगारी मिसन (नेपाल ग्रिन जब्स मिसन)’ सम्बन्धी प्रतिवेदन युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवसमक्ष पेस गरेको छ।
मन्त्रालयको समन्वयमा सञ्चालन गर्ने प्रस्ताव गरिएको उक्त मिसनले सबै नागरिकका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा समान पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणलाई गति दिने लक्ष्य लिएको छ।
प्रतिवेदनअनुसार हरित सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा लगानीयोग्य परियोजनालाई रोजगारी सिर्जनासँग जोडिनेछ। यसका माध्यमबाट आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारिएको छ।
मिसनले वातावरण संरक्षणसँगै आर्थिक विकास र रोजगारी सिर्जनालाई एकीकृत गर्दै युवालाई हरित अर्थतन्त्रका नयाँ सम्भावनासँग जोड्ने परिकल्पना गरेको छ। हरित प्रविधि, वातावरणमैत्री उत्पादन, नवीकरणीय ऊर्जा, दिगो कृषि तथा अन्य वातावरणमैत्री क्षेत्रमा आवश्यक जनशक्ति विकास गरी रोजगारीका नयाँ अवसर विस्तार गर्ने उद्देश्य मिसनको रहेको छ।
वि.सं.२०८३ भदौ ४ बिहीवार १६:१० मा प्रकाशित






























