back
CTIZAN AD

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

वि.सं.२०८३ भदौ ३ बुधवार

771 

shares

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका छन् । सो पुस्तकमा उनले भौतिक झिंगाको कुरा गरेका छन्, तर आज सलाम रोल्पामा उल्लेख गरिएका झिँगा वैचारिक रुपमा पनि व्याप्त रहेछ भन्ने निश्कर्ष निकाल्दा पनि अन्यथा नहुने अवस्था प्रष्ट भइरहेको छ ।

नेपालमा आफूलाई घगडान कम्युनिष्ट हुँ भन्ने पार्टीका नेता–कार्यकर्ताहरुको साँस्कृतिक र राजनैतिक उचाई, उनीहरुको नीति र व्यवहारलाई दाँजेर हेर्दा चित्त बुझाउन सकिने ठाउँ अलिकति पनि भेटिंदैन । नयाँ जनवादी सँस्कृतिको कुरा गर्ने पार्टीका प्रमुख जनवर्गीय संगठनका प्रमुखले नै चरम पुँजीवादी सँस्कृतिलाई अँगालेर विवाह गर्ने, क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्यहरुले आफ्नो छोराछोरीको विवाह गर्दा काँग्रेस–राप्रपा–एमालेका छोराछोरी सरह वा अझ त्योभन्दा पनि बढ्ता पुँजीवादी र सामन्तवादी संस्कृति–परम्परा अनुसार विवाह गराउँछन्, त्यस विवाहमा शुभकामना दिन सबै वरिष्ठ क्रान्तिकारी नेताहरु लाइन लाग्छन् भने उनीहरुको उक्त व्यवहार देखेर जनता, उनीहरुका शुभचिन्तक र आम कार्यकर्ताले के बुझ्ने ? यो पनि अहिलेको राजनैतिक भ्रष्टीकरणको प्रमुख कारक हो भन्दा सायदै अत्युक्ति होला । यसै प्रसंगमा मैले सोही समयमा आफूलाई असल र सिद्धान्तनिष्ठ लागेका केही नेताहरुलाई उक्त प्रसंगको प्रमाण झल्कने फोटाहरुसहित साँस्कृतिक रुपान्तरण, सिद्धान्त र व्यवहार बीचको अन्तरसम्बन्धका बारेमा आफ्नो जिज्ञासा र प्रश्न फेसबुकको म्यासेन्जरमा नलेखेको पनि होइन, तर अफसोच कतैबाट त्यसको बारेमा प्रत्युत्तर पाउन सकिन ।

अर्को प्रसंग, आफूलाई क्रान्तिकारी भनेर नथाक्ने समूह नै हिजोआज सामाजिक सञ्जालमा अत्याधिक सक्रिय भेटिन्छ र उनीहरुको दैनिकी भनेको स्टाटस लेख्ने, लाइक–कमेन्ट गर्ने, सेयर गर्ने, बधाई दिने वा श्रद्धाञ्जली व्यक्त गर्ने त्यसमा पनि कतिपयले अंग्रेजीमा आरआइपी अर्थात् ‘रिप’ लेख्ने गरेको पाइन्छ । राजनैतिक तथा वैचारिक रुपले गोरु बेचेको साइनो पनि नभएका तथाकथित ‘प्रख्यात’ व्यक्तिहरुलाई समेत बधाई दिने, श्रद्धाञ्जली व्यक्त गर्ने दौडमा सबैलाई उछिन्ने पनि तिनै क्रान्तिकारी व्यक्तिहरु हुन्छन् । तर गरिखाने श्रमजिवी वर्गका आम व्यक्ति मात्रै होइन, जनताको मुक्तिका खातिर जीवन अर्पण गरेका नेतृत्व तहका स्व–वर्गीय जनहरुलाई समेत ती विरोधी वर्गका कुनै एक जनाले पनि बधाई वा श्रद्धाञ्जली व्यक्त नगरेको कुरालाई भने उनीहरुले ख्यालै गरेका हुँदैनन् । यहाँ मैले यो कुरा उठाउनुको अर्थ मानवीय सम्वेग, भावनात्मक हिसाबले त्यो गर्नु गलत भन्न खोजेको होइन, भौतिक रुपमा आफुले चिनेको व्यक्ति विशेषलाई चाहे ऊ आफ्नो विरोधी वर्गको नै भए पनि शुभकामना व्यक्त गर्नु वा समवेदना र श्रद्धाञ्जली व्यक्त गर्नु मानवीयताको हिसाबले आवश्यक र उपयुक्त मान्न सकिएला, तर भौतिक रुपमा चिनजान नै नभएको, आफ्नो प्रतिपक्षीय वर्गका व्यक्तिप्रति उपरोक्त भावना व्यक्त गर्नु चाकरी, चाप्लुसी वा फोस्रो लोकप्रियताका लागि गरिएको गैह्रवर्गीय कार्यबाहेक अन्य के हुनसक्छ ?

नेपालका कम्युनिष्टहरु र तिनीहरुलाई माया गर्ने विशाल जनहिस्सामा जान–अन्जानमा यो प्रवृत्ति मौलाउनुलाई उनीहरु आफ्नो वर्गप्रति कति इमान्दार छन् र वर्गपक्षधरता उनीहरुको विचारमा के हो भन्ने कुराको द्योतक पनि हो । वर्गीय रुपले भन्नुपर्दा नेपालका शासक वर्ग र उनीहरुको पक्षका जनसमुह आफ्नो वर्गप्रति इमान्दार र अविचलित छन् । उनीहरुले आ–आफ्नो ठाउँबाट आफ्नो वर्गीय हितमा काम गरिरहेका छन् । तर आफूलाई गरिखाने वर्गको शुभचिन्तक वा पक्षधर बताउने व्यक्तिहरुको उपरोक्त प्रकारका व्यवहारले उनीहरु आफूलाई मुखले श्रमजीवि वर्गको पक्षधर बताए पनि व्यवहारद्वारा, वास्तवमा आफ्नो प्रतिपक्षीय वर्गकै सेवा गरिरहेको ठहर्छ । अहिले कम्युनिष्ट राजनीति बदनाम भएर कमाउ राजनीतिमा व्यक्त हुनुको पछाडि पनि यही वर्ग पक्षधरताको बुझाई, व्यवहारमा यसको प्रयोग गलत रुपले भएको कारण हो भन्दा पनि सायदै अन्यथा होला ।

अर्को प्रसंग, विगतको सामन्तवादी पितृसत्तात्मक समाजमा महिलालाई चरणको दासीको रुपमा व्यवहार गरिन्थ्यो, यो मानव विकासको कालो इतिहास हो । उदार तथा वास्तविक पुँजीवादी समाजले समेत महिलालाई हेर्ने र व्यवहार गर्ने सामन्तवादी समाजको त्यसप्रकारको सोचलाई गलत भनी समाजमा महिलालाई पनि पुरुषसमान व्यवहार गर्ने गरेको प्रमाण धेरै ठाउँमा देख्न सक्दछौं । तर नेपालमा, आफूलाई कम्युनिष्ट भन्ने, महिला मुक्तिको भाषण गरेर कहिल्यै नथाक्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टीका उच्च तहका नेता तथा वर्षौ जनयुद्धमा बन्दुक बोकेर हिंडेको दाबि गर्ने कार्यकर्ताहरु र यतिसम्म कि स्वयम महिला संगठनका नेतृहरुसमेत नै व्यवहारमा छोरा पाउन भनी पटक पटक गर्भको बच्चाको लिङ्ग परीक्षण गरी गर्भपतन गरेको उदाहरणहरु खोजी हिंडेमा प्रशस्तै भेटिन्छन्, यिनीहरु मध्येका केहीलाई त मैले व्यक्तिगत रुपमा पनि चिन्दछु । कम्युनिष्ट आन्दोलन भित्रका यिनै पात्रहरुले छोरी सन्तानमात्र भएका आफ्नै सहयात्रीहरुलाई ‘छोरा कति जना छन् ? छोरा छैनन् ? छोरा नभए कसले काजक्रिया गर्छन् ? आफ्नो वंश कसले अघि बढाउँछ ?’ जस्ता प्रश्नहरुको वर्षा गरेको कैयौं पटक देखेको–सुनेको र स्वयम् आफैले भोगेको पनि छु ।

आज संस्कृति र परम्परालाई जोगाउने नाममा नेपालका कम्युनिष्टहरु हिन्दु कम्युनिष्ट, बौद्धिष्ट कम्युनिष्ट, मुस्लिम कम्युनिष्ट, क्रिस्चियन कम्युनिष्ट आदि बनेका छन् । चामलमा बियाँ जस्तै मात्रामा बाहेक धर्मभन्दा माथि उठेका कम्युनिष्टहरु भेट्नु भनेको औंसीको रातमा चन्द्रमा भेट्नुजस्तै भएको छ । यी यस्ता क्रियाकलापहरुले कम्युनिष्ट भनेका सिद्धान्तको ठूला–ठूला कुरा गर्ने तर व्यवहारमा अरु पञ्च र काँग्रेसहरुभन्दा भिन्न नरहेको भाष्य जबरजस्त रुपमा स्थापित हुँदै गइरहेको छ ।

निष्कर्ष :
माथि उठाइएका सबै प्रसंगहरू– वैभवशाली विवाहदेखि सामाजिक सञ्जालको सतही सक्रियता, पितृसत्तात्मक मानसिकतादेखि धार्मिक सांप्रदायिकतासम्म– एउटै केन्द्रीय सत्यतिर संकेत गर्छन्‌– नेपालको कम्युनिष्ट आन्दोलन आज ‘विचारधाराको सतहीपन’ र ‘व्यवहारिक आत्मविरोध’ को गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । जुनसुकै ठूलो सिद्धान्त होस्, त्यसको परीक्षण त्यसको व्यावहारिक अभ्यासले मात्र गर्छ । तर, आफूलाई क्रान्तिकारी कम्युनिष्ट भन्नेहरूको दैनिक जीवन, उनीहरूको संस्कार–परम्परा, परिवारप्रति व्यवहार र सञ्चार माध्यममा प्रकट हुने व्यक्तित्वले उनीहरूको वाचा र दृष्टिबीच विशाल खाडल रहेको देखाउँछ । यस खाडलले जनताको आँखामा नेतृत्वको नैतिक अधिकारमात्र होइन, समग्र वामपन्थी राजनीतिको विश्वसनीयता पनि धुमिल पारेको छ । जब नेतृत्व तह नै आफ्नो निजी जीवनमा सामन्ती-पुँजीवादी आडम्बरको अनुकरण गर्छ, महिला मुक्तिको वाचा गर्दै घरमा पितृसत्ता पालन गर्छ र विरोधी वर्गका अज्ञात व्यक्तित्वलाई श्रद्धाञ्जली दिनमा व्यस्त भएर आफ्नै वर्गका संघर्षशील साथीहरूलाई बेवास्ता गर्छ, त्यस अवस्थामा उसले गर्ने प्रत्येक राजनीतिक भाषण केवल ‘मुखौटा’ मात्र बन्न पुग्छ– मुखले क्रान्ति, तर व्यवहारमा प्रतिगमन । यो द्वन्द्व जति लामो समयसम्म रहन्छ, त्यति नै ‘कम्युनिस्ट’ शब्दको अर्थ जनमानसमा ‘पाखण्ड’ र ‘स्वार्थी राजनीति’ सँग जोडिँदै जान्छ र त्यसको प्रत्यक्ष परिणाम हालको ‘कमाउ राजनीति’ र सर्वस्वीकृत बदनामीको रूपमा देखिएको छ ।

यस सङ्कटको जड भनेको ‘वर्गीय चेतना’ र ‘वैज्ञानिक समाजवादी दृष्टिकोण’ को अभाव हो । वर्गीय चेतना भनेको केवल मुखले श्रमजीवीको पक्षधरता व्यक्त गर्नु मात्र होइन; बरु जीवनको प्रत्येक क्षेत्र– संस्कृति, भाषा, उत्सव, परिवार योजना, शोक–सम्वेदना र सामाजिक सम्बन्धलाई वर्गीय कोणबाट हेर्नु र त्यसैअनुसार आचरण गर्नु हो । तर आजको अभ्यासले देखाउँछ कि ठूलो संख्यामा कम्युनिष्ट पदाधिकारीहरू, जनयुद्धका अनुभवी नेता–कार्यकर्ताहरू र महिला संगठनकी नेतृसम्म पनि व्यवहारमा मध्यमवर्गीय र पुँजीवादी आकांक्षाबाट मुक्त भएका छैनन् । उनीहरूको मानसिकतामा अझै ‘वंश’, ‘जात’, ‘छोरा’ र ‘धार्मिक अनुष्ठान’ को प्रभुत्व छ, जुन सामन्तवाद र पुँजीवादको उपज हो । यसले स्पष्ट पार्छ कि नेपालको कम्युनिष्ट आन्दोलनले साँस्कृतिक–मानसिक स्तरमा क्रान्ति गर्न सकेको छैन; ऊ त सत्ता र सुविधाको दौडमा पुरानै संस्कृतिसँग सम्झौता गर्दै अघि बढेको छ । अर्कोतिर, धर्म र पहिचानको जालोले त्यसलाई अझ जटिल बनाएको छ । ‘हिन्दु कम्युनिष्ट,’ ‘बौद्ध कम्युनिष्ट,’ ‘मुस्लिम कम्युनिष्ट’ जस्ता भ्रामक पहिचानहरूले वर्गीय एकतालाई सांप्रदायिक खण्डमा विभाजन गर्छ र क्रान्तिकारी दृष्टिलाई सुविधाजनक सन्दर्भवादमा सीमित पार्छ । मार्क्सवादले धर्मलाई निजी मामला स्वीकार गरे पनि, राजनीतिक संगठनलाई धार्मिक रेखामा बाँड्नु वैज्ञानिक समाजवादको आधारभूत मान्यता विपरीत हो; तर नेपालका कम्युनिष्टहरू यस विपरीतलाई सहज रूपमा स्वीकार्दै आएका छन्, जसले क्रान्तिको दार्शनिक जगलाई कमजोर बनाएको छ । यसरी, सिद्धान्त र व्यवहारको खाडल एउटा साधारण कमजोरी होइन; यो त संरचनागत र साँस्कृतिक भ्रष्टीकरणको उपज हो, जसले क्रान्तिको सम्पूर्ण भवनलाई भित्रैबाट खोक्रो बनाइदिन्छ ।

तर, यो अन्धकारको अन्त्य हो भन्ने ठान्नु सही निष्कर्ष होइन । यी सबै विसंगतिहरू आन्दोलनको ‘मृत्यु–लेख’ होइनन्‌; बरु ती ‘जागृतिको चेतावनी’ हुन् । जबसम्म वामपन्थीहरू आफ्नो घर, समाज र राजनीतिक अभ्यासको आत्मसमीक्षा गर्दैनन्, तबसम्म यो खाडल झन् गहिरो हुँदै जानेछ । तर यदि नेतृत्वले आफ्ना त्रुटिहरू स्वीकार्ने साहस देखाए, मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिक पक्षलाई सतहीभन्दा गहिरो अध्ययन र अभ्यासमा लागू गरे र आफ्नो जीवनशैलीलाई नै क्रान्तिको पहिलो रङ्गमञ्च बनाए भने नेपालको कम्युनिष्ट आन्दोलनले अझै पनि विशाल जनताको विश्वास पुनःप्राप्त गर्न सक्छ । त्यसका लागि चाहिने कदमहरू स्पष्ट छन्‌– सैद्धान्तिक पुनरावलोकन (वर्ग–संघर्ष, साँस्कृतिक रूपान्तरण, नारी–मुक्ति र धर्मनिरपेक्षताको गहन आत्मसात), आत्मालोचनाको साहस (नेतृत्वले आफ्ना कमजोरीहरू जनतासामु खोलेर सच्चिने बानी), साँस्कृतिक नेतृत्व (सामन्ती वा पुँजीवादी नक्कल नगरी श्रमजीवी संस्कृतिको सम्मान र नयाँ जनवादी संस्कृतिको अभ्यास), वर्गीय पक्षधरताको सचेत अभ्यास (सामाजिक सञ्जालदेखि श्रद्धाञ्जलीको संस्कारसम्म वर्गीय दृष्टिले पुनर्मूल्याङ्कन) र घरायसी क्रान्ति (महिला मुक्तिको वकालत गर्नेहरूले आफ्नै परिवारमा पितृसत्ता तोडेर उदाहरण पेश गर्नु) । यी कदमहरू केवल सैद्धान्तिक छलफलमा सीमित रहे र व्यवहारमा आएनन्‌ भने, ऋषिराज बरालले सलाम रोल्पामा वर्णन गरेका ‘भौतिक झिंगा’ भन्दा पनि यी ‘वैचारिक झिंगा’ अधिक खतरनाक साबित हुनेछन्, किनभने तिनीहरूले क्रान्तिको सम्पूर्ण संरचनालाई भित्रैबाट खोक्रो र असफल बनाउने काम गर्छन् ।

अन्त्यमा, सिद्धान्त र व्यवहारको एकता कुनै अमूर्त आदर्श होइन, यो त क्रान्तिकारी राजनीतिको ‘प्राण’ हो । जब यो प्राण नेतृत्वको दैनिक जीवनमा पलाउँछ, तब मात्र जनता आफ्ना नेतालाई आफ्नो मान्छन्‌; अन्यथा तिनीहरू पनि उस्तै हुन्‌– जसले बजारको चमक र सत्ताको सुगन्धमा विचारधारा बेच्छन् । इतिहास साक्षी छ, जुनसुकै क्रान्तिकारी आन्दोलनले पनि आफ्नो आन्तरिक साँस्कृतिक र नैतिक शुद्धताको परीक्षा दिन नसके पतन भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनले अहिले त्यही परीक्षाको सामना गरिरहेको छ । अबको प्रश्न केवल ‘क्रान्ति कसले गर्छ’ भन्ने होइन, बरु ‘क्रान्तिकारी आफैं कसरी क्रान्तिको योग्य बन्छ’ भन्ने हो । यदि यो प्रश्नको जवाफ आन्दोलनभित्रै ठोस व्यवहारमा पाइएन भने, ‘मुखले क्रान्ति, व्यवहारले पुँजीवाद’ को यो विडम्बनाले आन्दोलनलाई पतनको अन्तिम छोरमा धकेल्ने निश्चित छ । तर यदि आत्मसमीक्षाको यो कठिन यात्रा सुरुभयो भने, आजका यी ‘वैचारिक झिंगा’ नै भोलि क्रान्तिको आधारशिला बन्न सक्छन् । आशा यही छ कि वामपन्थीहरूले ‘व्यवहार–सुधार’ को यो ऐतिहासिक अवसर नछोडुन्, किनभने समय र जनता कसैको पर्खाइमा बस्दैनन्

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:०७ मा प्रकाशित

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...