कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू भएको विवादले हिंसाको रूप लिएको छ । सुरक्षा निकायले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि सोमबार कफ्र्यु लागू भएको छ। एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीले २५ राउण्ड गोली चलाएको दाबी गरेको छ । यसले सामाजिक तनाव, आर्थिक अवरोध र नागरिक सुरक्षामा गम्भीर प्रभाव पारेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३, कप्तानगन्जमा गत आइतबार (श्रावण १० गते/जुलाई २६) हिन्दू र मुस्लिम समुदायबिच भएको सामाजिक द्वन्द्व र त्यसपछिको झडपलाई भूराजनीतिक र सामाजिक–सुरक्षाको दृष्टिकोणबाट निम्नानुसार विश्लेषण गर्न सकिन्छः
कप्तानगन्ज क्षेत्र नेपाल–भारत खुला सिमानाको नजिक अवस्थित छ । सीमावर्ती क्षेत्रहरूमा हुने कुनै पनि साम्प्रदायिक तनावले अन्तरदेशीय सुरक्षा र सम्बन्धमा तत्काल असर पार्न सक्छ । भारतको बिहार राज्यसँग जोडिएको यस क्षेत्रमा हुने घटनाको लहर सीमापारि पनि फैलिन सक्ने वा सीमापारिका तत्वहरूले यसलाई दुरुपयोग गर्न सक्ने भूराजनीतिक जोखिम सधैं रहन्छ ।
स्थानीय रूपमा मोहरम पर्वको झन्डा हटाउने विषयको विवाद र बोलबम यात्राका क्रममा चर्को स्वरमा डिजे बाजा बजाउने विषयमा दुई पक्षबिच भनाभन सुरु भएको थियो । दक्षिण एसिया विशेष गरी भारत र नेपालको तराई क्षेत्रमा पछिल्लो समय धार्मिक साङ्केतिकता जस्तै झन्डा, लाउडस्पिकर, र धार्मिक ¥यालीहरू साम्प्रदायिक ध्रुवीकरणको हतियार बनिरहेका छन्, जसको प्रत्यक्ष छाया कप्तानगन्जमा देखिएको छ ।
घटना हुँदा सुनसरी जिल्लामा मुख्य सुरक्षा निकायहरू नेतृत्वविहीन हुनुले राज्यको तल्लो तहमा सुरक्षा संवेदनशीलताको कमजोरी उजागर गरेको छ । सशस्त्र प्रहरीका कमान्डरको पद रिक्त हुनु र नेपाल प्रहरीका जिल्ला प्रमुख बिदामा रहेका बेला स्थिति नियन्त्रण बाहिर जाँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भयो । यसले भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा राज्यको फितलो सुरक्षा उपस्थितिलाई देखाउँछ, जसका कारण गृह मन्त्रालयले सीडीओ र सुरक्षा प्रमुखहरूलाई तत्काल फिर्ता गर्नु परेको थियो । झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । घटनामा सुरक्षाकर्मी र सर्वसाधारणसहित दुई दर्जनभन्दा बढी मानिस घाइते भए । आक्रोशित भीडले विभिन्न स्थानीय पसल, तथा मुस्लिम समुदायका व्यवसायहरूमा तोडफोड, लुटपाट र आगजनी गरे । स्थिति नियन्त्रणमा लिन प्रशासनले हरिनगर, देवागन्ज लगायतका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु तथा निषेधाज्ञा जारी गर्यो । विद्यालय, कलेज, बजार र यातायात सेवा बन्द हुँदा जनजीवन कष्टकर बन्यो । दुई समुदायबीच अविश्वास र मनोवैज्ञानिक त्रास सिर्जना भयो । यद्यपि, स्थानीय अगुवा र बासिन्दाहरूले संयमता अपनाउँदै आपसी एकता कायम गर्न अपिल पनि गरेका छन् । यो तराइ मधेशका अन्य जिल्लामा पनि फैलिएको छ र जन धनको क्षति भएको कुरा सञ्चार माध्याममा आएका छन् ।
द्वन्द्वलाई केही उच्छृङ्खल समूह वा राजनीतिक स्वार्थ बोकेका तत्वहरूले धार्मिक र साम्प्रदायिक रूप दिन खोजे तापनि स्थानीय हिन्दू र मुस्लिम समुदायले सामूहिक रूपमा सद्भावको पक्षमा आवाज उठाएका छन् । स्थानीय बासिन्दाहरूले केही व्यक्तिको गल्तीलाई सिंगो समुदायसँग जोड्न नहुने भन्दै दशकौंदेखिको सहअस्तित्व जोगाउन अपिल गरेका छन् । सरकार र पीडित पक्षबिच भएको ७ बुँदे सहमति र स्थानीय तहको सक्रियताले बाह्य वा आन्तरिक तत्वहरूलाई यस घटनाबाट थप राजनीतिक फाइदा उठाउनबाट केही हदसम्म रोकेको छ । तर यति मात्र पर्याप्त छैन । यस्ता घटना पुनः दोहोरिन नदिन आर्थिक तथा सामाजिक कार्यक्रमका साथै सिमापारबाट अवैद्य नागरीक घुसपैठ रोक्न कडा सुरक्षा नीति अप्नाउनु पर्ने देखिन्छ ।
घटनापछि सामाजिक सञ्जालमा भ्रामक सूचना र उत्तेजक सामग्रीहरू तीव्र रूपमा फैलिएका छन् । यस्ता भ्रामक सूचनाहरूले स्थानीय विवादलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उचालेर दङ्गा भड्काउने प्रयास गर्छन् । जसलाई रोक्न प्रशासनले कफ्र्यु आदेश जारी गर्नुका साथै साइबर निगरानी बढाउनु परेको थियो ।
अन्त्यमा,
सुनसरी जिल्लाको कप्तानगन्जको झडप केवल एक स्थानीय डिजे बाजाको विवाद मात्र नभई खुला सिमाना, कमजोर सुरक्षा व्यवस्था, र सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जना भएको एक संवेदनशील भूराजनीतिक र सामाजिक सुरक्षाको चुनौती हो । यस घटनाले स्थानीय जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस घटनामा मानवीय क्षति हुनुका साथै सामाजिक सद्भावमा आघात पुगेको छ । यस घटना भडकाउनमा इण्डोपश्चिमा अदृश्य शक्तिको खेल रहेको कुरा आशंका गरिएको छ । सन् १९४७ को भारत–पाकिस्तान विभाजनको समयमा धपाइएका मुसलमानहरू, सन् १९७१ को बंगलादेश स्वतन्त्रता युद्धका बेला विस्थापित भएका बंगालीहरू र केही वर्ष अघि म्यानमारबाट खेदिएका रोहिङ्ग्याहरूलाई योजनाबद्ध रूपमा नेपालमा पठाइएको छ । नेपालको दक्षिणी सिमानाबाट विदेशी शरणार्थीहरूलाई तराइतिर ओइर्याउने र यहाँको सामाजिक एवं धार्मिक सद्भाव भडकाउने खेलमा अदृश्य शक्ति प्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ । तराइ मधेशमा हालै देखिएको घटना कुनै आकस्मिक नभई इण्डोपश्चिमा अदृश्य शक्तिको दीर्घकालीन रणनीतिक स्वार्थ र चलखेलको हिस्सा रहेको कुरा स्पष्ट नै छ । यस्ता घटनाबाट नेपाल सरकार, राजनीतिक दल, स्थानीय सरकार, सुरक्षा बल, नागरीक समाज र विभिन्न धार्मीक समूह, जात जाति, समुदाय बेलैमा चनाखो हुनु पर्ने आवश्यक्ता देखिन्छ । यस घटनाको सत्य तथ्य छानवीन गर्न निश्पक्ष आयोग गठन गरी विदेशी शरणार्थीहरु जहॉबाट आएका हुन् त्येतैतिर फर्काउन यथाशिघ्र कडा कदम चाल्नु पर्ने देखिन्छ । यदि यस्तै फितलो सिमा सुरक्षा र कमजोर सरकारी प्रशासनिक संयन्त्र हुने हो भने नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्ने खतरा धेरै समय कुर्नु पर्ने छैन ।
वि.सं.२०८३ साउन १९ मंगलवार १३:११ मा प्रकाशित






























