हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?”
उत्तर आउँछः “ओहो, खत्तम छ१ देश बर्बाद छ। काम छैन। व्यापार–व्यवसाय चौपट छ। केही हुनेवाला छैन। विदेश जानुपर्ला।”
निश्चय नै देशमा समस्या छन्। बेरोजगारी, अव्यवस्था, राजनीतिक अस्थिरता, भ्रष्टाचार र कमजोर सेवा प्रवाहजस्ता चुनौती छन्। तर समस्या देख्नु र समस्यामै आफ्नो भविष्य देख्नु एउटै कुरा होइन।
सकारात्मक सोच भनेको समस्या छैन भन्नु होइन : समस्या छ तर समाधान पनि खोज्न सकिन्छ भन्ने विश्वास हो।
हामी सधैं सोध्छौंः “सरकारले के गर्यो ? राज्यले के गर्यो ? अरूले के गरे?”
अब एउटा प्रश्न आफैलाई पनि सोधौः “मैले चाहिँ के गरें?”
हामी परिवर्तन चाहन्छौं, तर आफू बदलिन चाहँदैनौं। प्रविधि बदलियो, बजार बदलियो, काम गर्ने तरिका बदलियोस तर हामी पुरानै सोचमा अडिन्छौं। समयसँगै सीप, सोच र कार्यशैली बदल्न सक्नु नै आजको ठूलो क्षमता हो।
विदेश जानु नराम्रो होइन। अवसर जहाँ छ, त्यहाँ जान सकिन्छ। तर “यो देशमा केही हुँदैन” भन्ने निराशा बोकेर होइन, “जहाँ छु त्यहाँ केही गर्न सक्छु” भन्ने आत्मविश्वास बोकेर हिँडौं।
अब हाम्रो संवाद पनि बदलौंः
“खत्तम छ” होइन- “समस्या छ, के गर्न सकिन्छ?”
“केही हुनेवाला छैन” होइन- “सानो भए पनि के सुरु गर्न सकिन्छ?”
“अरूले गरेनन्” होइन- “मैले के गर्न सक्छु?”
देश केवल सरकार, नेता वा राज्यको नाम होइन। देश हामी पनि हौं।
एउटा शिक्षकको राम्रो शिक्षण, कर्मचारीको इमानदार सेवा, व्यवसायीको सिर्जना, युवाको सीप र नागरिकको जिम्मेवारी। यी सबै राष्ट्र निर्माणका इँटा हुन्।
त्यसैले निराशाको प्रतिस्पर्धा होइन, सम्भावनाको खोजी गरौं। आलोचना गरौं, तर निर्माण पनि गरौं। राज्यसँग जवाफ मागौं, तर आफ्नो जिम्मेवारीबाट नभागौं।
अर्को पटक कसैले सोध्योः “के छ खबर?”
अब भन्ने गरौंः
“समस्या छन्, तर आशा पनि छ। धेरै कुरा बिग्रिएका छन्, तर बनाउन बाँकी पनि धेरै छ। अरूले के गर्छन् थाहा छैन, तर आफ्नो ठाउँबाट केही राम्रो गर्ने सोच बनाएको छु।”
सायद देश बदल्ने पहिलो कदम यही सोचबाट सुरु हुन्छ।
वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७ मा प्रकाशित





























