स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक तथा घाइतेहरूको पहिचानसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
वि.सं.२०८३ भदौ ८ सोमवार २०:२३ मा प्रकाशित






























