काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा यसअघि टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार विस्तारको काम अघि बढाइएको थियो। अत्यन्त विकट तथा उच्च हिमाली भूगोलमा सेवा विस्तारका लागि नेपाल टेलिकमको प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा टावर स्थापना तथा उपकरण जडानको काम सम्पन्न गरेको हो।
निरन्तरको मेहनतपछि भदौ ८ गतेदेखि बडीमालिका क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।
मोबाइल सेवा जडानसँगै त्रिवेणी नगरपालिकाका वडा नं. ५ र ६, बडीमालिका नगरपालिकाका वडा नं. ५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटन लगायतका क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्।
टावर निर्माण तथा सेवा विस्तारको काममा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्टलगायतका प्राविधिक कर्मचारी संलग्न थिए।
उच्च हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तार भएसँगै स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शन गर्न आउने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने विश्वास नेपाल टेलिकमले लिएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले उच्च हिमाली तथा दुर्गम क्षेत्रमा समेत सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यअनुसार सेवा विस्तार गरिएको जानकारी दिएका छन्।
वि.सं.२०८३ भदौ ८ सोमवार १७:०९ मा प्रकाशित



























