(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगितामा एक चिनियाँ ह्युमनोइड रोबोटले १०० मिटर दौडमा मानव विश्व कीर्तिमानभन्दा तीव्र समय निकाल्दै नयाँ कीर्तिमानी कायम गरेको छ।
चिनियाँ मानवकार रोबोटले शनिबार बीजिङमा आयोजित विश्व मानवाकार रोबोट खेलकुदको प्रारम्भिक हीटमा १०० मिटर दौड ९.३९ सेकेन्डमा पूरा गर्दै जमैकाका महान् स्प्रिन्टर उसेन बोल्टको विश्व कीर्तिमानलाई पछि पारेको हो ।
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले विकास गरेको ‘तियाङगोङ अल्ट्रा’ ले प्रारम्भिक चरणको दौड ९.३९ सेकेन्डमा पूरा गरेको आयोजकले जनाएको छ। यो समय जमैकाका महान धावक उसैन बोल्टले सन् २००९ मा बर्लिनमा कायम गरेको ९.५८ सेकेन्डको १०० मिटर विश्व कीर्तिमानभन्दा ०.१९ सेकेन्ड छिटो हो।
दौडमा सुरुमा पछि परेको तियाङगोङ अल्ट्राले अन्तिम चरणमा स्मार्टफोन निर्माता कम्पनी अनरले विकास गरेको ‘लाइटनिङ’ लाई उछिनेको थियो। लाइटनिङले ९.४७ सेकेन्डमा दौड पूरा गर्यो, जुन बोल्टको विश्व कीर्तिमानभन्दा पनि छिटो हो।
तर रोबोटहरूको दौड मानव धावकको जस्तो सहज भने देखिएन। फिनिस लाइन पार गरेपछि दुवै रोबोट रोक्न राखिएको बाक्लो म्याटमा ठोक्किएका थिए। तियाङगोङ अल्ट्रा अनियन्त्रित रूपमा छेउतिर लड्खडाउँदा सुरक्षाका लागि दर्शकहरूलाई समेत पछाडि हटाइएको थियो। लाइटनिङ भने दौडपछि भुइँमा ढलेपछि स्ट्रेचरमा राखेर लगिएको थियो।
गत वर्षको पहिलो संस्करणको तुलनामा यसपटक रोबोटहरूको प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष तियाङगोङ अल्ट्राले १०० मिटर दूरी २१.५० सेकेन्डमा पूरा गर्दै प्रतियोगिता जितेको थियो।
यसै वर्षको तयारी दौडमा लाइटनिङले १०० मिटर दूरी ९.३२ सेकेन्डमा पूरा गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। उक्त परीक्षणमा रोबोटले अधिकतम १४.५ मिटर प्रतिसेकेन्ड गति हासिल गरेको थियो।
लाइटनिङले यसअघि बेइजिङमा आयोजित ह्युमनोइड रोबोट हाफ म्याराथन पनि ५० मिनेट २६ सेकेन्डमा पूरा गर्दै जितेको थियो। हाफ म्याराथनका क्रममा यसको उचाइ १६९ सेन्टिमिटर र खुट्टाको लम्बाइ ९५ सेन्टिमिटर थियो। प्रतियोगिताअघि यसको खुट्टा थप १० सेन्टिमिटर लम्ब्याएर १.०५ मिटर बनाइएको थियो।
बेइजिङमा जारी विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगितामा १०० मिटर दौडसहित ५१ वटा विधा समावेश छन्। प्रतियोगितामा फुटबल, नृत्य तथा औद्योगिक कामसँग सम्बन्धित प्रतिस्पर्धासमेत राखिएका छन्।
ह्युमनोइड रोबोटलाई रणनीतिक उद्योगका रूपमा अघि बढाउँदै चीन
चीनले मानवाकार रोबोटलाई रणनीतिक उदीयमान उद्योगको रूपमा प्रवर्द्धन गरिरहेको छ। नीति निर्माता र कम्पनीहरूले एआई र हार्डवेयरमा भएको प्रगतिले उत्पादन, लजिस्टिक्स र उपभोक्ता अनुप्रयोगहरूमा यसको प्रयोगलाई तीव्रता दिने विश्वास गर्छन्।
यस क्षेत्रमा लगानीकर्ताको चासो पनि तीव्र रूपमा बढेको देखिन्छ। चीनको चर्चित ह्युमनोइड रोबोट निर्माता युनिट्री को सांघाई स्टक एक्सचेन्जमा कारोबार सुरु भएको केही दिनमै कम्पनीको शेयर मूल्य पाँच गुणाभन्दा बढी बढेको थियो। त्यसपछि कम्पनीको बजार मूल्य करिब ५० अर्ब अमेरिकी डलर पुगेको थियो।
वि.सं.२०८३ भदौ ७ आइतवार १५:२५ मा प्रकाशित
























