कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्, जुन नाटकहरु त्यत्तिकै सकिदैनन् जस्ले मनन गर्न, सोच्न र प्रश्न गर्न पनि बाध्य बनाउछन् । त्यस्तै महसुस गरायो अनामनगरस्थित एक थिएटर नेपालको प्रस्तुतिमा देखाइएको नाटक ‘केसामी नाम्सामी’ पनि ।
नाटकको पृष्ठभूमी दर्शकले बुझ्दा मान्छेको सभ्यताको सुरुवातमा जस्तो देखिन्छ । नाटकको प्रस्तुति एक आफनै किशोर अवस्थामा रमिरहेकी किशोरीबाट हुन्छ ।
ऊनी हुर्कदै खेल्दै गर्दा आफू एकदिन गर्भवती भएको महसुस गर्छिन र केहि समयको अन्तरालमा नै दुई सन्तानको आमा बन्छिन् । एकै आमाको भए पनि फरक व्यक्तित्व भएको हुन्छन् भन्ने नेपालीमा भनाइ नै छ नि ‘सन्तान थरी–थरीका’ ! यहाँ पनि केसामी नाम्सामी पात्रहरुमा पनि फरक स्वभाव र व्यतित्वलाई प्रश्तुतिमा देखाउन खोजेको पाइन्छ । नाटकको प्रस्तुति अघि बढ्दै जाँदा, हाम्रो मनोविज्ञानको भाषामा ‘सिब्लिंग रैभलरी’ अर्थात् दाजुभाइ÷दिदीबहिनी बीचको प्रतिस्पर्धा वा प्रतिद्वन्द्वीता भन्ने बुझिन्छ । मनोविज्ञानमा यसलाई सामान्य विकासको एकपाटोको रुपमा लिइने गरिन्छ ।
तर, कहिलेकाहीँ यसले पारिवारिक सम्बन्धमा तनाव ल्याउन सक्छ भनिन्छ । केसामी, नाटकको दाइपात्र उसले आफ्नो भाईको जन्मपछि आफू आमाको मायाबाट परित्यक्त भएको महसुस गर्न थाल्छ त्यहिबाट भाइप्रतिको मायाको साटो इश्र्या, जलनको भाव पैदा हुन्छ । मनोविज्ञानले दाजुभाइ प्रतिद्वन्द्वीताको कारणहरु यस्ता बताएका छन्
१- बालबालिकाले अभिभावकको समय, माया, प्रशंसा र ध्यान प्राप्त गर्न एकअर्कासँग प्रतिस्पर्धा गर्न सक्छन्
२-अभिभावकबाट पक्षपात भएको महसुस (अभिभावकले वास्तवमै पक्षपात नगरे पनि बालबालिकाको धारणाले प्रभाव पार्न सक्छ )
३ -सामाजिक तुलना बालबालिकाले आफूलाई आफ्ना दाजुभाइ\दिदीबहिनीसँग पढाइ, खेलकुद, साथीहरू, अभिभावकको प्रशंसा यस्तै–यस्तै कुराहरुमा तुलना गर्नसक्छन् )
४ -स्वभावमा भिन्नता–मिलनसार, शान्त, आक्रामक, आत्मबिश्वासी, संबेदनशील)
५- जन्मक्रम र पारिवारिक भूमिका (पारिवारिक भूमिका र अपेक्षालाई प्रभावित गर्न सक्छ)
६-आफ्नो छुट्टै पहिचान बनाउने चाहना
७ -अभिभावकद्वारा तुलना
८ -अभिभावकीयशैली–अनियमित अनुशासन, फरक–फरक व्यवहार, अत्यधिक नियन्त्रण, अस्पष्ट पारिवारिक सीमाना, एक बच्चाप्रति बढी अपेक्षा नेपालको सन्दर्भमा जेठोबाट)
९ -पारिवारिक तनाव (आर्थिक समस्या, अभिभावक बीचको द्वन्द्व, नयाँ बच्चाको जन्म, बसाइँ सराइ, शैक्षिक दबाब, अभिभावकको व्यस्तता)
१० -Attachment र भावनात्मक सुरक्षा (असुरक्षित वा कम महत्त्व पूर्ण भएको महसुस)
मनोविज्ञानले दिएको कारण झैँ केसामी पनि आफूलाई आफ्नो आमाबाट पक्षपात भएको महसुस गर्छ । उनको त्यो धारणाले गर्दा उनको स्वभाव र अरुप्रतिको ब्यबहार पनि नकारात्मक बन्दै गएको प्रस्तुतिमा देखिन्छ । नाम्समी, भाई पात्र उसले उसको दाइ किन फरक छ ? दाइ किन सधै रिसाहा, आक्रामक, झगडालु अनि असामाजिक छ भनेर सोच्छ भने आमासँग पनि प्रश्न गरिरहेको हुन्छ । यसरी नै नाटकको प्रस्तुति अघि बढ्दै सकिन्छ ।
मुन्धुंम दर्शनमा आधारित कथामा नवसभ्यता सुरुवात भएपनि आज पनि हाम्रो समाजमा र मैले कामको दौरानमा धेरै केसामी नाम्सामीहरु भेट्छु । जो आफ्नो अस्तित्वको स्विकारोक्तिका लागि मानसिक रुपमा आफैसंग, परिवारसँग र समाजसँग लडिरहेको पाइन्छ ।
नाटकको अन्त्यमा केसामी नाम्समीलाइ बिम्ब (मेटाफोरको) रुपमा बुझाउदै हरेक मानवभित्र नै सकारात्मक र नकारात्मक दुवै गुणहरु हुन्छन् फरक यत्ति हो,कसलाई धेरै महत्व दिनुहुन्छ र आफ्नो जीवनको दैनिक स्वभाव बनाउनुहुन्छ । नाम्सामीले झैँ सकारात्मक गुणले जितेर केसामीलाइ बर्सौसम्म जिउँदो राख्यो, जुन नेपालको लिम्बु समुदायमा एक किसिमको बाजा जसलाई ‘च्याब्रुंग’ प्रचलन रहेछ ।
हजुरहरुलाई पनि अभिभावकद्वारा परित्यक्तको अनुभवले बाल मानसपटलमा परेको असरले कस्तो–कस्तो स्वरुप लिन सक्छ भनेर बुझ्न मन छ । आफ्नो बच्चाहरुका लागि के कथा सुनाउ भनेर खोज्दै हुनुहुन्छ, आफ्नो आभिभावलाइ बुझ्न मन छ, सन्तान र अभिभावक पुस्ताबीच अन्तरको धारणा कस्तो पनि भनेर बुझ्न मन छ भने केसामी नाम्समी एकपटक हेर्ने मौका नछुटाउनु हुन अनुरोध छ ।
आफ्नो आस्तित्वको स्वीकारोक्तिका लागि अरुको धारणालाई कति धेरै महत्व दिन्छौ चाहे परिवारको सम्बन्धसँग होस्, चाहे साथीभाईसँगको होस्, चाहे समाजसंगको जुन सायद त्यति महत्व पनि बोकेको हुदैनौ जति हामीले ठानेका हुन्छौ यस नाटकले तपाईलाई आत्मा मनन गर्न मज्जाले सहयोग गर्नेछ ।
प्रस्तुति: अर्पिता शुब्बा
वि.सं.२०८३ साउन ३१ आइतवार १५:४४ मा प्रकाशित






























