न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि फाउन्डेसन अमेरिका परिवारले न्युयोर्कको कुइन्सस्थित उडसाइडमा रहेको आफ्नै कार्यालयमा स्वागत गरेको छ।
घिमिरेसँगै उनकी धर्मपत्नी मीरा घिमिरे तथा नेपाली कांग्रेसका महाधिवेशन सदस्य प्रभात ओझा (प्रविन) पनि कार्यक्रममा सहभागी थिए। घिमिरेलाई प्रस्ट वक्ता, प्रबुद्ध, सरल, सादगीपूर्ण तथा मिलनसार व्यक्तित्वका रूपमा परिचित गराउँदै फाउन्डेसनले स्वागत गरेको हो।
स्वागत कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा धादिङ समाज अमेरिकाका निवर्तमान अध्यक्ष टक रुवाली, जिपिके फाउन्डेसन अमेरिकाका कार्यसमिति सदस्यहरू राजेश आचार्य, सूर्य सिम्खडा, ध्रुव क्षेत्री कुँवर र प्रेम क्षेत्रीलगायत समाजसेवी अक्कल तामाङ, जीवन गुरुङ, सन्तोष भण्डारी तथा नेपाली कांग्रेस निकट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन पूर्वएसपी दानबहादुर मल्लले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतलाई मातृभूमिको विकासमा उपयोग गर्न सक्ने बताएका थिए। विश्वका विभिन्न देशको उदाहरण प्रस्तुत गर्दै उनले विदेशी नागरिकता लिएर विदेशमा रहे पनि नेपाल र नेपालीको हितमा योगदान गर्न सकिने धारणा राखे।
उनले क्यानडालगायतका देशमा रहेका नेपाली समुदायको सहभागिताको उदाहरण दिँदै विदेशमा रहेका नेपालीको क्षमता र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिए।
महामन्त्री घिमिरेले जिपिके फाउन्डेसन अमेरिकाले गर्दै आएका मानवीय तथा सामाजिक सेवामूलक कार्यहरूको प्रशंसा समेत गरे। विशेषगरी कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री, फलफूल, खोप, खाद्यान्न तथा विद्यार्थीहरूलाई आवश्यक सामग्री सहयोग गरेको उल्लेख गर्दै उनले फाउन्डेसनको सामाजिक योगदानको सराहना गरे।
उनले आगामी दिनमा पनि फाउन्डेसनले सामाजिक सेवाका गतिविधिलाई अझ सशक्त बनाउँदै नेपाल र नेपालीको गौरव बढाउने कामलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा अमेरिकामा रहेका नेपाली समुदायले स्थानीय कानुन, नियम र सामाजिक मर्यादाको पूर्ण पालना गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। जिपिके फाउन्डेसन अमेरिकाका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले अमेरिकामा बसोबास गर्ने नेपालीहरूले कानुनी शासन र अनुशासनलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
अमेरिकाको कानुनअनुसार गर्न हुने र नहुने विषयमा सबै सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै लामाले नेपालमा देखिने मनपरी प्रवृत्र् िअमेरिकामा स्वीकार्य नहुने बताए। उनले कानुनी दायराभित्र रहेर सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्न नेपाली समुदायलाई आग्रह गरे।
कार्यवाहक अध्यक्ष लामाले जिपिके फाउन्डेसन अमेरिका आगामी दिनमा पनि मानवसेवा, सामाजिक उत्तरदायित्व तथा अमेरिका, नेपाल र नेपालीलगायत सबै समुदायको हितमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
वि.सं.२०८३ भदौ ६ शनिवार ११:२० मा प्रकाशित






























