नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को ‘आर एन्ड डी–१०० अवार्ड’ प्राप्त गरेपछि उनी सम्मानित भएका हुन्।
डा। अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत छन्। उनको नेतृत्वमा रहेको टोलीले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधि विश्वभरबाट छनोट भएका सन् २०२६ का १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमध्ये परेको हो।
विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने ‘आर एन्ड डी–१०० अवार्ड’लाई प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ। विश्वका विभिन्न अनुसन्धान संस्था, विश्वविद्यालय तथा उद्योगबाट विकास गरिएका हजारौँ प्रविधिमध्ये प्रभावशाली १०० प्रविधिलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ।
उनको टिमले बनाएको उक्त प्रविधिले विद्युतीय सवारीसाधन, मोबाइल फोन, ल्यापटप तथा ठूला ऊर्जा भण्डारण प्रणालीमा लिथियम–आयन ब्याट्रीको प्रयोग बढ्दै गएको अवस्थामा ‘इलेक्ट्रो–लिथ’ प्रविधिले ब्याट्री उत्पादन प्रक्रियालाई थप छिटो, कम खर्चिलो र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।
परम्परागत उत्पादन प्रक्रियालाई सरल बनाउन सक्ने यस प्रविधिले ब्याट्री निर्माणमा लाग्ने समय र ऊर्जा घटाउनुका साथै उत्पादन लागतसमेत कम गर्न सक्ने अपेक्षा गरिएको छ।
बेलायतको सुरी विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरेका डा. अधिकारीले अमेरिकाको वेक फरेस्ट विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन्।एक दशकभन्दा लामो अनुसन्धान अनुभव भएका उनले ऊर्जा, ब्याट्री, इलेक्ट्रोक्याटालाइसिस, उन्नत सामग्री तथा नयाँ उत्पादन प्रविधिलगायतका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।
सन् २०२६ का ‘आर एन्ड डी–१०० अवार्ड’ विजेताहरूलाई आगामी नोभेम्बरमा अमेरिकाको एरिजोनामा आयोजना हुने विशेष समारोहमा औपचारिक रूपमा सम्मान गरिनेछ। समारोहमा विश्वभरका वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रविधि विकासकर्ता तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
नेपालमा अध्ययन गरेर अन्तर्राष्ट्रिय अनुसन्धानको क्षेत्रमा प्रवेश गर्न सकिने उदाहरण आफ्नो यात्राले दिएको डा. अधिकारीको भनाइ छ।
“नेपालका विद्यार्थीमा प्रतिभाको कमी छैन। अवसर, मिहिनेत र निरन्तर सिकाइ आवश्यक हुन्छ। आफूले रोजेको क्षेत्रमा इमानदारीपूर्वक काम गर्दै जाने हो भने नेपालबाट पनि विश्वस्तरीय अनुसन्धान गर्न सकिन्छ,” उनले भनेका छन्। नेपालमा विज्ञान तथा प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले विशेषगरी युवापुस्तालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्।
वि.सं.२०८३ भदौ ३ बुधवार १६:३९ मा प्रकाशित






























