back
CTIZAN AD

मित्रलाल पार्देको फरक बहस – नेपाली राहदानीको सम्मानदेखि प्रवासी नेपालीको अधिकारसम्म

वि.सं.२०८३ भदौ २ मंगलवार

525 

shares

मित्रलाल पार्दे, स्थायी घर दाङ जिल्ला, तर लामो समय देखि परिवारसहित पोल्याण्डमा रहँदै आएका छन् । पार्देले प्रवासमा रहेर नेपाली समुदायका विभिन्न सामाजिक तथा साहित्यिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिँचाइ होस्’ भन्ने नारासहित पानी अभियानमा समेत सक्रिय छन्। आफ्नो जन्मथलो दाङको लक्ष्मीपुर–सुनपुरमा पानीको समस्या समाधानका लागि उनले अभियान सञ्चालन गरेका थिए।

पछिल्लो समय पोल्यान्डमा उनको परिवारले भोगिरहेको लामो प्रशासनिक तथा मानवीय समस्याबारे पनि उनले पोल्यान्डका राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा मानव अधिकारसम्बन्धी निकायहरूमा अपिल गरेका छन् ।

विदेशमा बस्ने नेपालीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बहस अघि सार्दै प्रवासी नेपाली अभियन्ता मित्रलाल पार्देले विदेशमा बस्ने सबैलाई गैरआवासीय नेपाली भन्न नहुने भन्दै नेपाली नागरिकता र राहदानी कायम राखेर विदेशमा बस्ने नेपाली तथा विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिको अवस्था, आवश्यकता र अधिकार फरक हुने भएकाले राज्यको नीति पनि सोहीअनुसार स्पष्ट हुनुपर्ने बताएका छन् ।

त्यसैक्रममा उनले वैदेशिक प्रवासी नेपाली संघ(FRNA)को नयाँ अवधारणासमेत बहसमा ल्याएका छन् । पार्देको विचारमा विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई एउटै वर्गमा राखेर हेर्दा उनीहरूको वास्तविक अवस्था र प्राथमिकता ओझेलमा पर्न सक्ने तर्क छ ।

विदेशमा बस्ने नेपालीलाई समग्र रूपमा गैरआवासीय नेपाली (NRN) भनेर बुझ्ने र वर्गीकरण गर्ने अभ्यासले धेरै महत्वपूर्ण विषयलाई अस्पष्ट बनाएको उनको बुझाइ छ । एकले अर्कोको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्नु पर्ने भन्दै उनी भन्छन् FRN र NRN एकअर्काका प्रतिस्पर्धी होइनन्, उनीहरू नेपालसँग जोडिएका फरक अवस्थाका नेपाली हुन्। फरक अधिकार र प्राथमिकता भए पनि एकले अर्कोको अस्तित्व र सम्मानलाई स्वीकार गर्नुपर्छ।

रोजगारी, अध्ययन, व्यवसाय वा अन्य कारणले विदेशमा रहेका नेपालीको नेपालसँगको सम्बन्ध एउटै भए पनि उनीहरूको कानुनी हैसियत र आवश्यकता फरक हुन सक्छ । त्यसैले विदेशमा रहेका नेपालीबीच विभाजन वा प्रतिस्पर्धाभन्दा पनि एकले अर्कोको स्वाभिमान, पहिचान र योगदानको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ ।

नेपाली नागरिकता र राहदानी बोकेकाको प्राथमिकता के ?

पार्देले नेपाली नागरिकता र नेपाली राहदानी कायम राखेर विदेशमा बसिरहेका नेपालीलाई उनीहरूको पहिचानको सबैभन्दा महत्वपूर्ण आधार नै नेपाली नागरिकता र नेपाली राहदानी भएको बताएका छन् । उनका अनुसार उनीहरू रोजगारी, व्यापार, अध्ययन वा अन्य कारणले विदेशी भूमिमा पुगे पनि नेपाली राहदानीले उनीहरूलाई आफ्नो देशसँग जोडिरहेको हुन्छ ।

विशेषगरी मध्यपूर्व तथा अन्य मुलुकमा श्रम गरिरहेका लाखौँ नेपालीलाई हेर्दा यो विषय अझ महत्वपूर्ण हुने उनको तर्क छ । विदेशी भूमिमा पसिना बगाइरहेका ती नेपालीका लागि उनीहरूको प्राथमिकता सधैं दोहोरो नागरिकता मात्र नहुन सक्छ । बरु उनीहरूले बोकेको नेपाली राहदानीको अन्तर्राष्ट्रिय सम्मान, नेपाली नागरिकको सुरक्षा र आफ्नो देशप्रतिको पहिचान महत्वपूर्ण विषय बन्न सक्छ ।

त्यसैले पार्देले “नेपाली राहदानी बलियो बनाऔँ, नेपाली नागरिकको स्वाभिमान बलियो बनाऔँ” भन्ने बहस अघि सारेका छन् । उनका लागि नेपाली राहदानी एउटा कागज मात्र नभई देश, पहिचान र स्वाभिमानसँग जोडिएको विषय हो ।

अर्कोतर्फ, विदेशी नागरिकता लिएर विदेशमा बसोबास गरिरहेका नेपाली मूलका व्यक्तिको नेपालसँगको सम्बन्धलाई पनि कम आँक्न नहुने पार्देको धारणा छ । विदेशी नागरिकता लिएपछि पनि उनीहरूको नेपालसँगको पारिवारिक, भावनात्मक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध समाप्त नहुने भएकाले नेपालले उनीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई देश निर्माणमा उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।

तर विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिको अधिकार र नेपाली नागरिकता कायम राखेर विदेशमा बसिरहेका नेपालीको अधिकारलाई एउटै विषयका रूपमा बुझ्न नहुने उनको तर्क छ ।

दोहोरो नागरिकता : सबैको एउटै प्राथमिकता होइन

पार्देले प्रवासी नेपाली समुदायमा लामो समयदेखि उठ्दै आएको दोहोरो नागरिकताको विषय महत्वपूर्ण भए पनि विदेशमा रहेका सबै नेपालीको एउटै प्राथमिकता दोहोरो नागरिकता हो भन्न नमिल्ने बताएका छन् ।

विदेशी नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिका लागि नेपालसँगको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने अधिकार महत्वपूर्ण हुन सक्छ । तर नेपाली नागरिकता र राहदानी कायम राखेर विदेशमा काम गरिरहेका नेपालीका लागि नागरिकता, राहदानी, सुरक्षा र नेपालको सम्मान फरक प्राथमिकताको विषय हुन सक्छ ।

त्यसैले उनको प्रस्तावमा प्राथमिकता स्पष्ट हुनुपर्छ—नेपाली नागरिकता र राहदानी बोकेका नेपालीको प्राथमिकता नेपाली नागरिकता, नेपाली राहदानी र स्वाभिमानको संरक्षण हो भने विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिको प्राथमिकता नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अवसर हुन सक्छ ।

आर्थिक अधिकार र राजनीतिक अधिकार छुट्याउनुपर्ने बहस

पार्देले विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिलाई नेपालमा लगानी तथा आर्थिक गतिविधिमा सहभागी हुन सहज वातावरण बनाउनुपर्ने भए पनि आर्थिक अधिकार र राजनीतिक अधिकारलाई एउटै डालोमा राख्न नहुने धारणा अघि सारेका छन् ।

विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिले नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न चाहने हो भने उनीहरूको नेपालसँगको वास्तविक सम्बन्ध, जिम्मेवारी र प्रत्यक्ष सहभागितालाई आधार बनाउन सकिने उनको सुझाव छ । यस विषयमा बहस गर्दै उनले राजनीतिक अधिकारका लागि कम्तीमा पाँच वर्ष नेपालमा बसेको हुनुपर्ने जस्ता प्रावधानबारे पनि विचार गर्न सकिने बताएका छन् । उनका अनुसार नेपालमा बसेर नेपाली समाज, जनता, देशका समस्या र वास्तविकतालाई नजिकबाट बुझ्ने अवसरले राजनीतिक सहभागितालाई अझ जिम्मेवार र अर्थपूर्ण बनाउन सक्छ ।

विभाजन होइन, सम्मानको सम्बन्ध

पार्देको बहसको मुख्य केन्द्र भने विदेशमा रहेका नेपालीबीच विभाजन सिर्जना गर्नु नभई एकअर्काको पहिचान र योगदानको सम्मान गर्नु हो । नेपाली नागरिकता र राहदानी बोकेर विदेशमा आफ्नो पहिचान जोगाइरहेका नेपालीले विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिको नेपालप्रतिको योगदान र लगानीको सम्मान गर्नुपर्ने र विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिले पनि नेपाली नागरिकता तथा राहदानी कायम राखेर विदेशमा संघर्ष गरिरहेका नेपालीको स्वाभिमानको सम्मान गर्नुपर्ने उनको धारणा छ ।

उनी सरकारलाई पनि विदेशमा बस्ने सबै नेपालीलाई एउटै वर्गमा राखेर नीति निर्माण नगर्न आग्रह गर्छन् । मध्यपूर्वमा श्रम गरिरहेका नेपाली, युरोप वा अमेरिकामा व्यवसाय गरिरहेका नेपाली, अध्ययनका लागि विदेशमा रहेका विद्यार्थी तथा विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिका आवश्यकता फरक हुन सक्ने भएकाले नीति पनि उनीहरूको वास्तविक अवस्था र आवश्यकताअनुसार बन्नुपर्ने उनको तर्क छ ।

‘पहिचान फरक हुन सक्छ, स्वाभिमान सबैको समान हुन्छ’

पार्देको यो बहसको सार विदेशमा रहेका नेपालीलाई अधिकारका नाममा विभाजित गर्नु होइन, उनीहरूको फरक अवस्था स्वीकार गर्दै साझा सम्बन्धलाई बलियो बनाउनु हो । उनका अनुसार कसैको पहिचान नेपाली नागरिकतासँग जोडिएको छ, कसैको नेपालसँगको भावनात्मक, सांस्कृतिक र आर्थिक सम्बन्धसँग । तर दुवैलाई जोड्ने आधार भनेको नेपालप्रतिको सम्बन्ध नै हो ।

त्यसैले अबको बहस कसको अधिकार बढी वा कम भन्नेभन्दा पनि कसरी सबैको अधिकार, पहिचान र स्वाभिमान सुरक्षित गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । पार्देको अवधारणाको निष्कर्षमा—“पहिचान फरक हुन सक्छ, अवस्था फरक हुन सक्छ, अधिकार फरक हुन सक्छस तर स्वाभिमान सबैको समान हुन्छ ।”

उनको यो बहसले नेपाली नागरिकता, गैरआवासीय नेपालीको अधिकार, दोहोरो नागरिकता, नेपाली राहदानीको अन्तर्राष्ट्रिय सम्मान तथा प्रवासी नेपालीको नेपालसँगको सम्बन्धबारे भइरहेको बहसलाई नयाँ कोणबाट हेर्नुपर्ने प्रश्न उठाएको छ ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३८ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...