काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई विभागमा अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको हो।
विभागले सूचना जारी गर्दै विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ तथा विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले विद्युतीय माध्यमबाट व्यापार गर्ने व्यवसायीले कानुनी व्यवस्था पालना गर्नुपर्ने जनाएको हो।
ऐनअनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जालका मार्केटप्लेसलगायत विद्युतीय माध्यम प्रयोग गरी वस्तु वा सेवाको कारोबार गर्ने व्यवसाय ई–कमर्सअन्तर्गत पर्छ। यस्ता व्यवसायीले व्यवसाय सञ्चालन गर्नुअघि ऐनको दफा ४ बमोजिम विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा ५ बमोजिम विभागको पोर्टलमा सूचीकरण हुनुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
विभागका अनुसार पछिल्लो समय विभिन्न विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने सम्बन्धी गुनासा बढिरहेका छन्।
त्यसैले विद्युतीय माध्यम वा प्लेटफर्मबाट वस्तु तथा सेवाको कारोबार सञ्चालन गर्ने सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा विभागमा सूचीकृत हुन विभागले आग्रह गरेको छ।
सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ९ई–कमर्स० ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागले उपभोक्ताको अधिकार संरक्षण गर्दै स्वच्छ तथा प्रतिस्पर्धी बजार निर्माणका लागि कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
वि.सं.२०८३ भदौ २ मंगलवार १२:१८ मा प्रकाशित






























