हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा चालक दाङ राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका–९ का करिब ५७ वर्षीय गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। बैतडी दशरथचन्द नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडु पनि घाइते भएका छन्। उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ।
उनीहरूका छोरा २५ वर्षीय रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ भने दिदी ३१ वर्षीया रिता बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
वि.सं.२०८३ भदौ २ मंगलवार ११:१९ मा प्रकाशित






























