अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशन १२ वर्षपछि सम्पन्न भएको छ । लामो समयदेखि जारी शक्ति संघर्ष र कांग्रेसभित्रको आन्तरिक विवादका कारण नेतृत्व परिवर्तन हुन नसकेको अवस्थामा सम्पन्न अधिवेशनले मुनिन्द्र नेम्वाङको नेतृत्वमा १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्समा आयोजित अधिवेशन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कांग्रेस सभापति गगनकुमार थापाले जुममार्फत अधिवेशनलाई सम्बोधन गर्दै १२ वर्षसम्म अधिवेशन हुन नसक्नु पार्टीको कमजोरी भएको स्वीकार गरे । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै जनसम्पर्क समिति अमेरिकालाई अब थप प्रभावकारी र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै थापाले भने, “हामी आलोचना गर्ने ठाउँमा आलोचना गर्छौं, हामी विपक्षीको भूमिका ठीक ठाउँमा गर्छौं ।” उनले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे ।
कांग्रेस फेरि उठ्ने घिमिरेको दाबी
अधिवेशनका प्रमुख अतिथि एवं कांग्रेस महामन्त्री गुरुराज घिमिरेले वर्तमान सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि तथा सर्वोच्च अदालतमा परेको निवेदनलगायत समसामयिक राजनीतिक विषयमा धारणा राखे ।
घिमिरेले नेपाली कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको दाबी गर्दै सरकार र अन्य राजनीतिक दललाई समेत खबरदारी गरे । इतिहास बोकेको कांग्रेस मुलुकको सशक्त राजनीतिक शक्ति भएकाले त्यसलाई कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ थियो ।
उनले रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरोस् भन्ने शुभकामना दिँदै सरकारका कामको निरन्तर निगरानी गर्ने र आवश्यक ठाउँमा खबरदारी गरिरहने बताए । प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उनको भनाइ थियो ।
घिमिरेले निर्वाचनका क्रममा कांग्रेसले ३५ वर्षसम्म काम गर्न नसकेको भन्ने भाष्य सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलाइएको र त्यसको नकारात्मक प्रभाव मतदातामा परेको बताए । २००३ सालमा स्थापना भएको कांग्रेस आजको अवस्थामा पुग्नुमा सामाजिक सञ्जालमा निर्माण गरिएको नकारात्मक भाष्यले पनि भूमिका खेलेको उनको भनाइ थियो ।
तर कांग्रेस पुनः उठ्ने दाबी गर्दै घिमिरेले आगामी महाधिवेशन, नेतृत्व तथा नीतिगत पुनर्संरचनालाई लिएर कोही निराश वा विचलित हुन नहुने बताए । अदालतमा विचाराधीन विषयमा समेत अन्ततः कांग्रेसकै पक्षमा फैसला आउने विश्वास व्यक्त गर्दै उनले कार्यकर्तालाई संयमित भएर अघि बढ्न आग्रह गरे ।
त्यस्तै कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले सम्बोधन गदैृ सामाजिक सञ्जालमा पार्टीका गतिविधि र धारणा प्रभावकारी रूपमा सार्वजनिक गर्न नेता–कार्यकर्तालाई आग्रह गरे । निर्वाचनका बेला रास्वपाले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेको र त्यसबाट उसलाई राजनीतिक लाभ पुगेको उनको विश्लेषण थियो ।
उनले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले रास्वपालाई बहुमत नजिक पुग्न सहयोग गरेको उल्लेख गर्दै कांग्रेसले पनि नयाँ पुस्तासँग जोडिन डिजिटल माध्यमलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘कांग्रेस केन्द्रीय सदस्य बाला अधिकारीले १२ वर्षसम्म नेतृत्व परिवर्तन हुन नसक्दा जनसम्पर्क समिति अमेरिकामा उत्पन्न भएको असन्तुष्टि र उकुसमुकुस आफूले महसुस गरेको बताइन्।
“१२ वर्षसम्म नेतृत्व परिवर्तन नहुँदा कति उकुसमुकुस भएको थियो भन्ने कुरामा म विश्वास गर्छु । आज १२ वर्षपछि यो हुँदै गर्दा तपाईंहरू खुसी हुनुपर्छ,” उनले भनिन् ।
अब नीति र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै अधिकारीले कांग्रेसको गर्विलो इतिहास रहेको बताइन् । उनले वर्तमान सरकारका कामकारबाहीप्रति व्यंग्य गर्दै पाँच महिना नपुगेको सरकारको कार्यसम्पादनलाई जनताले मूल्यांकन गरिरहेको टिप्पणी गरिन् ।
२६ च्याप्टरबाट प्रतिनिधि सहभागी
अधिवेशनमा अमेरिकाका २६ वटा च्याप्टरबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अधिवेशनको पूर्वसन्ध्यामा गत शुक्रबार विधान संशोधनका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमको सुरुवात जीवन विज्ञानको योग अभ्यासबाट गरिएको थियो । त्यसपछि नेपाल र अमेरिकाका राष्ट्रिय गान बजाइएको थियो । कांग्रेस महामन्त्री एवं प्रमुख अतिथि गुरुराज घिमिरेलगायतले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरण, गैरआवासीय नेपाली संघ (एनआरएनए)की पूर्वअध्यक्ष रविना थापा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति आनन्द विष्ट, नेपाली प्रवासी संघ (ओएनएस)का कृष्ण लामिछानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए ।
स्थानीय आयोजक समितिका संयोजक राम मिश्रले स्वागत मन्तव्य राखेका थिए ।
१२ वर्षपछि अधिवेशन
नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिका तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा सन् २००६ मा तदर्थ समितिका रूपमा स्थापना भएको थियो । सन् २००७–०८ मा भएको पहिलो अधिवेशनबाट समितिले संस्थागत स्वरूप पाएको थियो ।
त्यसपछि सन् २०१४ को सेप्टेम्बरमा टेक्ससमा दोस्रो अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट आनन्द विष्ट सभापतिमा निर्वाचित भएका थिए । तर त्यसयता लामो समयसम्म शक्ति संघर्ष र पार्टीभित्रको विवादका कारण अधिवेशन हुन सकेन ।
करिब १२ वर्षसम्म नेतृत्वमा रहेका विष्टले गत फागुन १९ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएपछि सभापति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि लामो समयदेखि रोकिएको अधिवेशन गराउन पार्टीभित्र थप दबाब बढेको थियो ।
कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा विधानअनुसार अन्ततः तेस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा करिब ८०० केन्द्रीय प्रतिनिधि सहभागी भएका थिए भने जनसम्पर्क समिति अमेरिकामा करिब ४ हजार सदस्य रहेको बताइएको छ ।
नेम्वाङ १२८ मतान्तरले विजयी
प्रमुख निर्वाचन आयुक्त भक्त थापाका अनुसार सभापतिमा मुनिन्द्र नेम्वाङले निकटतम् प्रतिस्पर्धी सीपी पौड्याललाई १२८ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले २६६ मत प्राप्त गर्दा पौड्यालले १३८ मत पाए ।
सभापतिमा नेम्वाङ र पौड्यालसहित सन्तोष पहारी, ध्रुव गौतम, वेदप्रसाद खरेल र अमृत सापकोटा गरी ६ जना प्रतिस्पर्धामा थिए ।
वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित भएका छन् । उनले ज्ञानेन्द्रराज कार्कीलाई पराजित गरे । भट्टले १३२ मत प्राप्त गर्दा कार्कीले १०४ मत पाए । वरिष्ठ उपसभापतिमा उत्तम धमला र चन्द्रकान्त धिताल पनि प्रतिस्पर्धामा थिए ।
उपसभापतिमा संजीव श्रेष्ठ, हरि शर्मा, श्रीराम थापा र निमा बोम्जन निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले २३५, थापाले १८०, शर्माले १७८ र बोम्जनले १४५ मत प्राप्त गरेका छन् । उपसभापतिका लागि १० जना चुनावी प्रतिस्पर्धामा थिए ।
त्यस्तै युवा उपसभापतिमा सुशील खत्री, महिला उपसभापतिमा लक्ष्मी कार्की र युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित भएका छन् ।
महामन्त्रीमा गौतम दाहाल र नारायण खनाल विजयी भएका छन् । दाहालले १८४ र खनालले २०४ मत प्राप्त गरे । महामन्त्रीमा दाहाल र खनालसँगै किलनचान राई, प्रतीक पाण्डे र अनन्तराज सुवेदी पनि प्रतिस्पर्धामा थिए ।
सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार, युवा सहमहामन्त्रीमा सुमन केसी र सिर्जना भट्ट तथा कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
लामो समयपछि नेतृत्व हस्तान्तरण भएको यो अधिवेशनसँगै जनसम्पर्क समिति अमेरिकाले नयाँ कार्यसमिति पाएको छ । अब नयाँ नेतृत्वसामु विगतको गुटगत विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने, २६ वटै च्याप्टरबीच समन्वय बढाउने तथा अमेरिकामा रहेका नेपाली समुदायबीच कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउने चुनौती देखिएको छ ।
(अमेरिकाबाट विजय थापाको सहयोगमा)
वि.सं.२०८३ भदौ १ सोमवार १४:०२ मा प्रकाशित






























