झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनका नाममा सामाजिक सञ्जालमा अभियान चलाउने र हस्ताक्षर संकलन गर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्। झापाको बिर्तामोडबाट सुरु भएको एमालेको ‘मिसन पार्टी जागरण’ अभियानलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र असहमति भए कमिटीमै छलफल गर्नुपर्ने बताए।
ओलीले पार्टीभित्र आफ्नो राजिनामा माग्नेलाई तह लगाउने चेतावनी दिएका छन्। उनले आफ्नो विरोध गर्नेलाई चुप लागेर घरमा बसे हुन्छ भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने “केही पार्टी कार्यालयको क्यान्टिनमा बसेर हल्ला राखेका छन् । कोही हस्ताक्षर गर्दै हिँड्या छ। अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ।’
उनले अध्यक्ष हटाउनुपर्ने धारणा भए विधि र प्रक्रियाअनुसार पार्टीभित्रै विषय उठाउन सकिने तर बाहिर अभियान चलाएर नेतृत्व परिवर्तन गर्न खोज्नु अनुशासनहीनता र अराजकता भएको टिप्पणी गरे। पार्टीमा लोकतान्त्रिक अभ्यास रहेकाले आफू आलोचना सुन्न तयार रहेको पनि उनले बताए।
ओलीले अहिले एमालेमा पुनर्गठन नभई संगठनको पुनर्जागरण आवश्यक रहेको बताए। सदस्य संख्याभन्दा कम मत आउनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले नयाँ सदस्य थप्ने, सदस्यता नवीकरण गर्ने र संगठनलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिए।
उनले विगतमा पनि आफूलाई पार्टीबाट हटाउने तथा एमाले विभाजन गर्ने प्रयास भएको स्मरण गर्दै ती चुनौती पार गरेर पार्टीलाई बलियो बनाएको दाबी गरे। एमालेमा देशको सामाजिक, भौगोलिक र जातीय विविधता प्रतिबिम्बित हुने बताउँदै ओलीले पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।
पार्टीभित्र आफूले कसैलाई हप्काउने वा मालिकको व्यवहार गर्ने नगरेको दाबी गर्दै उनले एमालेमा कोही मालिक र कोही दास नरहेको बताए। पार्टीको नेतृत्व र नीतिप्रति असन्तुष्टि भए खुलेर छलफल गर्न सकिने तर त्यसलाई बाहिर तमासा बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।
वि.सं.२०८३ साउन ३१ आइतवार १६:३२ मा प्रकाशित






























