काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धार्मिक तथा सांस्कृतिक पहिचान, संविधान संशोधन र भेलाबाट प्राप्त सुझावलाई दस्तावेजीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै, १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्दै अघि बढाउने निर्णय गरेको छ।
भेलाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेको छ। महाधिवेशनको विषयमा कांग्रेसभित्र देखिएको विवाद र विभिन्न समूहबीचको मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने सन्देश पनि भेलाले दिएको छ।
भेलामा बोल्दै देउवाले न्यायालयले पटक–पटक आफूलाई न्याय दिएको बताएका थिए। विशेष महाधिवेशनमा धेरै नेता–कार्यकर्तालाई सहभागी हुनबाट रोकिएको भन्दै त्यसविरुद्ध आफूहरू अदालत गएको उल्लेख गर्दै उनले अदालतकै कारण आफू नेपाल फर्कन सक्ने अवस्था बनेको बताए। अदालतको पूर्ण फैसला आउन बाँकी रहेकाले यस विषयमा आफूले धेरै नबोल्ने र अदालतको निर्णय स्वीकार गर्ने पनि देउवाले स्पष्ट पारे।
भेलाले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय संकटलाई ध्यानमा राख्दै अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई पुनः स्मरण गरेको छ। अहिले पनि मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै भेलाले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै लोकतान्त्रिक तथा राष्ट्रिय शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावसमेत पारित गरेको छ। नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावमा उल्लेख छ। धार्मिक पहिचानसँगै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई कायम राख्ने विषयलाई पनि कांग्रेसले जोड दिएको छ।
वर्तमान संविधानमा देखिएका अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि पहल गर्ने निर्णय पनि भेलाले गरेको छ। संविधानमै व्यवस्था गरिएको प्रक्रियाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक निकास खोज्ने प्रस्ताव पारित गरिएको हो।
यसले संविधान संशोधनलाई कुनै एक पक्षको एजेन्डाका रूपमा नभई सम्बन्धित सबै पक्षसँगको छलफल र सहमतिका आधारमा अघि बढाउने कांग्रेसको धारणा प्रस्तुत गरेको छ।
भेलामा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई लिखित र व्यवस्थित दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।
समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहने व्यवस्था गरिएको छ। समितिले राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका विभिन्न प्रस्ताव तथा सुझावलाई समेटी आवश्यक परिमार्जनसहित अन्तिम दस्तावेज तयार गर्नेछ।
पाँचबुँदे प्रस्तावमार्फत कांग्रेसले आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रियता, लोकतन्त्र, धार्मिक–सांस्कृतिक पहिचान र संविधान संशोधनका विषयमा आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गरेको छ।
यस्तो छ भेलाले पारित गरेको पाँच बुँदे प्रस्ताव
१) १४ औं महाधिवेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२) २०३३ सालमा महामानव वीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमीलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवादगरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने
३) नेपालको सनातनदेखि चली आएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, वौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
४) वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै संम्बन्धित सबैसँग सम्वाद गरि निकाश दिइने छ ।
५) २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन.पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनवहादुर विश्वकर्मा र दीपक प्रसद कुइकेल रहनु हुनेछ ।
वि.सं.२०८३ साउन ३१ आइतवार १६:०७ मा प्रकाशित






























