नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक रूपमा प्रवेश गरेका छन्। टोकियोमा आयोजित विशेष समारोहबीच हाइलाइफका चिउरा, मस्यौरा, गेडागुडी, दाल, कोदोको पिठोलगायत नेपाली खाद्य उत्पादन जापानी बजारमा सार्वजनिक गरिएको हो।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जापानको बजारमा हाइलाइफको प्रवेशलाई नेपाली किसान, कृषि उत्पादन, उद्योग तथा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण सुरुवातका रूपमा लिएको बताए ।
“नेपाली भएकै कारण नभई गुणस्तरीय भएकै कारण नेपाली उत्पादन रोजिने वातावरण निर्माण गर्न चाहन्छौँ,” पौडेलले भने ।
उनले नेपालमा उत्पादित कृषि उपजलाई आधुनिक प्रविधिबाट गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र प्रभावकारी ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कम्पनीको लक्ष्य रहेको बताए। यसबाट नेपाली किसानले उत्पादनको उचित बजार पाउनुका साथै स्वदेशी कृषि, उद्योग र उद्यमशीलतालाई थप प्रोत्साहन मिल्ने उनको भनाइ थियो।
जापान गुणस्तर, खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता विश्वासका दृष्टिले संवेदनशील बजार भएकाले यहाँ हाइलाइफका उत्पादनको प्रवेश अवसरसँगै गुणस्तरको महत्वपूर्ण परीक्षा पनि भएको पौडेलले उल्लेख गरे । जापानी बजारका आवश्यकता र मापदण्डलाई ध्यानमा राख्दै उत्पादनको गुणस्तर, खाद्य सुरक्षा, प्याकेजिङ तथा आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकता दिइने उनले बताए।
हाइलाइफले नेपाली मौलिक खाद्य संस्कृति तथा आधुनिक उपभोक्ताको पोषण र खाद्य आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न उत्पादन बजारमा ल्याएको जनाएको छ। विशेषगरी कोदो, दाल, गेडागुडी तथा अन्य स्थानीय कृषि उपजलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी आकर्षक प्याकेजिङसहित अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अभियानलाई कम्पनीले प्राथमिकता दिएको छ।
अध्यक्ष पौडेलले विदेशमा रहेका नेपालीले स्वदेशी उत्पादनको प्रयोग तथा प्रवर्द्धनमार्फत नेपाली किसान, उद्योग र उद्यमशीलतालाई सहयोग गर्न सक्ने बताउँदै जापानस्थित नेपाली समुदायलाई हाइलाइफका उत्पादन प्रयोग गर्न आग्रह गरे। नेपाली उत्पादनलाई विदेशी बजारमा स्थापित गर्न उपभोक्ता, वितरक, व्यवसायी तथा नेपाली समुदायबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
जापानमा हाइलाइफका उत्पादनको आधिकारिक वितरणको जिम्मेवारी पूर्ण ट्रेडिङ कम्पनीले लिएको छ। जापानी बजारमा उत्पादनको पहुँच विस्तार गर्न पूर्ण ट्रेडिङसँग दीर्घकालीन व्यावसायिक साझेदारीका रूपमा सहकार्य अघि बढाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जापानमा प्रवेशसँगै आगामी दिनमा जापानका विभिन्न सहरमा हाइलाइफका उत्पादनको बजार विस्तार गरिनेछ। त्यसपछि अमेरिका, अस्ट्रेलिया, युरोप तथा मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ।
कम्पनीले जापानमा आफ्नो उत्पादनको प्रवेशलाई व्यापार विस्तारको अवसर मात्र नभई नेपाली कृषि उत्पादन, किसान, उद्योग, उद्यमशीलता र नेपाली ब्रान्डलाई विश्व बजारसँग जोड्ने अभियानको महत्वपूर्ण पाइलाका रूपमा लिएको जनाएको छ।
गुणस्तरीय नेपाली उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान स्थापित गर्ने तथा स्वदेशी कृषि उत्पादनको मूल्य अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।
समारोहमा प्रमुख अतिथिका रूपमा निमा रुमा तथा विशेष अतिथिका रूपमा व्यवसायी टिका श्रेष्ठ र जापान नेपाल चेम्बरका अध्यक्ष डा बलराम श्रेष्ठ सहभागी थिए । हाइलाइफ फूड्सका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन अमर गुरुङले गरेका थिए ।
हाईलाइफले नेपालमा बासमती चामल, चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।
वि.सं.२०८३ भदौ १ सोमवार २१:१५ मा प्रकाशित






























