काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रदान गरिने मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान गरेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एक सूचना जारी गर्दै प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रदान गरिने मानव अधिकार पुरस्कारका लागि योग्य व्यक्ति तथा संस्थाको सिफारिस गर्न आग्रह गरेको हो।
मन्त्रालयले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका योग्य व्यक्ति तथा संस्थालाई पुरस्कार छनोट प्रक्रियामा सहभागी गराउन यस्तो आह्वान गरेको हो।
मन्त्रालयका अनुसार मानव अधिकार पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ र मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७६ बमोजिम आवश्यक कागजातसहित सिफारिस गर्नुपर्नेछ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मन्त्रालय वा मन्त्रालयको इमेल infolaw@moljpa.gov.np मा सिफारिस पठाउन सकिने मन्त्रालयले जनाएको छ।
मानव अधिकार पुरस्कारसम्बन्धी नियमावली तथा कार्यविधि मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
वि.सं.२०८३ भदौ १ सोमवार २१:०१ मा प्रकाशित






























