मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध यार्तुङ पर्व तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइएको छ।
बाली लगाउने मौसमको अन्त्य र फसल भित्र्याउने समयको सुरुवातलाई संकेत गर्ने यार्तुङ मुस्ताङको विशिष्ट सांस्कृतिक उत्सवका रूपमा परिचित छ। पर्वको मुख्य आकर्षण घोडा दौड प्रतियोगिता हो, जसमा मुस्ताङका विभिन्न गाउँबाट आएका घोडसवारहरूले सहभागिता जनाउने गर्छन्।
यार्तुङका अवसरमा परम्परागत खेल, नाचगान, स्थानीय परिकार तथा सामुदायिक जमघटलगायतका गतिविधि समेत आयोजना गरिन्छन्। पर्वले मुस्ताङको मौलिक संस्कृति, परम्परा र स्थानीय जीवनशैलीलाई उजागर गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस वर्ष अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर पनि लोमान्थाङ पुगेर यार्तुङ पर्वमा सहभागी भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
पर्वमा घोडसवारहरूको प्रतिस्पर्धा अवलोकन गरेपछि हार्करले आफ्नो परिवारको घोडापालनसँग जोडिएको अनुभव स्मरण गरेको बताएका छन्। उनका अनुसार मुस्ताङ र अमेरिकाको मोन्टाना भौगोलिक रूपमा निकै फरक भए पनि घोडासँग जोडिएका स्थानीय परम्परामा समानता देखिएको छ।
हार्करले घोडा र स्थानीय परम्पराबीचको सम्बन्धले मुस्ताङतर्फ पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। उनका अनुसार यस्ता सांस्कृतिक पर्वले स्थानीय अर्थतन्त्रलाई सहयोग गर्नुका साथै मुस्ताङको विशिष्ट पहिचान र परम्पराको संरक्षणमा समेत योगदान पुर्याउँछन्।
यार्तुङ पर्वले मुस्ताङको सांस्कृतिक विविधता र मौलिक परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पर्वमा सहभागी हुने स्थानीय तथा पर्यटकका लागि घोडा दौड, परम्परागत नृत्य, खेल तथा सामुदायिक गतिविधि मुख्य आकर्षण बन्ने गरेका छन्।
वि.सं.२०८३ भदौ ६ शनिवार ११:५२ मा प्रकाशित






























