पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा हाल सल्लाहकारमा रहनु भएका प्राध्यापक हर्ष नारायण धौभडेल हाम्रो विचमा रहनु भएन। आज हामी तेहृाै पुण्य तिथिमा उहाँ प्रति सम्मान र श्रद्धाञ्जली प्रकट गर्दैछौ। ९० वर्षको उमेरमा हाल परिवारका साथ क्यानाडाकाे क्यालगरीमा रहदै आउनु भएका धौभडेलकाे २०८३ श्रावण ३० गते अगस्ट १५ तारिखमा निधन भएको हाे।
प्रा. धौभडेलको जन्म वि.सं. १९९२ फागुनमा सिराहामा स्वर्गीय मिश्री देवी धौभडेल र पिता स्वर्गीय शम्भु दास धौभाडेलबाट भएको थियो। । उहाँका पुर्खा भक्तपुरका धौभडेल परिवारका थिए। उहाँका हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि परिवार त्यहीँ बसोबास गर्न थालेको पाइन्छ।
उहाँको विबाह बिरगन्ज स्थित शशी धैाभडेल संग २०२१ सालमा भएको थियोे । उहाँका ४ छाेरीहरु संगीता,नीशा,रश्मी र प्रज्ञा ,ज्वाइ ,नाती नातीनीका अभिभावक धौभडेल सर पारवारिक श्राेतका अनुसार विगत १७ वर्ष देखिन पार्किन्सन राेगले थला पर्नु भएको थियोे । शैक्षिक वातावरणमा हुर्केका परिवारजनहरु मध्ये उहाँकी छाेरी निशाले २०३९ सालको एस. एल. सी . परिक्षामा वाेर्ड फस्ट हासिल गर्नुभएको थियो ।
उहाँको प्रारम्भिक शिक्षा सिराहामा भएकाे थियोे ।उहाँले कक्षा ८ सम्म सिराहा र कक्षा ९ देखि १२ सम्म भारतको जयनगरमा अध्ययन गर्नुभयो। त्यसपछि उहाँले त्रिचन्द्र क्याम्पस तथा पटना विश्वविद्यालयबाट बीए र बीएड, भारतको इलाहाबादस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमएड र अमेरिकाको ओरेगन विश्व विधालयबाट सन् १९८३ मा विशेष शिक्षा मा स्नातकोत्तर गर्नुभएको थियो।
उहाँले वि.सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर कार्यरत रहनु भएको थियोे । यस अवधिमा उहाँले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो।
मुख्य जिम्मेवारीहरूमा
-शिक्षाशास्त्र संकायका प्राध्यापक
विभागीय प्रमुख,कान्ति छात्रावासका वार्डेन,
महेन्द्ररत्न क्याम्पस, ताहाचलका क्याम्पस प्रमुख,शिक्षाशास्त्र संकायका डिन शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरिड) का कार्यकारी निर्देशककाे जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको थियोे ।
त्रिभुवन विश्वविद्यालयको विशेष शिक्षा कार्यक्रमसम्बन्धी इतिहासमा पनि उहाँको नाम महत्वपूर्ण रूपमा आउँछ। स्रोतअनुसार वि.सं. २०४०/४१ देखि २०४८ सम्म विशेष शिक्षाको आवश्यकता (Special Needs Education (SNE) विभागको प्रमुख उहाँ हुनुहुन्थ्यो। पछि विश्वविद्यालयमा प्राध्यापक पदको व्यवस्था भएपछि उहाँसहित केही अग्रणी शिक्षाविद्लाई प्राध्यापक पद प्रदान गरिएको थियो। यस्तै विशेष तथा समावेशी शिक्षामा उहाँको योगदान महत्त्वपूर्ण रहेको छ।उहाँले अमेरिकाबाट विशेष शिक्षामा उच्च शिक्षा लिएपछि उहाँले त्यस ज्ञानलाई नेपालमा प्रयोग गर्ने प्रयास गर्नुभयो। उहाँले विशेष शिक्षा र समावेशी शिक्षालाई शिक्षक, शिक्षा तथा पाठ्यक्रममा समेट्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियोे । खासगरी अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशी शिक्षा शिक्षक तालिम, शिक्षा पाठ्यक्रम सुधार, शैक्षिक अनुसन्धान, अपाङ्गता भएका व्यक्तिको अधिकार,विद्यालयलाई अपाङ्गतामैत्री बनाउने प्रयासमा उहाँको योगदान रहेको छ।यस अर्थमा उहाँलाई नेपालमा समावेशी शिक्षा र विशेष शिक्षाको संस्थागत विकासका प्रारम्भिक अगुवामध्ये एक मान्न सकिन्छ।
उहाँ शैक्षिक क्षेत्रमा प्राज्ञिक व्यक्तित्व मात्रै हाेइन मुलुकमा लाेकतान्त्रिक आन्दोलनमा समेत प्राध्यापक क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। विश्व विधालयमा हुने राजनीतिक हस्तक्षेपकाे अन्त्य गर्न र प्राध्यापकहरुकाे हक हितका लागि २०४५ सालकाे नेपाल प्राध्यापक संघकाे अध्यक्षमा नेपाल प्रगतिशील प्राध्यापक संगठनकाे तर्फबाट प्रत्यासी बन्नु भएको थियोे ।
निरङकुश पंचायती व्यवस्थाका विरुद्ध २०४६ सालकाे आन्दोलनमा बुद्धिजीवी प्राध्यापककाे हैसियतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । बहुदल स्थापना भए पछि उहाँ नेपाल प्रगतिशील प्राध्यापक संगठनकाे अध्यक्ष हुनुकाे साथै बुद्धिजीवी हरुकाे समेत नेतृत्व गर्दै २०४७ सालमा नेपाल बुद्धिजीवी परिषदकाे अध्यक्ष हुनुभएको थियोे ।
प्रा. धौभडेलले प्राध्यापक एवं बुद्धिजीवी संगठन हुदै सिंगाे पेशागत क्षेत्रकाे आन्दोलनको नेतृत्व गर्नु भएको थियोे । यस क्रममा पेसागत महासंघ नेपालकाे२०५३ मा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भयो । पेसागत महासंघ नेपाल नामाकरण हुनु अगाडि २०५२ जेष्ठ ६ गते पेशागत ऐक्यबद्धता मंच गठन भएको थियोे र पछि मंचलाई महासंघको नाममा रुपान्तरण भयो । महासंघमा निजामती, शिक्षक, संस्थान, बैंक, कर्मचारी संगठन मात्रै हाेइन, प्राध्यापक, ईन्जिनियर, डाक्टर, कानुन व्यवसायी लगायतका पेसागतसंगठनहरु पनि एकाकार भएर बृहत् पेसागत एलायन्स बनाउन प्राध्यापक धौभडेलले भूमिका निर्वाह गर्नुभयो । २०५७ मा भएको महासंघको दाेश्राे अधिवेशनबाट पुनः उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको कार्यकालमा पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकारकाे प्रत्याभूति गर्ने मागलाई बुलन्दका साथ महासंघले अगाडि सारेको थियोे ।यस्तै उहाँको नेतृत्वमा सार्वजनिक संस्थानकाे नीजिकरण गर्ने तत्कालीन सरकारकाे नीतिका विरुद्धको आन्दोलन, महंगीकाे मारमा राष्ट्र सेवक कर्मचारी पेशाकर्मी आक्रान्त बनेको बेला २०५६ भाद्र २५ गते काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरहरुमा पेशाकर्मीहरुले सडकमा उत्रिएर रित्तो थाल ठटाउने विरोध कार्यक्रम आदि महत्त्वपूर्ण कार्यक्रम संचालन भएका थिए।
२०५७ चैत १५ गते सरकारले सार्वजनिक क्षेत्रमा हडताल गर्न नपाउने गरि अत्यावश्यक सेवा ऐन लागु गरेर प्रतिबन्ध लगाएको विरोधमा काठमाडौमा भएको जुलुसप्रदर्शन तथा २०५९ ज्ञानेन्द्र शाहकाे प्रतिगामी कदमबाट निर्बाचित सरकारकाे बर्खास्ती तथा अध्यादेशबाट ट्रेड युनियनहरु माथि लगाएको प्रतिबन्धका विरुद्ध प्राध्यापक धौभडेलले आन्दोलनको अगुवाइ गर्नुभएको थियो । यस्तै ११२ ओै मे दिवसमा काठमाडौमा भएको पेशाकर्मीहरुकाे प्रदर्शनमा प्राध्यापक धौभडेलले नेतृत्वगर्नु भएको थियोे । उहाँको कार्यकालमा उठाएका मागका आधारमा २०६३ बैशाख २८ गते पुनस्थापित प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित गरेर निजामती कर्मचारीले अन्तर्राष्ट्रिय श्रम संगठनकाे अभिसन्धी अनुरुप ट्रेड युनियन अधिकार प्राप्त गरेको विषय तथा मे दिवसमा सरकारी क्षेत्रमा सार्वजनिक विदा प्राप्तिको विषय,नेपालकाे संविधानमा ट्रेड युनियन अधिकार,सामाजिक सुरक्षाको अधिकार मौलिक हककाे रुपमा सुनिश्चित हुनु महत्त्वपूर्ण उपलब्धि हुन । यस्तै हरेक वर्ष महंगीकाे अनुपातमा महंगी भत्ता, हरेक २ वर्षमा राष्ट्र सेवक कर्मचारीकाे तलब बृद्वि हुने कानुनी प्रत्याभूति हुनु महत्त्वपूर्ण उपलब्धि हुन।
उहाँ लाेकतन्त्रमा संगठन स्वतन्त्रता र ट्रेड युनियन अधिकार एक अर्का विच अन्याेन्याश्रित हुन्छन् भन्ने मान्यता राख्नु हुन्थ्यो । उहाँको कुशल एवं परिपक्व नेतृत्वमा पेसागत महासंघ नेपालको छवि र गरिमा विस्तार भएको थियोे ।
उहाँले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीव राज आश्रितकाे दास ढुंगामा भएको हत्याको छानबिन गर्न पद्म रत्न तुलाधर संयाेजक र श्याम श्रेष्ठ सचिव रहेको नागरिक स्तरकाे छानबिन समितिमा सदस्यमा रहेर छानबिनमा भूमिका निर्वाह गर्नु भयो । यस्तै सरकारबाट गठन भएको दास ढुङ्गा घटनाको छानबिन समितिकाे सदस्यमा रहेर पनि भूमिका निर्वाह गर्नु भयो । दास ढुंगा हत्याको बारेमा थुप्रै आयाेगहरु गठन भएर प्रतिवेदन सरकार समक्ष प्रतिवेदन बुझाउने काम भयो । एमालेले धेरै पटक सरकारकाे नेतृत्व पनि गर्याे तर सरकारले दास ढुंगा हत्या काण्डका बारेमा गहिरो संग छानबिन गर्न सकेन।
प्राध्यापक धौभडेलले शैक्षिक , बुद्धिजीवी एवं पेसागत आन्दोलनको नेतृत्व मात्रै गर्नु भएन २०५१ माघमा भारत र भूटानमा नेपालको राजदूतको रूपमा काम गर्नु भएको थियोे । उहाँ ले नेपालको लोकतान्त्रिक तथा मानव अधिकार आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियोे । उहाँले थुप्रै शैक्षिक एवं व्यावसायिक संस्थाहरूमा विज्ञ एवं सल्लाहकारकाे रुपमा भूमिका निर्वाह गर्नुभएको थियोे । उहाँ एक प्रतिभाशाली कुशल र तार्किक वक्ता हुनु हुन्थ्यो ।
उहाँले श्याम श्रेष्ठ प्रधान सम्पादक रहेको मूल्यांकन मासिक पत्रिकामा रहेर लामो समय सल्लाहकारकाे रुपमा भूमिका निर्वाह गर्नु भएको थियोे ।
प्रा. धौभडेल केवल विश्वविद्यालय र राजनीतिमा सीमित हुनु भएन। सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाकाे संस्थापक सदस्य हुनुका साथै मानव अधिकार,दृष्टिविहीन कल्याण,बहिरा महासंघ,अपाङ्ग महासंघ,बाल विकास र समावेशी शिक्षा सम्बन्धी विभिन्न संस्थासँग जोडिनुभएको थियो।
यसबाट उहाँको सामाजिक दृष्टिकोणमा शिक्षा, बालबालिका, अपाङ्गता र सामाजिक न्याय महत्वपूर्ण विषयमा महत्त्वपूर्ण भूमिका रहेको थियो ।
उहाँ एक विपुल लेखक र कवि हुनुहुन्थ्यो, र धेरै पुस्तकहरूमा योगदान गर्नुभयो, जसमध्ये धेरै विद्यालयहरूको पाठ्यक्रमको हिस्सा बनेका छन्। उहां संगीतप्रति गहिरो कदर गर्नु हुन्थ्यो र मादल, हारमोनियम र बाँसुरी बजाउन मन पराउँनु हुन्थ्यो । प्रारम्भमा उहाँ एक शसक्त कवि पनि हुनु हुन्थ्यो । आज भन्दा ६२ वर्ष अगाडि २०२१ सालमा उहाँको कविता नेपाल प्रज्ञाप्रतिष्ठानकाे पत्रिकामा प्रकाशित पनि भएको थियोे । उहाँको हस्तलिखित कविता यस्तो छ। कविताको शिर्षक ” किन “? रहेको छ।
कविता शिर्षक : किन ?
कवि : हर्ष नारायण धौभडेल
यो देश बनाउन सजिलो जति म सम्झन्छु
यो देश बनाउन गाहाराे उति मलाई लाग्छ ?
किन?
हामी नेपाली एउटा यस्तो चरित्रको
पुर्ख्यौली लिएर गुम्सिएकाछौं
कि बाहिर बाहिर हामी बहादुर छौं
सिर्फ अरूहरुको इशारामा कुद्न
र
भित्र भित्र हामी कातर छौं
खान्छौं आफैले आफैलाई
बाली सप्रेको बेलामा पनि।
अब त धिक्कार्न मनलाग्छ
यो संस्कार र पुख्यौली सम्पत्तिलाई
छि ! अब त धिन पनि लागि सक्यो ।
एउटा बम पडकाउनु परेको छ।
आफूभित्रका कसिंगरको संहार गर्नलाई।
प्रस्तुत कविता हाल क्यानाडा निवासी डाक्टर नारायण पाेख्रेलले नेपाल टच अनलाइनमा आफ्नो लेख मार्फत उल्लेख गर्नुभएको छ।
प्राध्यापक धौभडेलले ४ दशक लामाे शैक्षिक क्षेत्रमा कुशल विज्ञकाे रुपमा पुर्याएकाे याेगदान , लाेकतान्त्रिक एवं मानवअधिकार आन्दोलनमा पुर्याएकाे याेगदान र उहाँमा अरुलाई प्रेरित गर्ने र मार्गदर्शन गर्ने क्षमताका लागि सबैभन्दा बढी हामीले सम्झनु पर्दछ।यस्तै पेसागत आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका अविस्मरणीय छ। शालिन,कुशल एवं तार्किक बक्ता, द्वन्द्व समाधानमा निपुण व्यक्तित्व धौभडेल सरबाट सिक्नुपर्ने थुप्रै विषयहरु छन। आज उहाँ हाम्रो विचमा हुनु हुन्न। तर उहाँका विचार अजेय छन। यस शाेककाे घडीमा उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली एवं शाेक सन्तप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु।
मिति :२०८३ भदौ ११ गते
काठमाडौ
(लेखक खनाल पेसागत महासंघ नेपालको अध्यक्ष तथा विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियू) को प्रेसिडेन्सियल काउन्सिल सदस्य हुन् ।)
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:३४ मा प्रकाशित






























