back
CTIZAN AD

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

वि.सं.२०८३ भदौ ११ बिहीवार

1.1K 

shares

हिन्दू हुँ

म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ। किनकि म इसाई, इस्लाम, सिख, यहूदी, बहाई, जैन, सिन्तो, ताओ आदि धर्म मान्दिनँ। तर यो लोक र परलोक भव्य बनाउने नाममा देवता खुसी पारेर पुण्य कमाउने काम पनि गर्दिनँ। अलौकिक शक्तिमा विश्वास गर्दिनँ। देवी-देवतासँग त्रास पनि छैन र परलोकको आस पनि छैन। पूजा नगरे पनि चलिरहेकै छ सास। तर पनि म हिन्दू हुँ।

भगवद्गीता १८।६६ मा कृष्णले भने अनुसार, सबै धर्म/कर्तव्य त्यागेर मेरो मात्र शरणमा आऊ। तिमीलाई सबै पापबाट मुक्त गर्नेछु; शोक नगर।” भन्ने कुरामा विश्वास गरेर म हिन्दू भएको पनि होइन। गीतामा उल्लेख भएअनुसार स्वधर्म अरूको धर्मभन्दा श्रेष्ठ हुन्छ भनेर वा मनुस्मृतिअनुसार वेद धर्मको मूल हो  भनेर पनि म हिन्दू भएको होइन।

हिन्दू धर्ममा ३३ कोटी देवी–देवता छन् रे। ती सबैलाई पूजा-आराधना गरेर खुसी पार्न यो चोला समर्पण गर्न पनि म हिन्दू भएको होइन। ज्योतिष, पण्डित, पुरोहित, गुरु, तान्त्रिक, धामी, झाक्री,  कर्मकाण्डी आदिलाई सोधेर कुन देवता रिसाए, कुन खुसी भए, कुन ग्रह बिग्रियो, कुन शान्ति गर्नुपर्‍यो भनेर हिसाब-किताब राखेर पनि बस्दिनँ।

तर पनि म हिन्दू हुँ। कथित उपल्लो कुमाई जातको हिन्दू। हिन्दू परिवारमा जन्मिएँ, त्यसैले हिन्दू भएँ। न मैले कुनै परीक्षा दिएँ। न धर्म छनोटको फाराम भरेँ । न कसैले मलाई “तिमी कुन धर्म रोज्छौ?” भनेर सोध्यो। जन्मिँदै एउटा धार्मिक परिचय हातमा थमाइदिइयो। संस्कार र परम्परा आफ्नै ठाउँमा होलान् तर जन्मकै आधारमा पाएको धार्मिक परिचयलाई लिएर न गर्व छ, न ग्लानि। जन्मले दिएको परिचय हो- उपलब्धि होइन।

हिन्दू हुनुमा न हर्ष छ- न विस्मात। न यसलाई उपलब्धि ठान्छु न बोझ। जन्मले दिएको परिचयलाई जीवनभरको प्रमाणपत्र बनाएर घुम्नुपर्ने आवश्यकता पनि देख्दिनँ। “म हिन्दू हुँ” भनेर घोक्रो फुट्नेगरी कराउनु पनि आवश्यक ठान्दिन। किनकी मैले सत्ता राजनीति गर्दिन। तर हिन्दू हुनुको अर्थ हरेक धार्मिक दाबी पत्याउनु, हरेक कर्मकाण्ड गर्नु वा हरेक परम्परालाई प्रश्नविहीन रूपमा स्वीकार गर्नु हो भन्ने चाहिँ मान्दिनँ। जन्म परिचय दिन सक्छ; विचार भने आफैँ बनाउनुपर्छ।

जनै पूर्णिमा

त्यही धर्मभित्रको एउटा चर्चित पर्व हो- जनै पूर्णिमा । धर्मका अनेकौँ कथा, कर्मकाण्ड र परम्पराझैँ गृह्यसूत्र, मनुस्मृति, याज्ञवल्क्यस्मृति र धर्मसिन्धुमा उल्लेखित विधिअनुसार धागोलाई मन्त्र र कर्मकाण्डबाट पवित्र बनाएर काँधमा भिर्ने धागो।

काँधमा जनै भिरेर हिँड्ने कतिपय बुज्रुकहरूले भने “जनै किन लगाउने?” भन्ने प्रश्न सोध्ने झन्झट खासै गर्दैनन्। किन लगाइयो? यसको उद्देश्य के थियो? यसको सुरुवात कहाँबाट भयो? यी प्रश्नभन्दा “बाउबाजेले लगाए, हामीले पनि लगायौँ” भन्ने उत्तर नै पर्याप्त ठानिन्छ। परम्पराको निरन्तरतालाई नै तर्कको अन्तिम अदालत मानेपछि प्रश्न गर्ने दुःख पनि रहेन, उत्तर खोज्ने झन्झट पनि रहेन। तर शास्त्रीय परम्परासँग जोडेर हेर्दा जनैको मूल उद्देश्य आजको जस्तो काँधमा धागो झुन्ड्याएर धार्मिक पहिचान प्रदर्शन गर्नु मात्र थिएन। यज्ञोपवीत र उपनयनको सम्बन्ध वैदिक अध्ययन तथा गुरुकुलीय शिक्षामा प्रवेशसँग जोडिएको थियो। मूलतः वेद अध्ययनको नयाँ चक्र सुरु गर्ने र त्यसप्रति पुनःसंकल्प गर्ने संस्कार थियो। अर्थात्, कुनै समय जनैको अर्थ थियो—“अब वेद पढ, अनुशासनमा बस, ज्ञान हासिल गर।” स्मरण होस यहाँ ज्ञानको कुरा गरिन्छ, चेतनाको होईन।  आज भने कतिपयका लागि यसको अर्थ उल्टिएर जनै भिर, फोटो खिच, परम्परा जोगाइयो भनेर गर्व गर” मा सीमित भएको देखिन्छ।

अब प्रश्न उठ्छ—वेद पढ्ने संकल्पबाट सुरु भएको परम्परालाई हामीले साँच्चै ज्ञानको परम्पराका रूपमा अघि बढाएका छौँ कि केवल धागोको परम्परा जोगाएका छौँ?

आज संसार क्वान्टम विज्ञान, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान, जैवप्रविधि र आधुनिक चिकित्साको युगमा दौडिरहेको छ। हामीचाहिँ काँधमा जनै भिरेर यसले आयु, बल तेज दिन्छ”  भन्दै त्यही धागोमै आधुनिकताको विकल्प खोजिरहेका त छैनौँ?

वेद पढ्ने संकल्पबाट सुरु भएको जनैको परम्परालाई आज विज्ञान पढ्ने संकल्पमा बदल्ने कि काँधमा धागो थप्दै जाने? आजको मूल प्रश्न हो।

शास्त्रीय कथन अनुसार उपाकर्म, उत्सर्जन, जन्म-मृत्युजन्य अशौच, श्राद्ध, यज्ञ तथा सूर्य–चन्द्र ग्रहण जस्ता अवसरमा नयाँ जनै धारण गर्ने र पुरानो त्याग्ने परम्परा रहेको बताइन्छ। तर जनै पूर्णिमामा भने वर्षमा एक दिन जनैको ‘रिन्यु’ अर्थात् नवीकरण गर्ने चलन छ। मानौँ यो काँधमा भिरेको जनैको हरेक वर्ष नवीकरण गर्नुपर्ने लाइसेन्स हो—लाइसेन्स नवीकरण भयो, धार्मिक योग्यता पनि फेरि ‘अपडेट’ भयो! पुरानो जनै फुकालेर नयाँ जनै भिर्‍यो, मन्त्र पढ्यो, कर्मकाण्ड पूरा गर्‍यो! फेरि अर्को वर्षसम्म ढुक्क! चेतना, ज्ञान, आचरण र विवेकको नवीकरण होस् वा नहोस् जनैको नवीकरणचाहिँ छुट्नु भएन। मानौँ धर्ममा पनि हार्डवेयर अपडेटभन्दा धागोको वार्षिक ‘सफ्टवेयर अपडेट’ बढी महत्वपूर्ण छ!

यदि जनैको नवीकरणसँगै ज्ञान, विवेक, आचरण र मानवताको पनि नवीकरण हुने कुनै व्यवस्था हुन्थ्यो भने—सायद यो वार्षिक कर्मकाण्ड साँच्चिकै उपयोगी ‘अपडेट’ हुने थियो।

जनै जातीय विभेद

अझ गम्भीर प्रश्न —जनै ज्ञानको प्रतीक हो कि जातको?

शास्त्रीय हिन्दू परम्परामा जनै  मूलतः उपनयन संस्कारसँग जोडिएको छ। मनुस्मृति २।३६ ले वर्णव्यवस्था अनुसार ब्राह्मण, क्षत्रिय र वैश्यका लागि उपनयनको व्यवस्था गरेको छ। उपनयनपछि उनीहरूलाई द्विज (दुई पटक जन्मेको) भनिने परम्परा विकसित भयो। पहिलो जन्म शारीरिक र दोस्रो जन्म उपनयन तथा वैदिक शिक्षामा प्रवेशसँग जोडियो। यसरी एउटा खास वर्णलाई उपनयन तथा यज्ञोपवीतको अधिकारबाट बाहिर राखेर जनै धारण गर्ने अधिकारबाट पनि वञ्चित गरिएको देखिन्छ। यदि जनै ज्ञान, अनुशासन र वैदिक शिक्षामा प्रवेशको प्रतीक थियो भने प्रश्न उठ्छ—कथित शूद्रलाई त्यही ज्ञानको ढोकाबाट किन अलग गरियो? ज्ञानमा प्रवेश गर्न पनि जातको पासपोर्ट चाहिने? यस्तो व्यवस्था पनि धर्म हुन्छ?

अझ विडम्बना त के छ भने आज सम्म पनि जनैलाई ज्ञान र संस्कारको प्रतीक भन्दै गर्व गर्नेहरूले त्यससँग जोडिएको ऐतिहासिक जातीय विभेदको पक्ष पनि सम्झनुपर्छ। जातका आधारमा धार्मिक अधिकार छुट्याउने परम्परालाई आत्मसात् गर्नु भनेको आधुनिक समानताको चेतनासँग ठोक्किनु होइन र? वास्तवमा मनुस्मृतिमा उल्लेख गरिए जस्तै कुनै “सुद्र” हुन्छन भने ति आज जनै लगाएर  जातिय विभेद गर्ने मान्छे भित्रका मान्छेका कलंक हुन।

अन्ततः प्रश्न धागोको मात्र होइन—धागोले बोकेको मानसिकताको हो। काँधमा धागो फेरिएर नयाँ भयो भन्दैमा मानसिकतामा लागेको जातीय गाँठो जहाँको त्यही छ।

जनै लैङ्गिक विभेद

लैङ्गिक दृष्टिकोणले हेर्दा यो जनै’ अझै पनि विभेदकारी प्रतीक देखिन्छ। यदि जनै ज्ञान, अनुशासन र वैदिक शिक्षामा प्रवेशको प्रतीक थियो भने प्रश्न उठ्छ—महिलालाई त्यही ज्ञानको ढोकाबाट किन अलग गरियो? ज्ञानमा प्रवेश गर्ने पासपोर्ट पुरुषका लागि जनै, महिलाका लागि चाहिँ विवाहको प्रमाणपत्र! यो कस्तो धार्मिक व्यवस्था होला?

मनुस्मृति २।६६ मा महिलाका संस्कारहरू उचित समय र विधिअनुसार गर्नुपर्ने भए पनि वैदिक मन्त्रबिना सम्पन्न गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ। अझ मनुस्मृति २।६७ मा महिलाका लागि विवाहलाई वैदिक संस्कार/उपनयनको विकल्प मानिएको छ। पतिसेवालाई गुरुकुलमा बसाइसरह र गृहकार्यलाई अग्निसेवा सरह तुलना गरिएको छ। अर्थात्, पुरुषका लागि—उपनयन, गुरुकुल, वेदाध्ययन र धार्मिक अधिकार।
महिलाका लागि—विवाह, पतिसेवा, गृहकार्य र त्यसैलाई धर्म मान्नुपर्ने व्यवस्था।

धर्मशास्त्रीय संरचनामा पितृसत्तात्मक सामाजिक व्यवस्था, विवाह केन्द्रित महिला भूमिका र वैदिक शिक्षा माथिको पुरुष केन्द्रित नियन्त्रण स्पष्ट देखिन्छ। ज्ञानको ढोकामा पनि “महिलाका लागि प्रवेश निषेध” भन्ने बोर्ड झुन्ड्याएर काँधमा जनै भिर्ने अनि त्यसैलाई ज्ञान र धर्मको गौरव मान्ने विडम्बना कम उदेकलाग्दो छैन।

प्रश्न सीधा छ—महिलालाई ज्ञान र वैदिक शिक्षाको अधिकारबाट अलग गर्ने यस्तो परम्परालाई आज पनि गौरवका साथ काँधमा भिरेर हिँड्नेहरूलाई लैङ्गिक विभेदको समर्थक भन्ने कि नभन्ने? कि जनै भिरेपछि विभेद पनि पवित्र हुन्छ भन्ने कुनै छुट्टै शास्त्र छ?

रक्षाबन्धन

रक्षाबन्धन अर्थात् रक्षा–सूत्र बाँध्ने पर्व। भविष्य पुराण अनुसार हजारौँ वर्षअघि देवासुर संग्राममा इन्द्र संकटमा परेपछि इन्द्राणीले उनको हातमा रक्षा–सूत्र बाँधिदिइन् र त्यसपछि इन्द्रले विजय प्राप्त गरे भन्ने कथा छ। आज त्यसै कथाको आधुनिक मञ्चनका रूपमा हातमा धागो बाँधिन्छ—मानौँ रोग, दुर्घटना, दुःख, संकट र ग्रहदशा सबैलाई एउटा धागोले नै “स्टप गरिदिने धार्मिक प्रविधि हो।

नपत्याए, धागो बाँध्दा पढिने यो मन्त्र पनि पढौ —

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल॥”

अर्थात्, महाबली दानवराज बलिलाई बाँधिएको रक्षा–सूत्रले तिमीलाई पनि बाँध्दैछु, हे रक्षा! अचल रह।

हैट, इन्द्रसँग त्यती धैरै अस्त्र-शस्त्र थिए, देवताहरूको विशाल सेना थियो तर अन्तिम सुरक्षा चाहिँ एउटा धागोले गरिदियो! युद्ध जित्न हतियारभन्दा धागो शक्तिशाली! एउटै धागोले अनिष्ट टार्ने, संकट भगाउने र विजय दिलाउने—क्या गज्जबको सुरक्षा प्रविधि!

विज्ञानले रकेट बनायो, औषधि बनायो, कृत्रिम बुद्धिमत्ता बनायो; वैज्ञानिकहरू मंगल ग्रहसम्म पुग्ने तयारीमा छन् तर इन्द्रको त्यो ‘रक्षा–सूत्र प्रविधि’ भने अहिलेसम्म वैज्ञानिक प्रयोगशालाको नजरबाट लुकेर बसेको छ। वैज्ञानिकहरूले पनि अब अलिकति लाज मान्नुपर्ने हो—हजारौँ वर्षदेखि उपलब्ध यस्तो चमत्कारी सुरक्षा प्रविधि पत्ता लगाउन नसकेकोमा!

यदि धागोले साँच्चै रक्षा गर्छ भने समाजमा महिलाको अधिकार, दलितको समानता, गरिबको सम्मान र कमजोरको न्यायको रक्षा गर्नचाहिँ किन यति गाह्रो?

धागो बाँधेर नै रक्षा हुने भए अस्पताल, सेना, प्रहरी, अदालत, संविधान र मानवअधिकारको के काम? दुर्घटनामा एम्बुलेन्स होइन नाडीको धागो बाधी दिने हुन्थ्यो नि। अन्यायमा अदालत होइन एउटा रक्षा–सूत्र बाँधिदिए पुग्यो! बिरामीलाई औषधि होइन अलि बाक्लो धागो लगाइदिए भयो!

त्यसैले प्रश्न धागो बाँध्ने कि नबाँध्ने मात्र होइन। धागोले वास्तवमै रक्षा गर्छ कि हामीले एक–अर्काको रक्षा गर्ने जिम्मेवारी धागोमाथि थोपरेर आफूचाहिँ जिम्मेवारीबाट उम्किरहेका छौँ?

रक्षा–सूत्र कि विभेदको सूत्र?

निर्णयसिन्धुमा उद्धृत धर्मशास्त्रीय मतअनुसार, कोही वर्ण  र महिलालाई धर्मकर्म गर्न पाउने अधिकार भए पनि वैदिक मन्त्र तथा ‘स्वधा’, ‘स्वाहा’, ‘वषट्कार’ आदि उच्चारणमा अधिकार नदिइएको उल्लेख पाइन्छ। अर्थात्—धर्म गर्न आउनुस्, पूजा गर्नुस्, खर्च गर्नुस्, दक्षिणा दिनुस्; तर मन्त्रचाहिँ हामी बोल्छौँ! भगवान्सँग कुरा गर्ने ‘पासवर्ड’ चाहिँ केहीको हातमा मात्रै! भगवान् एउटै, पूजा एउटै, प्रार्थना एउटै; तर ‘स्वाहा’ बोल्ने मुखचाहिँ जातअनुसार फरक? धर्मको पहुँच सबैलाई, तर धर्मको भाषा केहीलाई मात्र—यो कस्तो धार्मिक समानता हो?

रक्षाबन्धनको मूल भाव नै रक्षा, कल्याण र विजयको कामना हो। तर हातमा धागो बाँध्दैमा समानता, सम्मान, शिक्षा, स्वतन्त्रता र न्यायको रक्षा हुँदैन। यस्ता उडन्ते चमत्कारको पछि लागेर समाजको वास्तविक रक्षा हुने होइन।

रक्षा–सूत्रको शक्ति धागोको टुक्रामा होइन मानिसको चेतना र कर्ममा हुनुपर्छ। हातमा बाँधिएको धागोले होइन अन्यायविरुद्ध उठेको हातले कमजोरको रक्षा गर्छ; मन्त्रले होइन, विवेकले विभेद तोड्छ।

 

वि.सं.२०८३ भदौ ११ बिहीवार १३:४५ मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...