काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार ५० जनाको शव फेला परेको सरकारले जनाएको छ। फेला परेका शवमध्ये पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये १८२ जना डिस्चार्ज भइसकेका छन्।
हाल विभिन्न होल्डिङ सेन्टरमा नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना आश्रय लिइरहेका छन्।
सरकारले बाढीका कारण मृत्यु भएका तथा पहिचान हुन नसकेका शवको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम गरिरहेको जनाएको छ।
हालसम्म रसुवामा ६, काठमाडौँमा ४७, चितवनमा २९२, धादिङमा २५, गोरखामा ३९, तनहुँमा १५, नवलपरासी पूर्वमा १७४ र नवलपरासी पश्चिममा ६९ वटा शव व्यवस्थापन भइसकेको सरकारले जनाएको छ।
पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएको छ। पहिचानको सम्भावना रहेका शवमा डीएनएलगायत अन्य पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर मात्र व्यवस्थापन गर्ने गरिएको सरकारको भनाइ छ।
नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका बाढी प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको सरकारले जनाएको छ।
वि.सं.२०८३ भदौ १६ मंगलवार २०:२२ मा प्रकाशित






























