back
CTIZAN AD

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

वि.सं.२०८३ भदौ १६ मंगलवार

12 

shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।

प्रधानमन्त्रीको सचिवालयले घटनापछि आजको दिनसम्म भए गरेका कामहरुको बारेमा जानकारी  दिए अनुसार मंगलबारसम्म विभिन्न प्रदेश प्रहरी कार्यालय तथा प्रहरीका अन्य युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ। सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावित क्षेत्रका बहुआयामिक समस्या सम्बोधन गर्न प्रहरी परिचालनलाई तीव्र बनाइएको हो।

परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्।

त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी परिचालन गरिएको छ।

विपद् प्रभावित क्षेत्रमा प्रहरीको कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ। विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डीआईजी०को नेतृत्वमा २४ सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको बताइएको छ।

अस्पताल र विमानस्थलमा फोकल डेस्क

घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले अस्पताल र विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।

घाइते उपचाररत तथा शव संकलन गरिएका काठमाडौंसहित विभिन्न अस्पतालमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा ५ र त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी खटाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको विवरण संकलनका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ८ सदस्यीय फोकल डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ।

ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोनबाट खोजी

खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन प्रहरीले प्रविधिको समेत प्रयोग गरिरहेको छ। रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरिएका छन्। पैदल गस्ती गर्न कठिन दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको छ।

खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोली पनि प्रभावित क्षेत्रमा खटाइएको छ।

 सुरक्षा व्यवस्था कडा

बाढीपछि हुनसक्ने चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनका मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर नगद हिनामिना गरेको आरोपमा २९ स्थानीयलाई नियन्त्रणमा लिई ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।

यसैगरी, गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।

परेवाटार–मलेखुस्थित त्रिशूली नदीको बगरमा पनि अर्को सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

नारायणी आसपास ७५७ प्रहरी परिचालन

बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गर्दा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले नदी आसपासको क्षेत्रमा समेत विशेष निगरानी बढाएको छ। चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।

भौतिक अवरोध हटाउने तथा बाढीले बगाएर ल्याएका विभिन्न सामग्रीको व्यवस्थापनमा समेत प्रहरी सक्रिय रहेको जनाएको छ।

प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार तथा राहत वितरणमा निरन्तर काम गरिरहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रका नागरिकलाई संयमित र सतर्क रहन आग्रह गर्दै सामुदायिक सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।

वि.सं.२०८३ भदौ १६ मंगलवार १३:४५ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...