देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी नदीले बगाएर ल्याएका पहिचान हुन नसकेका ५५ वटा शव नवलपुरको देवचुली नगरपालिका क्षेत्रमा व्यवस्थापन गरिएको छ।
देवचुली नगरपालिका–स्थित दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा नारायणी नदीबाट फेला परेका शवलाई सुरक्षित र सम्मानपूर्वक व्यवस्थापन गरिएको हो। तत्काल पहिचान खुल्न नसकेपछि प्रत्येक शवमा छुट्टाछुट्टै पहिचान ट्याग राखिएको जनाइएको छ।
सम्बन्धित आफन्तले भविष्यमा शव पहिचान गर्न चाहेमा डीएनए परीक्षण तथा मिलानका आधारमा पहिचान गरी बुझाउन सकिने गरी आवश्यक प्रक्रिया अपनाइएको छ। यसले रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई आफ्ना आफन्तको खोजी तथा पहिचानमा सहज हुने अपेक्षा गरिएको छ।
शव व्यवस्थापनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र देवचुली नगरपालिकाको टोली परिचालन भएको थियो। व्यवस्थापन गरिएको स्थानलाई थप सुरक्षित बनाउन तारबार गर्ने तयारी भइरहेको जनाइएको छ।
बाढीका कारण नारायणी नदीमा बगेर आएका शवहरू विभिन्न स्थानमा फेला परेपछि सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा खोजी, उद्धार तथा शव व्यवस्थापनको काम अघि बढाइएको हो।
विपद्का क्रममा ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक व्यवस्थापनसँगै भविष्यमा वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने व्यवस्था मिलाइएको स्थानीय सरोकारवालाले बताएका छन्।

वि.सं.२०८३ भदौ १६ मंगलवार १४:२२ मा प्रकाशित






























