काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत आज भदौ १६ गते साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार गरेको छ।
नेपाली सेनाले दिएको जानकारी अनुसार चिलिमे हाइड्रोमा विदेशी नागरिकसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र प्रवेश गरी करिब १५० मिटरभित्रसम्म पुगेको थियो। त्यसपछि भिरालो भाग सुरु भएको र टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको छ।
त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा विदेशी नागरिकसहितको संयुक्त टोली करिब १६० मिटरभित्र पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको छ।
त्रिशूली–१ मा टनेल हेड फेला पारिएको छ। तीनवटा एक्साभेटरमार्फत माटो हटाई कम्प्रेसर र रक ब्रेकरको सहयोगमा टनेलमा प्रवेश गर्ने प्रयास गरिएको थियो। तर टनेलभित्र बनाइएको होलमा अत्यधिक पानी आएको र उक्त स्थानबाट प्रवेश गर्न असम्भव देखिएपछि टनेलको अर्को भागबाट पुनः होल पार्ने काम जारी रहेको छ।
यसैगरी, त्रिशूली–३बी आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्साभेटरमार्फत पहुँचमार्ग निर्माणको काम भइरहेको छ।
त्रिशूली नदीका प्रभावित पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रायणीघाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ।
तुइन सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका स्थानीयलाई बजार तथा अस्पतालसम्म आवतजावत गर्न सहज भएको छ।
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:२५ मा प्रकाशित






























