back
CTIZAN AD

नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका

वि.सं.२०८२ असोज ९ बिहीवार

2.4K 

shares

१.पृष्ठभूमि
बौद्धिकता भनेको विद्वानमा हुने गुणवत्ता हो, जसले उच्च स्तरको मानसिक क्षमता र विचारहरूसँग सक्रिय संलग्नतालाई जनाउँछ । यसले बौद्धिक चरित्र, शक्ति र विचारहरूको विनिर्माणका साथै जटिल जानकारीहरू बुझ्ने प्राथमिकतालाई समेट्छ । यदि कुनै व्यक्ति आफ्नो गहिरो दार्शनिक अन्तर्दृष्टि वा वैज्ञानिक योगदानका लागि परिचित छन् भने उनलाई महान बौद्धिकताको रूपमा लिन सकिन्छ । विश्वव्यापी र कालातीत मूल्यमान्यताहरू निर्माण गर्दै, बुद्धिजीवीहरूले आफ्नो ज्ञानलाई सामाजिक स्तर र मूल्यमान्यताहरूलाई आकार दिन र संरक्षण गर्न पनि प्रयोग गर्छन् । वास्तविक बुद्धिजीवीहरू खुला दिमागले समाजमा भईरहेको अन्याय, अत्याचार, दमन, सामाजिक विभेद विरुद्ध उत्रिन्छन् र सामाजिक न्याय र समानताको पक्षमा अडिग भई सामाजको अग्रगामी परिवर्तनप्रति सचेत, संगठीत र संघर्षशील भई पथ प्रदर्शकको भूमिका निर्वाह गर्दछन् । यस्ता जैविक बुद्धिजीवीहरु हाम्रो समाजको वास्तविक तस्विर चित्रण गर्नका लागि जरुरी छ । बुद्धिजीवीहरु जहिल्यै पनि वैश्विक, क्षेत्रिय र राष्ट्रिय परिवेशलाई स्थानीय रुपमा जोडेर अध्ययन, अनुसन्धान र आलोचनात्मक विश्लेषण लेखन कार्य गर्नमा चनाखो हुनैपर्छ ।

अहिलेको दुनियॉमा राष्ट्रिय राजनीतिमा ‘डिप स्टेट’ को भूमिका धेरै महत्वपूर्ण रुपमा देखा पर्न थालेको छ । यीनीहरुले आफ्नो स्वार्थ पूर्ति गर्न स्थानीय रुपमा आफ्ना दलालहरु विभित्र उपायबाट खडा गरेका हुन्छन् । अहिले हालसाल भएको नेपालको जेन—जी विद्रोहमा ‘डिप स्टेट’ कोप्रभाव टडकारो रुपमा देखिएको पाइन्छ । हुन त यो जेन—जी विद्रोह २८ घण्टाको एउटा अभूतपूर्व घटनाको रुपमा देखा परेको भए पनि यस्को पृष्ठभूमि धेरै पहिले देखि नै रहेको देखिन्छ । वि.सं.२०३१ सालको मुस्ताङ्गमा भएको खम्पा विद्रोह देखि नै पश्चिमा डिप स्टेट नेपालमा आफ्नो पञ्जा गाड्न प्रयासरत थियो । तर तत्कालीन सरकार यस विद्रोह दबाउन सफल भए पनि उनीहरुले आफ्नो प्रयास निरन्तर कायम राखेकै थिए । अहिले यस षड्यन्त्रको खुलेयाम प्रकटीकरण भएको छ । यस षडयन्त्रको लक्ष धेरै परसम्म जोडिएको छ । यसलाई सारमा भत्रुपर्दा यो घटना इन्डोप्यासिफिक रणनीतिको एउटा हिस्साको रुपमा लिन सकिन्छ । यो त एउटा सुरुवाता मात्र हो विस्तृत रुपमा पछि देखिनेछ । नेपाली शासक, बुद्धिजीवीहरु, देशभक्त तथा गरिखाने स्वाभिमानी श्रमजीवी वर्ग बेलैदेखि सचेत, संगठीत र संघर्षशील रहनै पर्छ । यदि समयमै बुद्धी पु¥याउन सकिएन भने राष्ट्रियता, जनजीवीका, र सार्वभौमसत्ता जोखीम पर्न सक्छ ।

२.जैविक बुद्धिजीवीहरुको विशेषता
अब बुद्धिजीवीहरुका विशेषताहरुको बारेमा केही विवेचना गरौं —
२.१ अध्ययनशीलः बुद्धिजीवीहरु आफू रहेको समुदाय, समाज, राष्ट्र र विश्वव्यापी रुपमा भइरहेको विद्धमान परिस्थितिको बारेमा अध्यावधिक हुन निरन्तर अध्ययानशील रहनु पर्ने हुन्छ । यसको लागि आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय गतिविधि, साधन र स्रोतको वितरणप्रति चनाखो भई अध्ययन गर्नु पर्ने हुन्छ । जुन वस्तु, समाज र प्रकृतिको अध्ययन गर्ने हो त्यसको त्रिकोणात्मक जॉच गर्नु पर्छ अर्थात् हरेक पहलुहरुको अध्ययन गर्न छुटाउनु हु‘दैन । साथै सरोकारवालाहरुको आवश्यकता, प्राथमिकता र दृष्टिकोणहरु समावेश गर्नुपर्छ । बुद्धिजीवीहरु जीवन र जगत पढ्न सक्ने, अनुभवलाई ज्ञानमा रुपान्तरण गर्ने र सिकेका कुरा सरल भाषामा अनुवाद गर्न सक्ने खुवी भएका हुनु प¥यो । साथै खोजमूलक पुस्तक, अनुसन्धानमूलक जर्नल र पत्रपत्रिकामा प्रकाशित विचार प्रधान लेखहरु पढ्न रुची राख्ने स्वभावका हुनु पर्ने देखिन्छ । अध्ययन गर्ने संस्कार वा बानी कुनै विलासी रुचि होइन । यो त आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र गहन अनुसन्धानको आधारशिला हो ।

२.२. सकारात्मक कार्य र आलोचनात्मक सोंचः बुद्धिजीवीहरुमा सकारात्मक कार्य गर्ने प्रवृत्ति र व्यवहार हुनु पर्छ भने आलोचनात्मक चेतको विकास पनि साथसाथै हुनुपर्छ । कसैको लोभ, लालचा र पदको मोहमा फस्नु शोभनीय मानिदैन् । अहिलेको उपभोक्तावादी समाजमा धेरै बुद्धिजीवीहरु हुने खाने र सत्ताको प्रभावमा परेर उनीहरुकै पक्षपोषण गरेको देखिन्छ । यस्ता प्रवृत्ति र व्यवहारले कति हदसम्म आम मेहनताकस श्रमजीवी वर्गको हक हित र अधिकारको वकालत हुन सक्छ ? यो सोंचनीय विषय छ । सत्यको पक्षमा कसले के कति आवाज उठायो ? उसले सामाजिक न्याय र समानताको पक्षमा के कस्तो भूमिका निर्वाह ग¥यो भन्ने कुराको मूल्याङ्कन हुन जरुरी छ ।

२.३. तार्किक, प्रमाणीत र स्पष्टः बुद्धिजीवीहरु जहिल्यै पनि तर्कपूर्ण, प्रमाणसहित र स्पष्ट रुपमा बोल्ने, लेख्ने र पीडितको पक्षमा अडिग भई काम गर्ने स्वभावको हुनुपर्छ । कुनै पनि वैज्ञानिक सत्य कुराले स्पष्ट प्रमाणको माग गर्दछ । झूठले जहिल्यै पनि प्रलोभन, ओठे भक्ति, देखावटी प्रेम, पैसा, पद र शक्तिको आडमा भ्रमको सहारा लिन्छ । सत्य तीतो हुन्छ तर अन्त्यमा औषधिको काम गर्नेछ । यसलाई सधैभरी छोप्न सकिदैन । सत्य एक दिन उजागर भएरै छोड्छ । गल्ती गर्ने मानिस सजाएको भागीदार हुन्छ ।

२.४. जीवन र जगतप्रति चिन्तनशील : बुद्धिजीवीहरु जहिल्यै पनि दार्शनिक जस्तै अभिव्यक्ति गर्ने, गहिरो सोंच र जीवन दृष्टिकोणसहित प्रस्तुत हुनु पर्ने हुन्छ । समकालीन समाज, जीवन र जगतप्रति सधैं क्रियाशील र सचेत रहनु पर्ने हुन्छ । जीवन र जगत एक अर्काप्रति अन्तरसम्बन्धित हुन्छ । यो संसारमा कुनै पनि वस्तु तथा जीवजन्तुको स्वतन्त्र अस्तित्व छैन । यी सबै प्रकृतिका उपज हुन् ।

२.५. मनोवैज्ञानिक विश्लेषणः बुद्धिजीवीहरु जहिल्यै पनि मानिसको व्यवहार, भावना, गरिबीको पीडा, श्रमजीवी वर्गको समस्या र वातावरणीय प्रभावले पारेका नकारात्मक असर र त्यसबाट बच्ने उपायहरुको खोज गर्न तल्लीन रहनु पर्ने हुन्छ । कुनै पनि घटनाको कारण हुन्छ । हरेक पीडा, अन्याय, अत्याचार, दमन, शोषण, विभेदका पछाडी आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक, मनोवैज्ञानिक, वातावरणीय कारणहरुले उनीहरुको जीवनमा प्रभाव पारेको हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्ने हुन्छ ।

२.६. वैज्ञानिक अवलोकनः बुद्धिजीवीहरुले जहिल्यै पनि शूक्ष्म विवरण, समाज, वातावरणमा परेका असर तथा प्रभाव र संकेत पहिचान गर्ने क्षमता राख्नु पर्ने हुन्छ । यस्ता अवलोकनमा निष्पक्षता, प्रकृतिको अधिक दोहन र बजार अर्थतन्त्रले थोपरेका विकृतिको तथ्यगत अवलोकन तथा मूल्याङ्कन हुन जरुरी छ । वैज्ञानिक अवलोकन भनेको आफ्नो इन्द्रिय वा वैज्ञानिक उपकरणहरू प्रयोग गरेर प्राकृतिक तथा समाजका परिघटनाहरू र सामाजिक संरचनाको बारेमा वस्तुनिष्ठ जानकारी र तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया हो । यसमा सक्रिय रूपमा विवरणहरू, ढाँचाहरू, र परिवर्तनहरूलाई व्यवस्थित र सावधानीपूर्वक नोट गर्ने र रेकर्ड गर्ने गरिन्छ जसले प्रायः प्राकृतिक संसारको बारेमा प्रश्नहरू निम्त्याउँछ र वैज्ञानिक विधिको आधारभूत पहिलो चरण बनाउँछ ।

२.७. सिर्जनशीलः बुद्धिजीवीहरु सधैभरी नयॉ कुराको खोज, अध्ययन र अनुसन्धानमा तल्लीन रहनु पर्ने हुन्छ । साथै यस्ता अध्ययनमा मौलिकपन र फरक तरीकाले काम गर्ने क्षमता प्रदर्शन गर्नुपर्छ । रचनात्मकता भनेको विद्यमान तत्वहरूको नयाँ संयोजन प्रयोग गरेर वा पूर्ण रूपमा नयाँ कुरा उत्पन्न गरेर मौलिक, कल्पनाशील विचारहरू वा समस्याहरूको समाधानहरू उत्पादन गर्ने क्षमता हो । यो एउटा मानिसको क्षमता हो जसमा विचारको मानसिक प्रक्रिया र वास्तविकतामा नयाँ अवधारणाहरू ल्याउने दुवै कार्य गरिन्छ । दैनिक चातुर्यदेखि भव्य कलात्मक र वैज्ञानिक सफलताहरूसम्म सबै कुरा यस भित्र समावेश हुन्छ ।

२.८. योजनावद्ध र शीपयुक्त हुनेः बुद्धिजीवीहरु अविछिन्न रुपमा योजनवद्ध, शीपयुक्त र परिणाममूखी हुने गुणका धनी हुन जरुरी छ । कुनै पनि अध्ययन गर्दा सिलसिलेवार, व्यवस्थित र लगनशील हुन जरुरी देखिन्छ । सदैव कामप्रति जोश, जागर र उत्साहित रहनु पर्ने हुन्छ । अल्छिपनाले मानिसलाई प्रगतीको पथमा बाधा पार्दछ ।

२.९. कामप्रति विश्वासः बुद्धिजीवीहरु जहिल्यै पनि आफ्नो कामप्रति विश्वास गर्ने, जनताप्रति उत्तरदायी हुने र सत्यको पक्षमा उभिई देश, समाज, अन्तराष्ट्रिय जगत् र प्रकृतिप्रति प्रेमभाव राख्ने स्वभावको हुनु पर्ने हुन्छ । जसले आफ्ना आमा बाबु, परिवार, समुदाय, जीवजन्तु, बनस्पत्ति, पञ्च तत्व, गरिब, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकप्रति प्रेमभाव प्रकट गर्छ र उनीहरुको पीडामा पक्ष लिन्छ, सहयोग गर्छ र उनीहरुको अधिकार प्राप्तिप्रति आफूलाई समर्पित गर्छ उसले नै आफू र संसार जीत्न सक्छ ।

२.१०. चेतनशील हुनेः बुद्धिजीवीहरु सदैव चेतनशील, परिवर्तनका वाहक, जीवन र जगतप्रति सजक, र उन्नत स्तरको काम गर्न प्रेरित रहनु पर्ने हुन्छ । चेतनशील व्यक्ति जहिल्यै पनि सरल, सहज र समाज र प्रकृतिका भेद बुझ्न खप्पीस हुन्छन् । यीनीहरु जहिल्यै पनि आदर्श नैतिकता, निष्ठा र समाजप्रति समर्पणमा विश्वास राख्छन् । तर अहिलेको समाज उपभोक्तावादी संस्कृतिले गाँजेको छ । तर चेतनशील व्यक्तिहरु सदैव सचेत वा जागृत हुनैपर्छ । चेतना भनेको मानव स्वतन्त्रताको मूल ऊर्जा हो । द्वन्द्ववादी दृष्टिमा चेतना सामाजिक सम्बन्ध र उत्पादन प्रणालीको उपज हो, जसले वर्ग–संघर्षको आधार निर्माण गर्छ । चेतना नभए न मानिस जागृत हुन्छ, न त सामाजिक न्याय र सामाजिक समानताको पक्षमा लड्न सक्छ । चेतना विहीन व्यक्ति भनेका भूत्ते खुकुरी सरह हुन् । जैविक बुद्धिजीवीहरु जहिल्यै पनि धारिलो हतियार जस्तै आलोचनात्मक चेतले खारिएका विश्लेषणात्मक क्षमता भएको हुनुपर्छ ।

२.११. जिज्ञासु तथा सिकारु स्वभावः बुद्धिजीवीहरु जहिल्यै पनि नविन कुरा सिक्न जिज्ञासु स्वभावको हुनुपर्ने हुन्छ । यो दुनियॉमा ज्ञान अथाहा छ, सिकेर कहिल्यै सकिदैन । त्यसैले आफूलाई सदैव विद्यार्थी जस्तो सम्झनु पर्छ । मैले जानेको छु भन्ने घमण्डले मानिसलाई मूर्ख बनाउँछ । बुद्धिजीवीहरु निरन्तर जनताको बिचमा रहने, जनताबाट सिक्ने र सिकेका कुरा पुन जनतामै लैजाने स्वभावको हुनुपर्ने हुन्छ । एउटा भनाई छ कि महान व्यक्तीहरु वैचारिक वहस, दार्शनिक चिन्तन र सिद्धान्त प्रतिपादनमा समय विताउँछन् भने औसत मानिसहरु आफ्ना कुरा गर्न र निम्न सोंच भएका व्यक्तिहरु अरुका कुरा काट्नमा समय खेर फाल्दछन् । बुद्धिजीवीहरुले अरुका असल सुझाब, आलोचना तथा कुनै पनि प्रतिक्रियाहरु धैर्यपूर्वक दुवै कानले सुन्ने, बुझ्ने र आत्मसात् गर्न कहिल्यै पनि हिचकिचाउनु हुँदैन । खुला दिमागले अरुका कुरा सुन्ने, सोंच्ने, अध्ययन गर्ने, सत्य तथ्य कुरा लेख्ने र प्रकाशन गर्ने गर्नु पर्दछ । जाने बुझेको ज्ञान प्रकाशन गरिएन भने मर्दछ । ज्ञान कसैको पेवा हुनु हु‘दैन । सच्चा ज्ञानले त समाजको हक हित, शान्ति, सुरक्षा, सम्वृद्धि र आर्थिक—सामाजिक रुपान्तरणमा गहकिलो योगदान पु¥याउ‘न सक्नु पर्दछ ।

२.१२. प्रचारवाजी र सस्तो लोकप्रियतावादमा नवहकिनेः अहिलेको दुनियॉ प्रचारवाजी र सस्तो लोकप्रियतावादले ग्रस्त भएको देखिन्छ । वास्ताविक बुद्धिजीवीहरु यस्ताखाले व्यवहारबाट जोगिनु पर्छ । राम्रो काम गर्न सके जनताले जुगौसम्म सम्मानपूर्वक हेर्छन् र इतिहासमा उस्को वा उनको योगदान कदर गरिन्छ । सस्तो प्रचारवाजी र क्षणिक लोकप्रियता एक दिन ढिलो वा चॉडो उदाङ्गो हुनेछ । नेपाल जस्तो देशमा छद्म भेषधारी बुद्धिजीवीहरु प्रसस्तै देख्न पाइन्छ । जसले देशमा बसेर विदेशीको पृष्ठपोषण गरिरहेका हुन्छन् । यस्ता बुद्धिजीवीहरुदेखि जनता सचेत हुनैपर्छ र बेलैमा यीनीहरुको सक्कली अनुहार उदाङ्गो पार्नुपर्छ ।

३.निष्कर्ष
अन्त्यमा, त्यस्तो व्यक्ति जो आफ्नो गहिरो दार्शनिक अन्तर्दृष्टि वा वैज्ञानिक योगदानका लागि परिचित छन् भने उनलाई बौद्धिकताको रूपमा लिन सकिन्छ । तर यस्ता व्यक्तिमा इमानदारीता, नैतिकता तथा अनुशासनको जरुरत पर्दछ । हाम्रो देशमा दोहोरो चरित्र भएका बुद्धिजीवीहरु धेरै देख्न सकिन्छ जसले नेपालमा बसेर विदेशीको तावेदारी गरिरहेका छन् । यीनीहरुदेखि सबै देशभक्त तथा स्वाभिमानी नेपाली जनता साबधान हुनैपर्छ । आदर्शको शक्ति भनेको नैतिकता, सत्य, निष्ठा र जनताप्रति समर्पणमा आधारित मूल्यहरू हुन् । आदर्शले कुनै पनि व्यक्तिलाई नीजी स्वार्थभन्दा माथि उठाएर समाजको हितमा काम गर्न प्रेरित गर्छ । यो शक्ति दीर्घकालीन परिवर्तन र सामाजिक एकताको आधार बन्छ । विचार, भूमिका र मान्यता फरक–फरक हुन सक्छन् । तर बुद्धिजीवीहरूको भूमिकाले त्यस समयको राजनीति र सामाजिक साेंचमा कस्तो प्रभाव पा¥यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । शक्तिमा रहँदा पनि सामान्य रहने मानिसहरू सत्ताको शक्ति र वैभवमा लिप्त नभई साधारण जनताको जीवनशैलीसँग एकाकार हुन्छन् । जैविक बुद्धिजीवीहरु आचारणमा पारदर्शिता, र नैतिकता कायम राखेर जनताको मनमा घर गर्छन् । आदर्श तथा नैतिकवान व्यक्तिलाई जनताले माया गर्छन् र अबश्य पनि एक दिन इतिहासले सही मूल्याङ्कन गर्नेछ । कुनै पनि विकाउ खालका तथाकथित बुद्धिजीवीहरु टिकाउ भने हुने छैनन् । अहिलेको नयॉ परिवेशमा बुद्धिजीवीहरुको भूमिका सिर्जनशील रुपमा नितान्त आवश्यक छ । कसको भूमिका के के रह्यो व्यवहारले नै बताउनेछ । व्यवहार नै सत्यताको कसी हो । अस्तु ।

वि.सं.२०८२ असोज ९ बिहीवार ०७:२७ मा प्रकाशित

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...